कांग्रेस नेता बास्तोलालाई आइसियूबाट निकालियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कांग्रेस नेता बास्तोलालाई आइसियूबाट निकालियो

११ फागुन, काठमाडौं । झण्डै दुई महिनाअघि मस्तिष्कघात भएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारार्थ उहाँको स्वास्थ्यमा सामान्य सुधार भएको चिकित्सकले बताएका छन् ।

‘अहिले उहाँलाई आइसीयूबाट वार्डमा सारिएको छ, तर होस खुलेको छैन’ नेपाली कांग्रेस झापाका सदस्य केशवराज पाण्डेले अनलाइनखबरसँग भन्नुभयो -’आज बिहानमात्र मेरो दिल्लीमा सम्पर्क भएको थियो, डाक्टरहरुले अब क्रमिक सुधार हुन्छ भनेका छन् ।’

दुई महिनादेखि बास्तोला बेहोस नै हुनुहुन्छ । उहाँको छिटै होस खुल्ने चिकित्सकले बताएका छन् । अहिले शरीरका अंगहरु चल्न थालेको चिकित्सकको भनाइ उद्धृत गर्दै पाण्डेले भन्नुभयो । उहाँलाई प्रत्येक घण्टामा पाइपको माध्यमबाट दुईसय ग्राम तरल खानेकुरा खुवाइने गरिएको छ । यस्तै फिजियोथेरापीको माध्यमबाट अंगहरुलाई क्रियाशील गराउने प्रयास पनि भैरहेको छ ।

संगीत र हल्लाको प्रबन्ध

बेहोस अवस्थामै रहे पनि वरपर मान्छेको चहल-पहल छ भन्ने भान पार्न चिकित्सकले त्यस्तै वातावरण तयार पारिदिएका छन् । अस्पतालमा बास्तोलाकी श्रीमती, छोरीहरु, ज्वाईं, आफन्त र अरु साथीभाइ समेत छन् । कांग्रेस नेता पाण्डेका अनुसार त्यहाँ रहेका परिवारका सदस्य र आफन्तहरुले बिरामी बास्तोलाको छेउमा बसेर कुरा गर्ने र संगीत सुनाइदिने गरेका छन् । यो वातावरणले छिटै होस खुलाउन मद्दत पुग्ने चिकित्सकको विश्वास छ ।

गएको पुस १४ गते अकस्मात मस्तिष्कघात भएपछि बास्तोलाको सिलगुडीस्थित न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसपछि उहाँलाई पुस १६ गते राति एयर एम्बुलेन्सबाट नयाँदिल्लीको मेदान्त अस्पताल लगिएको छ ।

एमाले नेता अधिकारी पनि मेदान्तमै

दम रोगबाट पीडित नेकपा एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी पनि यतिबेला बास्तोलालाई राखिएको दिल्ली मेदान्त अस्पतालमै एकमहिनादेखि उपचार गराइरहनुभएको छ ।

2 Comments on “कांग्रेस नेता बास्तोलालाई आइसियूबाट निकालियो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु