१२ फागुन, भक्तपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरमा हवाई जहाज संग्रहालय बनाउने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थन्किएर बसेका थोत्रा जहाज प्रयोग गरेर त्यस्तो संग्रहालय बनाउन लागिएको प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले जानकारी दिएको खबर अभियान दैनिकले छापेको छ ।
मानन्धरले भने-’संग्रहालय बनाउन प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिइसकेको छ ।’ मानन्धरका अनुसार संग्रहालय प्राधिकरणको भक्तपुरमा रहेको करिब २ सय रोपनी जग्गामध्ये ५० रोपनीमा बनाइनेछ । विमानस्थलमा लीलामी गर्नुपर्ने अवस्थाका डोर्नियर, वाई १२, हेलिकोप्टर लगायतका १० ओटा जहाज छन् ।
विमानस्थलमा विभन्नि जहाज कम्पनीले १० बर्षभन्दा लामो समयदेखि छाडेका जहाजहरु छन् । ती जहाज लीलाम गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि बिक्री हुन नसकेकाले आफैले व्यवसायीक प्रयोजनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ ।