१३ फागुन, कञ्चनपुर । कञ्चनपुरको दैजी- ७ हात्तिथला क्षेत्रमा कैलाली कञ्चनपुर ग्रामीण विद्युत् सहकारी सङ्घ छाता सङ्गठन क्षेत्र नम्बर चारले विद्युत् सेवा विस्तार गरेको छ । विद्युत् सेवा पाउनबाट वञ्चित यहाँका १५० परिवारको घरमा सङ्घले विद्युत् सेवा उपलब्ध गराएको हो ।
ट्रान्सर्फमर र विद्युत्का खम्बाको अभावमा यहाँका ती परिवार विद्युत् सेवाबाट वञ्चित रहँदै आएका थिए । विगतमा वरिपरिका गाउँमा विद्युत् हुँदा साँझ बिहान झलमल्ल देखिन्थे तर स्थानीय बासिन्दाले भने यहाँ धिपधिपे टुकी बालेर उज्यालो गर्नुपर्ने अवस्था थियो । सहकारी सङ्घको छाता सङ्गठनले ट्रान्सर्फमर र विद्युत्का खम्बा गाडी तार तानेर विद्युत् उपलब्ध गराएपछि यहाँका बासिन्दाको विद्युत्को समस्या हटेर गएको छ ।
सहकारी सङ्घले आˆनै निजी रु पन्ध्र लाखको लागतमा त्यस क्षेत्रका बासिन्दालाई विद्युत् सेवा उपलब्ध गराउनका लागि १०० किलोवाटको ट्रान्सर्फमर, १७ वटा विद्युत्का खम्बा र तारको व्यवस्था गरेको सङ्घको छाता सङ्गठनका क्षेत्र नं ४ का अध्यक्ष भैरव सिं ऐरले बताउनुभयो ।यहाँका बासिन्दाको विद्युत्को असहजता हटाउनका लागि ट्रान्सर्फमरका लागि रु पाँच लाख, तार र खम्बाका लागि सङ्घले रु दस लाख खर्च गरेको अध्यक्ष ऐरले बताउनुभयो । रासस