१४ माघ, कञ्चनपुर । टिस्यू कल्चर प्रविधिको प्रयोग गरी पोलिहाउसमा कञ्चनपुरको कृष्णपुर- ५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले केराका बिरुवाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिरहनु भएको छ । काठमाडौँबाट केराको बीउ ल्याई उहाँले जिल्लामै पहिलोपटक उन्नत उलियम जातको केराका बिरुवा उत्पादन गर्न थाल्नु भएको हो ।
प्लास्टिकको पोलीहाउसभित्र उहाँले १० हजार केराका बिरुवा तयार पार्नुभएको छ । हेल्भेटास स्विस इन्टरकोपरेसन नेपालको इलम परियोजनामार्फत उहाँले तालिम लिएर केराका बिरुवा उत्पादन गर्नेतर्फ अग्रसर हुनुभएको हो । पोलिहाउस निर्माण गर्न र केराका बिरुवा उत्पादन गर्न रु दुई लाख पचास हजार खर्च गरेको चौधरीले बताउनुभयो ।
केराको एउटा बिरुवा उत्पादन गर्न रु २० लगानी भएकोमा कृषकलाई रु ३० प्रतिबोटका दरले केराको बिरुवा उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । टिस्यू कल्चर प्रविधिमा तयार गरिएका बिरुवा रोप्ने कृषकको मागअनुरुप नर्सरी तयार गरिएको उल्लेख गर्दै चौधरीले “उत्पादन गरिएका बिरुवाभन्दा माग अधिक आएकाले अझै बढी बिरुवा उत्पादन गर्नेतर्फ लागेका छाँै” भन्नुभयो । रासस