१४ माघ, वीरगन्ज । सवारीसाधनको आयातमा आएको वृद्धिसँगै मोटर ब्याट्रीको आयातमा समेत उल्लेखनीय वृद्धि भएको छ । वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा मोटर ब्याट्रीको आयातमा ६९ प्रतिशतले वृद्धि भएको हो । वीरगन्ज भन्सार नाकाबाट गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो वृद्धि भएको हो ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ३७ करोड १८ लाख ७१ हजार मूल्य बराबरको तीन लाख ८६ हजार १९६ वटा मोटरको ब्याट्री आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ५६ करोड २६ लाख ३१ हजार मूल्य बराबरको एक लाख ३५ हजार २६२ वटा ब्याट्री मात्र आयात भएको थियो ।
गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप, कार र भ्यानजस्ता हलुका चारपाङ्ग्रे सवारीसाधनको आयातमा ३३, हलुका र यात्रुवाहक सवारीसाधनको आयातमा ७९ प्रतिशत तथा मालवाहक ट्रक र मिनीट्रकको आयातमा ६२ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । रासस