१३ फागुन, सउल । कोरियामा पछिल्ला दिनमा नेपालीहरुको हत्या र मृत्यु बढेको प्रति चिन्ता ब्यक्त गर्दै त्यसलाई घटाउने उपायबारे चर्चा भएको छ ।
गतसाता कम्बोडिन नागरिकको आक्रमणबाट मृत्यु भएका झापा अनारमनिका राजेश राईको श्रद्धाञ्जलीसभामा बोल्दै अधिकांश बक्ताहरुले मादकपदार्थ सेवन गरेकै अबस्थामा यस्ता घटना हुने गरेको बताए । यस्तै भिन्न देशका नागरिकलाई एकै कोठामा राख्न नपाइने नियमबिपरित रोजगारदाताले फरक फरक देशका कामदारलाई एकै कोठामा राखिदिंदा पनि समस्या आएको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै नेपाली राजदूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले घटनाप्रति दुख ब्यक्त गर्दै यस्ता घटनालाई दोहोरिन नदिन सचेतता अपनाउनुपर्ने बताउनुभयो ।
एनआरएन कोरियाका अध्क्षय केपी सिटौलाले आफ्ना नागरिकको सुरक्षाको लागि दूतावास चनाखो हुनुपर्ने बताउँदै बिदेशिहरु संगै बस्दा संयम अपनाएर बस्न अनुरोध गर्नु भयो । यसैगरि अन्य बक्ताहरुमा झापा मिलन समाजका अध्क्षय मीनप्रकाश उप्रेती, पत्रकार पुरु जोसी, कोरिया सन्देशका ब्यवस्थापक राजु सन्तोसि थापा, झापामिलन समाजका उपाध्क्षय सन्तोष श्रेष्ठ, मृतकका जेठान राजकुमार राई, संघिय लिम्बुवानका गंगा लिम्बु, ययोखाका टिका राई लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।
गत शनिबार ३६ बर्षीय राईलाई कम्बोडियन नागरिक समिनले हत्या गरेका थिए । समिनलाई कोरियन प्रहरीले पक्राउ गरिसकेको छ । उता राईको शव नेपाल सरकारको खर्चमा थाई एयरबाट आईतबार नेपाल पठाई सकिएको छ भने सोमबार झापामा दाहासंस्कार हुने मृतकका जेठान राजकुमार राईले जनाकारी गराउनु भएको छ ।