१४ माघ, परासी । सरकारले अझैसम्म पनि उखुको मूल्य निर्धारण नगरेको भन्दै नवलपरासीमा उखु उत्पादक कृषक समितिको अगुवाइमा किसानहरूले आन्दोलन सुरु गरेका छन् । उखुको उचित मूल्य निर्धारण गर्ने विषयमा सरकार र चिनी उद्योग सञ्चालक उदासीन देखिएको भन्दै किसानहरूले पुनः आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलनको घोषित कार्यक्रमअनुसार किसानको प्रत्यक्ष सहभागितामा माघ १४ गते जिल्लाका सबै चिनी उद्योगमा धर्ना दिने, माघ १५ गते नवलपरासी आउनुहुने प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई भेटी आफ्ना समस्याबारे जानकारी गराउने र प्रशासनमा धर्ना दिने रहेको समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । उखुको मूल्य निर्धारण, उखुको दररेट मिल र तौल केन्द्रमा समान मूल्य निर्धारण हुनुपर्ने, विगतका सम्झौताहरू अविलम्ब कार्यान्वयन हुनुपर्नेलगायतका माग राख्दै किसानहरूले यसअघि पनि आन्दोलन गरेका थिए ।
किसान, उखु उत्पादक कृषक समिति र उखु सञ्चालक पक्षबीच जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा उखुको मूल्य निर्धारण नभएपछि उखु किसानले पुनः आन्दोलन सुरु गरेका हुन् । माघ १५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गरिने र यसपछि पनि उखुको मूल्य निर्धारण नभए राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम्ा तय भएको समितिका उपाध्यक्ष खेमनारायण चौधरीले बताउनुभयो । नवलपरासीमा उखुको मूल्य निर्धारण नहुँदा किसानहरू समस्यामा परेका छन् । रासस