कालीगण्डकी विद्युत् गृह मर्मतका लागि १० दिन बन्द :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

कालीगण्डकी विद्युत् गृह मर्मतका लागि १० दिन बन्द

१२ फागुन, स्याङ्जा । पश्चिम स्याङ्जाको कृष्णगण्डकी गाविस-८ मा रहेको नेपालकै सबैभन्दा ठूलो विद्युत् गृह कालीगण्डकी ‘ए’ १० दिन बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ विद्युत् विभागका प्रमुख अवधेशकुमार सिंहका अनुसार कालीगण्डकी ‘ए’ को बाँधमा रहेको इन्लेट भल्भमा चुहावट आएकाले त्यसको मर्मतका लागि विद्युत् गृह १० दिन बन्द गर्न लागिएको हो । “बाँधको इन्लेट भल्भमा तीन/चार वर्षदेखि पानी चुहिने समस्या देखिएको थियो,” प्रमुख सिंहले भन्नुभयो- “मर्मत नगरे पनि दुई/तीन वर्षसम्म त चल्ने थियो तर अहिले नदीमा पानीको बहाव कम छ, त्यसैले मर्मत गर्न लागेका हौं ।”

इन्लेट भल्भको मर्मत सक्ने बित्तिकै टर्बाइन मर्मतको काम सुरु गर्ने सिंहको भनाइ छ । “इन्लेट भल्भको मर्मतको काम गर्न झण्डै एक महिना लाग्छ,” सिंहले भन्नुभयो- “२४ सै घन्टा फिल्डमा खटेर भए पनि १० दिनमा मर्मतको काम सक्ने योजना बनाएका छौं ।”

“कालीगण्डकीको मर्मतको काम गर्न विगतका वर्षहरुमा विदेशी इञ्जिनियरलाई ल्याउने चलन थियो,”-सिंहले भन्नुभयो, “विदेशी इञ्जिनियरहरुलाई मर्मतका लागि ल्याउँदा निक्कै खर्चिलो हुने भएकाले यसपटक स्वदेशकै इञ्जिनियरबाट गर्ने तयारी गरेका छौं ।” कूल १४४ मेगावाट उत्पादन क्षमता भएको कालीगण्डकी ‘ए’ मा अहिले पानीको बहाव निकै कम भएकाले दैनिक उत्पादन औसतमा ६५ मेगावाट मात्रै हुने गरेको छ ।

“तीन ओटा टर्बाइन भए पनि पानीको बहाव कम भएकोले धेरैजसो एउटा मात्रै टर्बाइन चलाउने गरिएको छ,” सिंहले भन्नुभयो, “विद्युत्को माग बढी तथा पानीको बहाव बढेको बेला दुई ओटा टर्बाइन चलाउने गरेका छौं ।” कालीगण्डकी ‘ए’ को मर्मतको काम सुरू भएपछि देशमा पुनः विद्युतभार कटौतीको समस्या बढ्न सक्ने कालीगण्डकी ‘ए’ विभागले जनाएको छ । रासस

 

One Comment on “कालीगण्डकी विद्युत् गृह मर्मतका लागि १० दिन बन्द”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु