२१ फागुन, बेलायत । बेलायतस्थित नेपाली दूतावासमा नेपाली भाषासाहित्यका कालजयी स्रष्टाहरूको तस्बीर स्थायीरूमा अङ्कित भएको छ । ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्वका तस्बीरहरूसँगै पहिलोपटक भाषासाहित्यका सेवकहरूको चित्र दूतावासका भित्ताहरूमा टाँगिएको हो ।
आइतबार नेपाली दूतावासमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाली साहित्यका चर्चित स्रष्टाहरूको तस्बीर अनावरण गरिएको हो । नेपाली साहित्यविकास परिषद् युके तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले संयुक्त रूपमा उक्त कार्यक्रमको आयोजना गरी पाँच जना प्रतिनिधि साहित्यकारको तस्बीर दूतावासलाई हस्तान्तरण गरेका थिए ।
तस्बीर टाँगिएका साहित्यकारहरूमा क्रमश: आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, नाट्यसम्राट बालकृष्ण सम तथा आख्यानसाहित्यकी चिरपरिचित हस्ती पारिजात रहेका छन् ।
कार्यक्रममा पाँचजना साहित्यकारका एकएकवटा कविता वाचन गरिनुका साथै उनीहरूको संक्षिप्त परिचय र योगदानबारे डा. सुधा श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।
साहित्यकारको महत्व र कीर्तिलाई भौगोलिक सीमाले नबाँध्ने उल्लेख गर्दै आयोजक संस्थामध्येको एक अनेसासका उपाध्यक्ष डा. रूपक श्रेष्ठले समाजलाई समयसापेक्ष परिमार्जन र विकास गर्न स्रष्टाहरूको ठूलो योगदान रहने हुनाले तिनको सम्मानस्वरूप दूतावासमा तस्बीर राख्ने अभियानमा आफूहरू विगत केही वर्षदेखि खटेर लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा राजदूत डा. सुरेशचन्द्र चालिसेसहित एनआरएन युके, नेपाली नर्सिङ एसोसिएसन युके, नेपालीगजलडटकम, कोसेली सांस्कृतिक परिवारलगायत विभिन्न संघसंस्था र साहित्यकारहरूको उपस्थिति थियो ।
Yesto khabar le ta mero chati garva le phulcha,
I love my NEPAL
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]