१४ माघ, नुवाकोट, । एकीकृत माओवादी सचिव पोष्टबहादुर बोगटीले विपक्षी दलहरु गैरजिम्मेवारी बनेका कारण सहमतिको प्रयास विफल भएको बताउनुभएको छ ।
पार्टीको दोस्रो नुवाकोट जिल्ला सम्मेलनलाई आइतबार विदुरमा उद्घाटन गर्दै सचिव बोगटीले प्रतिपक्षी काँग्रेस-एमाले मुलुक र जनताप्रति जिम्मेवार नरहेको टिप्पणी गर्नुभयो । विपक्षीले जनताको शान्तिप्रतिको चाहनाको सम्मान गर्न नसकेकाले मुलुक संकटमा फसेको बोगटीको भनाइ छ ।
काँग्रेस-एमाले गठबन्धन सहमतिभन्दा मुलुकलाई मुडभेडतर्फ डोर्याउन उद्धत रहेकाले मुलक थप संकटमा फसेको भन्दै उहाँले समस्या समाधानका लागि सहमतिमा आउन आग्रह गर्नुभयो । शान्तिप्रक्रिया र परिवर्तन बिथोल्न काँग्रेस-एमालेले आन्दोलनको कुरा गरिरहेको टिप्पणी बोगटीको थियो ।
जिल्ला सम्मेलनले आसन्न सातौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षक चयन गर्नेछ । सोमबार हुने बन्दसत्रमा ६ सय प्रतिनिधि सहभागी हुने एकीकृत माओवादी नुवाकोटका नेता पुष्प लामिछानेले जानकारी दिनुभयो ।