१३ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसीलाई आदर्श खेल व्यक्तित्व- २०६८ बाट आइतबार सम्मान गरेको छ ।
एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी- २०६८ अवार्ड वितरण कार्यक्रममा खेलाडी संघले केसीलाई नगद ३० हजारसहित कदरपत्र प्रदान गर्यो । यो विधा गत वर्षदेखि थपिएको हो । यसै वर्षदेखि उक्त अवार्डका लागि खेलाडी संघ र गजराज ट्रष्टबीच चार वर्षका लागि प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शनिबार हस्ताक्षर भएको थियो । समग्रमा अवार्डको यो सातौं संस्करण हो ।
अघिल्लो वर्ष उक्त सम्मान नेपाली प्रथम ओलम्पियन मध्येका स्व. भूपेन्द्र सिलवाललाई प्रदान गरिएको थियो ।
त्यस्तै वर्षभरीको प्रदर्शनको आधारमा संघले विभिन्न २२ खेलका त्यत्तिनै खेलाडीलाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी- २०६८ अवार्ड प्रदान गरेको छ ।
अवार्ड पाउनेहरुमा बक्सिङका दीपक महर्जन, तेक्वान्दोकी आयशा शाक्य, करातेकी गंगादेवी अधिकारी, फुटबलका सागर थापा, जुडोका सरोज महर्जन, पौडीकी श्रेया धिताल, स्क्वासका हीराबहादुर थापा, शारीरिक सुगठनका श्याम श्रेष्ठ, भलिबलकी कोपिला उप्रेती, टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तोलनका अनिल मल्ल, एथलेटिक्सका तिलकराम थारु, सफ्ट टेनिसका सोहन धौभडेल, साइक्लिङका अजय पण्डित क्षेत्री, ह्यान्डबलका प्रवीण ओझा, आर्चरीकी कृष्णमाया स्याङतेन, तेक्वान्दो युनियनकी नम्रता तुलाधर, कबड्डीकी संगीता गौतम, जिम्न्याष्टिककी पिंकी झाङ, फुलकन्ट्याक्ट करातेका कान्छालाल वाइबा, कुस्तीका वैजनाथ यादव तथा आईटीएफ तेक्वान्दोका चाउची डंगोल रहेका छन् ।