१२ फागुन, भैरहवा । विद्यालय व्यवस्थापन समितिमा चोरबाटोबाट अध्यक्ष बन्ने परम्पराको एक उदाहरण भैरहवामा भेटिएको छ । छलेर ढाँटेर, थर्काएर र सहमतिको नाममा समितिमा प्रवेश गर्न नसक्ने अवस्था देखिएपछि यस्ता प्रवृति बढ्दै जान थालेका हुन् । रुपन्देहीको मक्रहर गाविसमा रहेको शिवपुर उच्च माविमा व्यवस्थापन समितिको अध्यक्ष बन्न एक व्यक्ति नक्कली बाबु बनेर नानीको जन्म दर्ता गराएको रहस्य खुलेको छ ।
सोही नक्कली जन्मदर्ताको आधारमा ऋषि काफ्लेले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उमेद्दारी दिएका छन् । उनले आफ्नै भाई तुलसी काफ्लेकी छोरी आँचल काफ्लेको नक्कली जन्मदर्ता बनाएको खबर गोरखापत्र दैनिकले छापेको छ । शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको सदस्य बन्नका लागि विद्यालयमा आफ्ना बालबच्चा पढ्नु अनिवार्य भएकाले आफ्नै भतिजिलाई ऋषि काफ्लेले छोरी बनाएका हुन् ।