९ फागुन, काठमाडौं । ग्रिनल्यान्ड र विल्सनले दोश्रो यु-१४ अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्द्दाटन खेलमा ग्रिनल्यान्डले नवजीवनलाई ३७-१९ ले पराजित गर्यो । विजेताका शंकर थापाले १४ अंक जोडे । पहिलो क्वाटरमा ४-६ ले पछि परेको ग्रिनल्यान्ड अन्यमा भने अगाडि रह्यो । ग्रिनल्यान्डले दोश्रोमा १२-२, तेश्रोमा ७-५ तथा चौथोमा १४-६ अंक जोड्यो ।
धीरेन मगरको १६ अंक सहयोगमा विल्सनले पुष्पसदनलाई ४६-२४ ले हरायो । पहिलो क्वाटरमा १०-२ को अग्रता बनाएको विल्सनले दोश्रो र तेश्रोमा पनि अग्रता लिने क्रममा १६-६ र १२-५ स्कोर गर्यो । विल्सन चौथोमा ८-११ ले पछि पर्यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको गल्र्समा टीआईए, पेनउड, चाँदबाघ र एन्जल्स हर्ट विजयी भए । टीआईएले बृहस्पतिको चुनौती २४-४ ले पन्छायो । टीअआईएकी आकृति गुरुङले १८ अंक जोडिन् । पेनउडले नेपाल-जापानमाथि ३२-६ को सहज जित निकाल्यो । विजेताकी एलिना गुरुङले १४ अंक जोडिन् ।
चाँदबाघले बीएसटीलाई १०-२ ले पन्छायो । चाँदबाघकी सविनाले ६ अंक बटुलिन् । भद्रकाली विरुद्धको खेलमा एन्जल्स हर्ट २४-१५ ले विजयी भयो । एन्जल्स हर्टको जितमा विष्णु दगामीले १० अंक योगदान गरिन् । रामकुमार बस्नेतको स्मृतिमा आयोजित प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा २४ टिम सहभागी छन् । प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ ।