लुम्बिनीमा पर्यटक आगमनमा बृद्धि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लुम्बिनीमा पर्यटक आगमनमा बृद्धि

११ फागुन, बुटवल । नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको सुनौली नाकाबाट यस वर्षको सुरुमै पर्यटक आगमन वृद्धिसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि पर्यटक आगमनमा वृद्धि भएको छ । सुनौली नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी रहेको हुन्छ । यसैले यस वर्षको सुरुवातमा पर्यटक आगमनमा वृद्धिसँगै लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको पाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा विकास गर्न लागिएको लुम्बिनीको गुरुयोजनाभित्र पर्ने केन्द्रीय नहर -सेन्ट्रल क्यानल)मा चार महिनाअघिबाट व्यावसायिक रूपमा डुङ्गा सञ्चालनमा आएपछि अहिले डुङ्गा चढेर मनोरञ्जन लिनेहरु बढी भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

गत वर्ष लुम्बिनी भ्रमण वर्षको उद्घाटनका अवसरमा डुङ्गा सञ्चालन सुरुवात गरिएको भए पनि लुम्बिनीमा व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुन सकेको थिएन । लुम्बिनी विकास कोषले डुङ्गा सञ्चालनका लागि खुला प्रतिस्पर्धा गरी छनोट गरेपछि डुङ्गा सञ्चालन भएको हो । सुलभ जल यातायात प्रालिले डुङ्गा सञ्चालन गर्न तीन वर्षका लागि ठेक्का पाएको छ । लुम्बिनीमा डुङ्गा सञ्चालन भएपछि आन्तरिक पर्यटकको ओइरो लागेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले बताउनुभयो । लुम्बिनी गुरुयोजनाको मेरुदण्डका रूपमा रहेको सो नहरमा अहिले एउटा जल यातायात -मोटरबोट) सञ्चालनमा ल्याइएको र तीनवटा ल्याउने तयारी भएको कोषले जनाएको छ । सुलभ जल यातायातले आम्दानीको २५ प्रतिशत रकम कोषलाई दिने गरी सम्झौता गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

कोष र सुलभबीच भएको सम्झौताअनुसार केन्द्रीय नहरमा आवश्यकताअनुसार १०/१२ जनादेखि ४०/४५ जनासम्म अट्ने मोटरबोट ल्याइने भएको छ । लुम्बिनीमा डुङ्गा चढ्न चाहने नेपालीका लागि एकतर्फी रु ३५, दुईतर्फी रु ६०, सार्क मुलुकका नागरिकलाई एकतर्फी रु ४०, दुईतर्फी रु ७० तथा तेस्रो मुलुकका नागरिकका लागि एकतर्फी रु ५० र दुईतर्फी रु ८० लाग्ने गरेको छ । नेपाली विद्यार्थीका लागि भने कोषले छुटसहित एकतर्फी रु २० र दुईतर्फी रु ४० लाग्ने व्यवस्था गरेको छ ।

केन्द्रीय नहरमा डुङ्गा सुचारु भएपछि लुम्बिनीको सौन्दर्यमा थप आकर्षण थपिएको कोषका कोषाध्यक्ष अर्यालले बताउनुभयो । लामो समयको पर्खाइपछि निर्माण कार्य सकिएको केन्द्रीय नहरमा डुङ्गा सञ्चालन भएपछि लुम्बिनी घुम्नका लागि आउने पर्यटकले थप आनन्द र मनोरञ्जन पाएको उहाँको भनाइ छ । एक दशमलव छ किलोमिटर लम्बाइ, १२ मिटर चौडाइ र १.५ मिटर गहिराइ रहेको केन्द्रीय नहरमा हिँडेरभन्दा डुङ्गा चढेर घुम्दा पर्यटकलाई थप आनन्द हुने कोषले जनाएको छ । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु