१३ फागुन, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका किसानले मागअनुरुप फलफूलका बिरुवा नपाएको गुनासो गर्न थालेका छन् । जिल्लाभित्रका किसानलाई जिल्ला कृषि विकास कार्यालय मुस्ताङले स्याउ, ओखर, खुर्पानी, नासपाती, आरु, आरु बखडा, अङ्गुर र कागजी बदामका बिरुवाको वितरण गरेपनि मागअनुसार नपाएको उनीहरूको भनाइ छ ।
किसानको मागअनुरुप वितरण गर्न नसकिएको कार्यालयले पनि स्वीकारेको छ । बाहिरी जिल्लाबाट ल्याएको बिरुवा राम्रो नभएको प्रतिक्रिया किसानले दिएको र जिल्लामा यथेष्ट मात्रामा नर्सरी नभएकाले मागको ३३ प्रतिशत मात्र बिरुवा किसानलाई दिन सकेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत रेवतीरमण पौडेलले बताउनुभयो ।उहाँले आगामी वर्षदेखि निजीस्तरका किसानले समेत नर्सरी सुरु गरेकाले बिरुवा बढी दिन सकिने र केही वर्षभित्र मागअनुसारका बिरुवा किसानलाई दिई बाहिरी जिल्लासमेत पठाउन सकिने बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार स्याउको ६२ हेक्टर र ओखरको तीन हेक्टर क्षेत्रफल थप विस्तार भएको जिल्ला कृषि विकास कार्यालय, मुस्ताङका बागवानी विकास अधिकृत नारायण काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार स्याउका १८ हजार ७१०, ओखर ३६०, खुर्पानी ४७०, नासपाती २८८, आरु १७०, आरु बखडा ४६, अङ्गुर ४५ र कागजी बदाम २५ गरी २० हजार २१४ बिरुवा वितरण गरिएको हो । स्याउ र ओखरको बिरुवामा जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदान दिँदा प्रतिबिरुवा प्याकिङसहित रु १५ ढुवानीसहित र अन्य फलफूलका बिरुवा सरकारी दरमा करिब रु २० देखि ३० भुक्तानी गरी लगेका छन् ।
स्याउका बिरुवाको अत्यधिक माग रहेपनि जिल्लामा उत्पादित बाहेक बाहिरी जिल्लामा उत्पादित बिरुवा कृषकले नरुचाएकाले ंबाहिरबाट बिरुवा नल्याइएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । गत वर्ष जुम्लाबाट ल्याएको करिब ८० हजार स्याउका बिरुवामध्ये ४० प्रतिशत बिरुवा नसरेकाले यस वर्ष जुम्लाबाट बिरुवा नल्याइएको बागवानी विकास अधिकृत काˆलेले बताउनुभयो । जिल्लामा निजीस्तरका नर्सरी नभएकाले ५० हजारभन्दा बढी स्याउका विरुवा माग भएपनि कृषकलाई उपलब्ध गराउन नसकिएको हो । यसै वर्षदेखि निजीस्तरबाट किसानले समेत बिरुवा उत्पादन थालेकाले आगामी दुई वर्षमा करिब ४० हजारभन्दा बढी स्याउका बिरुवा उत्पादन वितरण गर्न सकिने छ ।
यस वर्ष करिब ५० हजार स्याउका बिरुवा माग भएर पनि वितरण गर्न नसकिएको हो । हालसम्म बिरुवा उत्पादन गरी कार्यालयलाई उपलब्ध गराउँदै आएको सितोष्ण बागवानी विकास केन्द्र मार्फाले यस वर्ष १८ हजार ७१० बिरुवा उपलब्ध गराएको थियो । रासस