सुर्तीखेतीबाट जीवनस्तर उकास्दै धमौराका किसान :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

सुर्तीखेतीबाट जीवनस्तर उकास्दै धमौराका किसान

१३ फागुन, बर्दिवास । महोत्तरी जिल्लाको धमौराका किसानले सुर्तीखेतीबाट जीवनस्तर उकासेका छन् । केही वर्ष पहिलेसम्म हातमुख जोर्ने समस्या बेहोर्दै आएका सो गाविसका किसानले आफूहरू सुर्तीखेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका छन् । पाँच वर्षअघिसम्म परम्परागत अन्न बालीमात्र लगाउँदा अपेक्षित उत्पादन नभएर जीवन धान्न धौधौ परेको बेला सुर्तीखेती गर्न लागेपछि राम्रो आम्दानी लिन थालेको त्यहाँका किसानको भनाइ छ । कम सिँचाइमा पनि उत्पादन लिन सकिने र भण्डारण एवम् प्याकिङको काम गर्न घरका परिवारले भ्याउने भएपछि सुर्तीखेतीले आफ्नो बस्तीमा प्रमुख बालीको स्थान लिएको सोही गाविसको रौजाबजारका मन्सुल कवारीले बताउनुभयो । यसले गर्दा रोप्ने र गोड्नेबाहेक अन्य काममा श्रमिक नपाउँदा पनि खेतीमा खासै अप्ठयारो नपरेको किसानको भनाइ छ ।

यादव, मुसलमान र पासवान जाति समुदायको बाहुल्यता रहेको धमौरामा सुर्तीखेतीबाट मनग्गे आमदानी हुन थालेपछि आफ्ना नानीहरूको शिक्षादीक्षामा पनि अभिभावकले ध्यान दिन थालेका छन् । यसअघि शिक्षादीक्षाको कुरामा निकै पछि परेका मुसलमान र पासवान जातिका दलितले पनि अब छोराछोरी पढाउन थालेका सोही गाउँका बासिन्दा एवम् नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका सुशीलकुमार यादवको भनाइ छ । धमौरा-४को निम्न माध्यमिक विद्यालयमा अहिले पढ्न आउने पासवान र मुसलमानका छोराछोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको यादवले बताउनुभयो ।

धमौरामा करिब ८० बिघाको हाराहारीमा सुर्तीखेती हुने गरेको त्यहाँका किसानको भनाइ छ । प्रतिकठ्ठा  १२५ किलोसम्म उत्पादन हुने सुर्तीबाट राम्रो भाउ पाउँदा एक कठ्ठाबाट ४० हजारसम्म आम्दानी भएको धमौरा-९ का बासिन्दा एवम् पूर्वसांसद महेन्द्र मधुकर बताउनुहुन्छ । भाउ केही खस्कँदासमेत २५ हजारभन्दा नघटेको किसानको भनाइ छ । खेती गर्नेको सङ्ख्या र क्षेत्रफलसमेत बढ्दै गएपछि भारतीय व्यापारीहरूले घरमै आएर सुर्ती लैजाने गरेकाले बजार खोज्ने झञ्झटसमेत हराएको किसानले बताएका छन् । पछिल्ला दिनमा धमौराका किसानको देखासिकीबाट पडौल, हतिसर्वा, बलवा, बनौटा, खुट्टापिपराढी, बदियाबनचौरी र सरपल्लोलगायत छिमेकी गाविसका किसानले समेत सुर्तीखेती गर्न लागेका छन् ।

आˆनो बस्तीमा व्यापक सुर्तीखेती भए पनि सरकारीस्तरबाट कुनै राय सल्लाह तथा प्राविधिक सहयोग नपाएको किसानले गुनासो गरेका छन् । यता जिल्ला कृषि विकास कार्यालय महोत्तरीले भने किसानहरू बीउबीजन र अन्य कुनै परामर्श र सहयोगका लागि आˆनो सम्पर्कमा नआएका जनाएको छ ।सुर्तीखेतीबाट मनग्गे आम्दानी भए पनि आˆनो उत्पादन भारतीय बजारमा आश्रति रहेको किसानको गुनासो छ । उत्पादनको मूल्यमा समेत आफूहरूको इच्छा, सहभागिता र परामर्श नरहने हुँदा यो सबै भारतीय व्यापारीमा भर पर्नुपर्ने स्थिति रहेको रौजा बजारकै मनिफ कवारीले बताउनुभयो ।आफ्नो जिल्लामा यसको बजार नरहेको र उत्पादन लिनेदिनेबारे कुनै कबुलियत नबन्ने हुँदा भारतीय व्यापारीको दयामायामा नै सुर्ती बिक्रीको कुरा निर्भर रहेको किसानहरू बताउँछन् । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु