सेक्सपियरलाई भेट्दा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सेक्सपियरलाई भेट्दा

गीता रेग्मी

३० अगस्त २०११ को बिहान आँखा खुल्दा केटाकेटीको मसिनो गुनगुनको एकनासे सङगीत बज्छ कानमा । ओछ्यानबाटै बोलाउँछु भुन्टीलाई (विमल बाबुको कान्छी छोरी सृष्टि) । ऊ असाध्यै चुलबुले माया लाग्दी र हिस्सी परेकी छ । बालसुलभ नखरा पार्न पनि पछि पर्दिनँ ऊ । श्रीया र शिला पनि उस्तै मायालाग्दा छन् । मलाई विदेशमा राम्रैसँग ममता पोख्ने स्थान दिएका छन् । बिहान एकछिन उनीहरूलाई लिएर पल्टिन्छु र छातीभित्रको छोरीको रिक्तता पूरा गर्छु ।

आज हामी “शेक्सपियरलाई भेट्न जाँदैछौ । हिजो बेलुका विकल बाबु र जयाजीको फोन वार्तापछि विकल बाबुले सर्मिला र मलाई सुनाउनु भयो- ‘भोलि हामी शेक्सपियरको जन्मथलो हेर्न जादैछौं । खुसीले दङग पर्‍यो मन शेक्सपियरको जन्मथलो देख्ने कुराले । बुवाले बेलुकीपख सधैं हामीलाई कथा सुनाउनुहुन्थ्यो । कहिलेकाहीँ शेक्सपियरका नाटकहरू । मनमनले बुबालाई नजिकै भएको अनुभव गरेँ नाटक भन्दै गरेको कल्पनासँगै । त्यसमाथि बुबाले यति कलात्मक हिसाबले शेक्सपियरका बारेमा भन्नुहुन्थ्यो कि हामी त्यो वर्णन गरिएका चीज वस्तु र मानिसलाई नजिकबाट अनुभूत गरिरहेका छौं जस्तो लाग्दथ्यो । तर आज मेरा अगाडि वास्तविकता उभिएको छ । साँच्चै म शेक्सपियरको जन्मथलो टेक्न जाँदै थिएँ । कस्ता ठाउँमा जन्मिएका हुँदा हुन् कौतुहल थियो मनमा । बुबाले भनेको “हृयाम्लेट” नाटक फनफनी घुम्न थाल्यो भित्रभित्रै । बाबु राजा हृयाम्लेटलाई हेवान नामक विषालु जडिबुटीको रस कानमा हालिदिएर मारी रानी “Gertrude” सँग विवाह गरेर काका राजा भएको थाहा पाएर पनि केही गर्न नसकेको विवश छोरा हृयाम्लेटको परिकल्पना कसरी गरे हुन् त । पाँच सय वर्ष अघि पनि ? कस्तो थियो होला उनी जन्मिएको र हुर्किएको समाज र वातावरण ?

भनिन्छ, साहित्य समाजको ऐना हो । के पाँच सय वर्ष अगाडिको शेक्सपियरको वरिपरिको समाज पनि धूर्त र फटाहा थियो होला ? नत्र कसरी उनले “मर्चेन्ट अफ भेनिस” नामक नाटक जन्माउन सके होलान् ? यस्तै यस्तै सोच्दै थिए म । झस्किएँ भान्जी शर्मिलाको ‘ब्रेक फास्ट के लिने माइज्यू ? भन्ने प्रश्नले ।

मैले हाँस्दै भने “तातोपानीमात्रै” म आफैं लिएर आउँछु भन्दै किचनतिर लागेँ । सरकारी धाराबाट आएको पानी पनि कति सफा धाराबाटै खान मिल्ने तातो, चिसोजस्तो भने पनि । आखिर सभ्यता र सरसफाइ त जनताले अनुभूत गर्ने कुरामा हुनुपर्ने न हो । सिधैं धाराबाट पानी थापेँ र खाएँ दुईतीन गिलास । त्यति नखाई पेट पोलिरहे जस्तो हुन्छ । चिया खाने चै खै किन हो बानी लागेन र खाइनँ पनि । विकल बाबु कम्प्युटरमा के के हेर्दै हुनुहुन्थ्यो । “टिकट त दोब्बर पो पर्दो रहेछ माइजू ७ बजेभन्दा अघि” भन्नुभयो । तीन दिने सार्वजनिक बिदाको अन्तिम दिन परेकाले पनि कर्मचारी र विद्यार्थीको हिँड्ने बेलामा घुमन्ते हामी जस्ताले नअल्झाउन् भनेर यस्तो नियम बनाएको हुनुपर्छ त्यहाँंको सरकारले । हिजो ७ बजे जाने तय भएको भए पनि हामी आज ९ बजेपछि मात्र हिँड्ने भयौं ।

ढिला हिँड्ने भएपछि म कम्प्युटरमा बसेँ । भाइ सञ्जीव र बहिनी संगीता रहेछन् अनलाइनमा । तिनीहरूसँग सामान्य बोलचाल गरेर नेपालमा भान्जी बिना अधिकारीसँग कुरा गर्न हतारिएँ म । २७ अगस्टदेखि कुरा भएको थिएन घरतिर । बिनासँग पनि सामान्य कुराकानी गर्दै घरको के छ भनी सोधेको थिए । भतिजी निशा घरमा एक्लै भएको सुनाउनुभयो । श्रीमान् कोरिया जाने कुरा थियो, भिसा भए नभएको थाहा पाउन सकेकी थिइनँ । न भएछ कि ? आशाको बत्ती झिलिक्क बल्यो । आउने बेलामा एयरपोर्टबाट गोरखा बुबासँग कुरा हुँदा भनेकी थिएँ मेरो भिसा भएपछि छोराको पनि हुन्छ । उहाँ पनि एक हप्तामा कोरिया, जानुहुन्छ है बुबा” भनेर । आˆनो विश्वास अगाडि आएर उभियो । “मामा खै त ?” भाञ्जीलाई मेसेज पठाएँ । “मामा त हिजै कोरिया गइस्यो । भिसा दिन ढिला गरेकोले झन्डै जहाज छुटेको रे ।” भान्जीको जवाफ मेसेज पढेर मन पनि खुसी भयो, अनायासै थपडी पड्काउन थालेछु केटाकेटीजस्तै । विकल बाबु र विनय बाबुहरू नजिकै हुनुहुन्थ्यो । सुनाए “मामा त कोरिया जानु भएछ ।”

“ल राम्रो भयो मामा माइजू नै विदेश भ्रमणमा निस्कनुभएछ । खुसी लाग्यो मलाई त ।” विकल बाबुले भनेपछि म कुर्सीमा बसे । लाज पनि लाग्यो आफ्नो केटौलीपनदेखि । यति धेरै उत्तेजित हुनुपर्ने कुरा पनि त थिएन जस्तो लाग्यो । तर मेरा लागि धेरै नै महत्व राख्दथ्यो । उहाँको कोरिया यात्राले । पोहोर साल साथीको डकुमेन्ट नपुगेर भिसा प्रोसेसिङमा नै नगई कार्यक्रम सिद्धिएको थियो । हल्लाखल्ला सबैतिर भइसकेको र कोरियाबाट आयोजकले टिकटसमेत पठाइसकेकोले उहाँको यसपटकको यात्रा निधो हुन्छ भन्ने विश्वास हामी सबैलाई थियो । तर यकिन नभइकन त विश्वासमात्रै लिएर पो के गर्ने ? अब भने आफ्नो विश्वास बलियो रहेछ भन्ने लाग्यो ।

खाना खाएर ९:३० मा विकल बाबु, म र सर्मिला घरबाट निस्कियौं । जयाजी र बुद्धि दाइ, प्रदीप नेपाल दाइ र डा. सुष्मा दिदीलाई लिएर आउँदै हुनुहुन्थ्यो । हामी लिभरपुलमा भेट भएर जाने योजना थियो । रमफोर्डबाट ट्रेन छुट्यो भनेर जयाजी, विकल बाबुसँग कुरा गर्दै हुनुहुन्थ्यो । सबैसँग शिष्टाचारका आदानप्रदानसँगै ट्रेन चढ्यौं हामी ।

अगाडि सर्मिला र म बस्यौ । हाम्रो पछाडि विकल बाबु र प्रदीप दाइ बस्नुभयो । आडमा सुष्मा दिदी बस्नुभयो । त्यसपछि बुद्धिमान दाइ र अन्तिममा जयाजी हुनुहुन्थ्यो । प्रदीप दाइका कुरा सुन्न लालायित जयाजी स्टेसन नआउँदासम्म उभिएरै कुरा सुन्ने प्रयत्न गरिरहनुभयो । नेपाल वायु सेवा निगमको कुरा भए, राजनीतिका कुरा चले, देशको अव्यवस्थाका कुरा चले । दाइ त राजनीतिज्ञ पो हो त साहित्यकारसँगसँगै मैले आफूले आफैंलाई सम्झाएँ ।

हामीले आधा घन्टा ढिला गर्दा दुई घन्टा कुर्नुपर्ने भयो स्ट्राटफोर्ड ओपन एभन जानका लागि । चुकचुकायो मन । नेपाली अव्यवस्था र नेपाली समय लिएर विदेश हिँड्न कहाँ पाइयो र ?

बिना उद्देश्यको Leamington Spa भन्ने ठाउँमा समय काट्न हामीलाई निकै गाह्रो भयो । झर्‍र्यौ बाटैबाटो तलतिर । सानो सफा बजार । उस्तै प्रकारका घर, गाउँ र टोल पिच्छे फरक शैलीका भएर पनि उस्तै- भनौं एउटा गाउँमा एउटै किसिमका घरहरू । पार्क सबै ठाउँमा हुने रहेछ । त्यहाँ सानो खोला र पोखरी पनि रहेछ । साना पानी हाँस र ठूला सेता राजहाँस पौडिरहेको दृश्य कस्तो राम्रो देखियो । फेरि, ट्रेन छुट्छ कि भनेर फर्कियौं र एउटा रेस्टुरेन्टमा पस्यौं । हिजोको जात्रामा पो लागेको थियो भोक खाने ठाउँ नभएर । आज खाजा खाने ठाउँ छ तर भोक छैन । हिजोको समस्याले आज घरमै मज्जाले खाएर आएपछि फेरि भोक कहाँ लाग्नु नि मगाएको फिङगर चिप्स अलिकति पनि घटेन । त्यही छोड्न पनि माया लाग्यो बट्टाभित्र प्याक गरेर हिँड्यौं स्टेसनतिर ।

आफ्नो निधारित समयमा ट्रेन आयो । अंग्रेजी नाट्य साहित्यका महारथी बूढा शेक्सपियरलाई भेट्ने कल्पना गर्दै हामी ट्रेन चढ्यौं । जहाजका जस्तै राम्रो सिट । अगाडि खानेकुरा राख्ने टेबल, भित्रै ट्वाइलेट आहा ! सर्वसाधारण चढ्ने रेलमा पनि कस्तो राम्रो सुविधा । खानेकुरा ट्रलीमा गुडाउँदै बेच्न लिएर हिँड्दा रहेछन् साना व्यापारीहरू । गफ गर्दागर्दै स्टाटफोर्ड ओपन हेभन आएको पत्तै भएन ।

अब कतातिर लाग्नुपर्ला ? सोच्दै थियौं हामी । अगाडि ट्याक्सी रोकिरहेको देख्यौ । न बूढा शेक्सपियर अझै टाढै जन्मिएका हुन् र ट्याक्सी नै लिएर जानुपर्ने हो कि भनेर टयाक्सीतिर अगाडि बढ्नुभयो विकलबाबु र प्रदीपदाइ । त्यहाँकी महिला चालकले शेक्सपियर सेन्टरनजिकै रहेको जानकारी दिएपछि हामी पैदल अगाडि बढ्यौं ।

सूर्यले मस्त जवानी पोखिरहेकाले वातावरण न्यानो थियो । सफा चिटिक्क परेका चिप्ला बाटाहरूमा हामी प्रदीप दाइका गफ सुन्दै हिँडिरह्यौ । बाटाका छेउमा हरिया पात र राता स्याउ जस्तै साना दाना भएका लहरे बोटविरूवाले वातावरणको शोभा बढाइरहेको थियो । धुवाँ धूलोको त नाम निशान कहीँ कतै थिएन । गाडीका घाई घुँई पनि सुनिएन । शान्त परिवेश ! गुलावी टायलका छाना भएका एकनासे घरहरू ती घरमाथि चिम्नी देखेर अचम्म लाग्यो । बिजुली नहुँदैको समय, कस्तो जतिबेला घर तातो बनाउन दाउरा बाल्नुपर्दथ्यो । ती समयका चिम्नी आज हिटर आइसक्दा पनि जीवन्त राखिरहेका पाउँदा खुसी र अचम्म लाग्यो । यसरी इतिहासको जगेर्ना गरे आफू हुनुको सार्थकता भेटिन्छ । गमलामा लटरम्म फुलेका फूलहरूले बार्दलीको शोभा त बढाएको छ नै, घरलाई रङहरूले मनमोहक बनाइदिएको छ । इँटा ओछ्याइएको बाटाहरू र फोटा खिच्दै गरेका पर्यटकहरू । ओहो ! यहाँ त हामी पनि त पर्यटक नै हो नि ! मनले यस्तै सोच्यो र हातले झोला भित्रबाट क्यामरा झिकेर खिच्न थाल्यौं ।

मनभित्र के के खेल्दैछ कुन्नि ? “खै त तेरा बा ? मलाई मन पराउने उ नै हो तँ पो आइस् त एक्लै ।” भने जस्तो लाग्यो शेक्सपियरले ! म पनि बुबाको सन्देश सुनाइदिन्छु भन्दै उहाँले ढोग पठाउनुभएको छ तपाईंलाई” भन्छु । उनी खुसी भएर मुस्कुराउँछन् र आफू नआए पनि छोरीसँग सन्देश पठाएकोले मक्ख पर्छन् बूढा बा । विचरा ५२ वर्षकै उमेरमा १६१६ मा टपक्क टिपेर लाने यमराजदेखि झोक चल्छ मलाई । सय वर्ष बाँच्न दिएका भए के के लेख्दा हुन् हामी जस्ता अबोधहरूको आँखा खुलाउन कुन्नि ? सोच्दै थिए । “ल टिकट लिनुपर्‍यो” जयाजीको आवाजले झस्किएँ । विकल बाबु टिकट लिन लाइनमा बसिसक्नुभएको रहेछ । हामी त टिकट घरभित्र पो छिरिसकेका रहेछौं ।

टिकट लिएर पर्यटकको हूलसँगै हामी पनि भित्रियौ । शेक्सपियरका नाटक देखाइँदै रहेछ पर्दामा । हेरिरहेका मानिसलाई दाहिने पार्दै अगाडि बढ्यौ । टिकट घरबाट बाहिर निस्कँदा लटरम्मै फुलेका फूलसँग जम्काभेट भयो । आहा भन्न नपाउँदै रातो लहरे गुलाबले काठेघरभित्र आमन्त्रण गर्‍यो । “ओहो म त शेक्सपियरको घरमै पो आइसकेछु ।” भानुभक्त र लक्ष्मीप्रसाद देवकोटालाई सम्झिएँ उनीहरूका घर र भग्नावशेष पनि नदेखेकी म, मनमनै उनीहरूसँग माफी पनि मागेँ ।

वातावरण शान्त छ । चर्को बोल्न दिँदैन- भनौं मिल्दैन । फोटो खिच्न नपाइने अनुरोध गरिएका छन् भित्ताहरूमा । उनी जन्मिएको ठाउँ नजिकै अगेनो छ । अहिले पनि आगो बलिरहे जस्तो भान हुने गरी बिजुलीको बत्ती बलिएको छ- आगोको फिलिङगो जस्तै लाग्ने गरी । आमा मेरी अर्डेन र पिता शेक्सपियरबाट १५६४ अप्रिल २३ मा जन्मेका विलियन शेक्सपियरको बाल्यकाल हेर्न सगरमाथाकी छोरी पनि आइपुगेकी छु । उनका जीवनसँग सम्बन्धित सबै वस्तु सुरक्षित रहेछन् यहाँ । कुर्सी, टेबुल, बिछ्यौना, काठको बाकस, ठूलाठूला काठका बेन्चहरू, उनका बाबुसँगै औषधि बनाउँदाका औषधिका भाँडाहरू, बाल्यकालदेखि उनका जवानीसम्मका पारिवारिक फोटाहरू लगायत सबै चीज जस्ताको तस्तै राखिएको रहेछन् । हामी हेर्दै हिँड्यौं । सबैजना तितर बितर भइयो भीडले । एकजना भद्र महिला खै के के भन्दै थिइन् मानिसलाई । म पनि कान थापेर सुने । अंग्रेजी भए त केही बुझिन्छ भनेर, तर अहँ केही बुझिनँ । उनी जर्मन भाषामा बोल्दै रहिछन् । टुरिस्ट गाइड पो रहिछन् उनी त । हामी त्यहाँबाट झर्‍र्यौ र पछाडिपट्टी फूलैफूलको बगैंचामा गयौं । सुन्दर बगैंचामा धीत मरून्जेल फोटाहरू खिच्यौं र अर्को पक्की भवनतिर लाग्यौ । त्यहाँ उपहारहरू र शेक्सपियरका पुस्तकहरू राखिएको रहेछ । मैले छामे र अनुभूत गरेँ सबै चीजलाई ।

“मर्चेन्ट अफ भेनिस” लाई सुम्सुम्याए र बुबाले भनेको सम्झिएँ । साइलक जस्ता धूर्तपात्र कहाँबाट भेटे होलान् त्यसबेला ? एन्टोनियोलाई विवश अवस्थामा कागज गराएको सम्झिएँ । म्याद नाघेमा एक पाउन्ड मासु शरीरबाट लिने सर्त राखेको सम्झिएँ । श्रीमद्भागवत्का बलि राजालाई पनि सम्भिmएँ । धार्मिक पुस्तकमा लेखेको सुनेकी थिएँ शरीरको वा मासुको क्षतिपूर्ति । “रोमियो एन्ड जुलियट” “ट्वेल्थ नाइट”, “एज यु लाइक इट”, “टु जेन्टलमेन अफ भेरोना”, किंग लियर” सजिएर बसेका थिए सोकेसमा र लालायित थिए हाम्रा हातमा आउनका लागि । हृयाम्लेटलाई सुम्सुम्याएर “हाम्रा बुबा तीर्थराज रेग्मीलाई तिमी कण्ठ छौ” भने किन तिमीलाई विवश र लाचार बनाए होलान् ती बूढाबाले ? किन बाँधे तिम्रा हात आफ्नो बाबुको हत्यारामाथि उठ्नलाई ? माने बूढावा तिमीलाई मानेँ । कोही धूर्त असाध्यै कोही विवश जसरी भए पनि पाठक र श्रोताका मनबाट ओझेल नपर्ने चरित्रहरूको कल्पना गर्न सकेकोमा तिमीलाई श्रद्धाले शिर झुकाए खनातिनी भए पनि ।”

हामी रमफोर्ड पुग्नु थियो यहाँबाट धेरै टाढा । अबको ट्रेन छुट्यो भने फेरि दुई घन्टा कुर्नुपर्ने भएकाले शेक्सपियरको चर्च, पाठशाला नहेरी हामी बाहिरिने सल्लाह गर्‍यौं प्रदीप दाइ, विकल बाबुहरूसँग र बाहिरियांै । १९६४ मा ४००औं जन्मजयन्तीको अवसर पारेर शेक्सपियर सेन्टरको स्थापना भएको रहेछ । प्रत्येक २३ अपि्रलमा विश्वका विभिन्न देशका प्रतिनिधि स्ट्राटफोर्ड ओपन एभनमा जम्मा भएर शेक्सपियर जयन्ती मनाउँदा रहेछन् श्रद्धाले । आफ्ना देशका भानुभक्त हजुरबा र लक्ष्मीप्रसाद ठूलोबुबालाई सम्झिएँ । विचरा टुहुरो जस्तो लाग्यो । सरकारमा बस्नेले आˆनै दुनोमात्र सोझ्याए पछि के हुन्छ र ? साहित्यिक संघ संस्थाहरूले पनि आˆनो पहिचानका लागि कार्यक्रम गरे जस्तो गरेर औपचारिकतामा टुंग्याउँछन् देशका महान् हस्तीहरूका देनलाई बस त्यति हो ।

स्टेसनमा आएर कागजका बिर्को भएका मग जस्तोमा कफी लियौं र अर्को छेउ गयौं भर्‍याङ चढेर ट्रेन कुर्न । कफी खाइसक्दा नसक्दै माछाजस्तै लामो ट्रेन आयो । त्यसैमा चढ्यौं । जयाजी मन्त्री भएको मान्छे प्रदीप दाइसँग नजिकै बस्नुभयो र उहाँका प्रत्येक कुरालाई चाख लाग्ने कथा जसरी सुन्नुभयो । प्रदीप दाइ भन्दै हुनुहुन्थ्यो लक्ष्मीप्रसाद देवकोटा स्मृति केन्द्र बनाउन आफू सरकारमा हुँदा गरेका प्रयाश र पारिवारिक असहयोगको बारेमा । सुन्दा दुःख लाग्यो । हामी गफिँदै छौ । बाहिरसम्म फाँट, भेँडा र गाई चरिरहेका देखिन्छन् । सबै चीज पछाडि पार्दै हामी अगाडि बढिरहेका छौ । अरू रेल गाडीहरू सुरूरू आउँदै जाँदै गर्छन् । यहाँका विकास र सुव्यवस्था देख्दा मेरो मन सधैं आफ्नो देशमा गएर तुलना हुन्छ अनि असन्तुष्टि बढ्छ मनभित्र । नेता, मन्त्री र प्रधानमन्त्रीलाई राम्रोसँग देख्न पाएकीले उनीहरूको जनताका अगाडि एउटा कुरा र पछाडि व्यवहारमा अर्कै बुझ्दाबुझ्दै पनि हाम्रो देश किन विकास नगरेको भन्दै दाइसँग असन्तुष्टि पोख्यौं विकल बाबु र मैले ।

नेपाल वायु सेवा निगममा अस्तव्यस्ताको बारेमा कुरा निकाल्नुभयो बाबुले उहाँ १८ वर्षदेखि बेलायतमा बस्दै आउनुभएको हो म जस्ती ६ दिन अगाडि आएकीलाई त यहाँको विकास, सुव्यवस्था देख्दा हाम्रा देशका ठूला हौं भन्ने कर्मचारी र नेताप्रति घृणा उत्पन्न भयो भने विकल बाबुहरूलाई नहुने त कुरै भएन । परदेशमा देशको मायाले छाती कति पोल्छ भन्ने कुरा डायस्पोरिक लेखहरूले प्रष्ट पार्दछ । फेरि आज होइन बेलायतमा विकासको थालनी भएको रानी भिक्टोरियाको पालामा । सन् १८४० देखि कसरी कल्पना गरे होलान् ? कहीँ नभएको यातायातको सफलता हात पार्न कति धेरै मानिसका सकारात्मक विचारहरू आवश्यक परे होलान् ? वाफ रे वाफ ! जमिनमुनि रेल १८६३ मै । “आधा जनसंख्यालाई गर्भभित्रै बोकेर गन्तव्य पुर्‍याउँछ बेलायती ट्रेनले” सुन्दा मन अचम्मित नहुने कुरा पनि रहेन । विदेश भ्रमणबाट फर्कदा नेताहरू नेपाललाई कहिले सिंगापुर बनाउने, कहिले युरोप बनाउने कुरा गर्छन्, पत्रकारका अगाडि क्यामरामा र आफूमात्र बदलिन्छन् । डाइनिङ टेबल र काँटा चम्चा नभै खाना खान नसक्ने गरी, स्टार अङकित नभएको होटेलमा मिटिङ बस्नै नसक्ने गरी अनि ढुङगाले …… पुछेकाहरूको फूर्ति बाथटप र तातोपानी नभई नुहाउन नसक्ने गरी परिवर्तन हुन्छन् । तर देश र देशका जनता उस्ताको उस्तै रहन्छन् ।

जयाजी मन्त्री भइसकेका मानिसको छेवैमा बसेर गफ सुन्न लालायित भइरहँदा मेरा मनले खै के के सोच्यो सोच्यो । अलि अगाडिको कुरा हो दाँत माझ्न पनि पर्छ भन्ने थाहा नपाएका चितवनका एकजना सांसद तलब र सुविधा वृद्धि गर्दा कसरी खुसी भएथें ! आˆना कार्यकर्तालाई भात खुवाउँदा खुवाउँदै उनले संसद्बाट निस्कँदा पनि सिक्न भ्याएनन् दाँत माझ्ने कुरा । जस्ताका तस्तै बाहिरिए तीन वर्षमै । धूर्तहरूको सिकार संसद् हुँदा कोही चाउरी परेका खोपिल्टे गाला र हवाई चप्पल लगाउन नपुग्नेहरू पजेरो हुँदै कहाँ हो कहाँ पुगेका छन् । मध्यम स्तरीय परिवारमा जन्मेको म बबुरी राजनीतिका दुईथरी भाषा बोल्न सक्दिनथे । बुबाले सिकाएको आदर्शले सुन्न र गर्न छेक्थ्यो मलाई । विस्तारै राजनीतिकर्मीले मात्र समाज र देश सुधार्न सक्छ भन्ने भ्रमबाट आँखा खुल्दै थिए मेरा । तीनवटा आमनिर्वाचन हेरिसकेपछि आँखा प्रष्ट भए । यहाँ त धूर्त फटाहाहरूको साम्राज्य फैलिसकेको रहेछ, कहाँ उभिन सक्नु आफ्नो आदर्श बोकेर ? लागेँ सामाजिक र पारिवारिक बाटोतिर ।

प्रदीप दाइलाई २०४८ सालको पहिलो संसद्मा बोल्दै गरेको देखेकी थिए । दुब्लो पातलो अग्लो प्रदीप दाइको आक्रामक प्रस्तुतिले कम्युनिस्ट नेता त यस्ता पो हुन्छन् भन्ने लागेको थियो । यिनीहरूले एकपटक देश हाँक्छन् र खान्छन् भन्ने थियो । त्यही बेलादेखी मेरो मनमा परेको भ्रम पनि २०६८ भदौसम्म आइपुग्दा टुटेको छ । “जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखान चरितार्थ भएको छ । राम्रा गाडी, बङगला, आरामदायी विस्तारा, मीठो चौरासी व्यञ्जन, मौसमअनुसारका खाद्यान्न, विभिन्न देशको भ्रमण, घाँटीभरि माला, राजा फाले पनि राजाको जस्तै मान मनितोको आवश्यकता । जनतालाई उही दुई थुँगा फूल लियो, राणाकालमा जस्तै जो अगाडि आउँछ उसैको जयजयकार मनायो वस् । मेरो मन चिसो भयो । घाम पश्चिमतिर लागिरहेछन् । बोट, बिरूवा, ताल, खोला पछाडि पर्दै गइरहेछन् ।

२०४८ सालमा देखेको आक्रामक प्रदीप दाइ २०६८ सालमा बेलायतमा सँगै यात्रा गर्दा नरम सकारात्मक र बुझक्कड एउटा अभिभावक जस्तो लाग्यो । मेरा र विकल बाबुका सरकारप्रतिको असन्तुष्टिलाई राम्रोसँग बुझाएर साम्य पार्नुभएको थियो । हुन सक्छ उहाँमा उमेरले ल्याएको परिपक्वता भनौ वा स्वास्थ्यले पारेको असर वा समयसँगको सम्झौता थियो त्यो । बोल्दाबोल्दै र हेर्दाहेर्दै हामी लिभरपुल आइपुगेछौं । हामी भोलि भेट्ने वाचा गर्दै छुट्टयिौं । प्रदीप दाइ, डा. सुष्मा दिदी, जयाजी र बुद्धि दाइ Harrow तिर लाग्नुभयो, हामी शर्मिला, म र विकल बाबु रमफोर्ड विकल बाबुको घरतिर लाग्यौं मुटुभरि शेक्सपियरको परिवेश, जीवनी, देन र राष्ट्रले गरेको सम्मान सजाउँदै ।

7 Comments on “सेक्सपियरलाई भेट्दा”
  • Ashish Jung Rana wrote on 23 February, 2013, 9:56

    What a nonsense! Why did u waste your time making your words so long? Why did U pick up the name of Shakespeare ? Rather u cud name the title ‘ mero budo Korea jada ‘ or ‘ bikal babu Sanga ghumda ‘ …? Sometime pple try to write vomit whatever they like via words , BIG word not accepted .

    Like or Dislike: Thumb up 15 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • karki wrote on 23 February, 2013, 10:04

    very nice

    Like or Dislike: Thumb up 3 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Renu wrote on 23 February, 2013, 10:36

    Seconded with Rana , Shakespeare lai vetda? Bakbass , lit padeko Manche k k na hola vaner sabai padeko ta tai na tui , yesto lekhne/ chapne ? Toit

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shivakanta Adhikari wrote on 23 February, 2013, 10:58

    गिताजी लेखन निरन्तर छ लेखाइमा अरु निखार र रस भरिन भने बाँकि नै छ क्रमश सुधार हुदै जाओस र नामले सगरमाथाको शिर चुम्नेतिर गति लियोस शुभकामना /

    Like or Dislike: Thumb up 1 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • कबिन -दोहा wrote on 25 February, 2013, 7:41

    onsense!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • तोरीलाउरे wrote on 26 February, 2013, 6:09

    halka i love you gita ji lai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SAMIR DC wrote on 28 February, 2013, 6:38

    YESMA LITERATURE BHANDA PANI POLITICAL FRUSTRATION KA KURA DHERAI 6 TESAILE YESLAI SARVOTTAM BHANDA PANI TIME PASS BHANDA HUN BUT POLITICAL FRUSTRATION AAAM SAMASYA HO TESAILE ESTO ARTICLE LAI YO PART MA NARAKHDA BES HUN6 .ANYWAY DESH KO CHINTA AAJKO MAIN THYME HO SABAI YESKO LAGI BHANE SABAI EK HUNAI PAR6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु