नेपालकै पहिलो चट्टान अभिलेख सङ्कटमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपालकै पहिलो चट्टान अभिलेख सङ्कटमा

२३ फागुन, भक्तपुर। भक्तपुरको ताथली गाविसमा रहेको नेपालकै पहिलो चट्टान अभिलेख संरक्षणको अभावमा सङ्कटमा परेको छ । इतिहासमै दुर्लभ मानिने चट्टान अभिलेख जिल्लाको पूर्वी भेगमा अवस्थित ताथली गाविस- ३ अन्तर्गत नालाछाप र हलल गाउँमा पत्ता लागेको दुई वर्ष बित्तिसक्दा उल्लेख्य प्रचारप्रसारको अभाव र उचित संरक्षण ध्यान नदिँदा सो अभिलेख सङ्कटमा परेको हो ।

चट्टान अभिलेखलाई सरोकारवालाले ध्यान नदिँदा अभिलेखको अस्तित्व नै खतरामा पर्ने सम्भावना बढ्दै गएको संस्कृति तथा इतिहासविद्हरू बताउँछन् । संस्कृति तथा इतिहासविद् पुरषोत्तमलोचन श्रेष्ठका अनुसार मल्लकालीन समयको उक्त चट्टानहरूमा चित्र तथा अक्षरहरू कुदिएका छन् । जसमा सिंह, साँढे जुधाई, हात्ती र घोडाको चित्रहरूका साथै नेवारी लिपीमा अक्षहरू समेत कोरिएका छन् । जसमा मल्लकालीन राजाहरूले मन्दिर र धाराहरू निर्माणका लागि ढुङ्गा लिन गएको अभिलेखमा उल्लेख गरिएको श्रेष्ठले बताउनुभयो ।

ताथलीकोे वासुकी ढुङ्गामा तत्कालीन काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लले नेपाल संवत् ७७८ मा कोरिएको चट्टान अभिलेख कुदिएका छन् । वासुकी ढुङ्गाको माथिल्लो भागमा पाँचवटा र पूर्वी भागमा तीनवटा गरी आठवटा अनेक खालका चट्टानमा अभिलेखहरू रहेका छन् । त्यसैगरी भक्तपुरका मल्ल राजा जितामित्र मल्लले नेपाल संवत् ८३१ मा कोरिएको अभिलेख पनि वासुकी ढुङ्गामा कुदिएको श्रेष्ठको चट्टान अभिलेख र अन्य सम्पदा नामक पुस्तकमा उल्लेख छ । इतिहासविद् पुरषोतमलोचन श्रेष्ठले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने भए पनि सम्बन्धित निकायको ध्यान नपुगेको बताउनुभयो ।

 पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुर प्रमुख अरूणा नकर्मीले पर्याप्त बजेटको अभावमा सो क्षेत्रमा काँडेतार समेत लगाउन नसकेको स्वीकार्नुभयो । रासस

One Comment on “नेपालकै पहिलो चट्टान अभिलेख सङ्कटमा”
  • चतुर भुज पाण्डे wrote on 8 March, 2013, 0:54

    यसको संरक्षण हूनुपर्छ । यसमा के लेखिएको छ । जानकारी पाउन पाए राम्रो हुने थियो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु