पर्यटनको लागि सामूहिक प्रतिबद्धतामा जोड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पर्यटनको लागि सामूहिक प्रतिबद्धतामा जोड

२३ फागुन, बागलुङ । पर्यटन विकासको लागि सामूहिक प्रयास थाल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा पर्यटन विकासका प्रशस्त सम्भावना भएपनि विकासको ठोस योजना र प्रतिवद्धता नहुँदा चाहेजस्तो विकास हुन नसकेकामा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार बागलुङमा गरेको क्षेत्रीय पर्यटन गोष्ठीका सहभागीले पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटकीय विकासबारे प्रचुर सम्भावना रहेको बताएका छन् । गोष्ठीमा सहभागी पर्यटन व्यवसायी, उद्योगी, सङ्घसंस्थाका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखलगायतले पर्यटनका विकासका ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् । सरकारी तथा समुदायस्तरबाटै प्रभावकारी पहल थाले मात्र पर्यटन क्षेत्रको विकास सम्भव हुने मन्त्रालयका सहसचिव लोकबहादुर खत्रीले बताउनुभयो । खत्रीले सरकारले पर्यटन विकासको मुद्दालाई प्राथमिकताका साथ उठाएको र नीति तथा कार्यक्रम पनि बढाएको जानकारी दिनुभयो । पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी र अगुवाइ हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पश्चिमाञ्चल स्तरमा भएको उक्त गोष्ठीमा सहसचिव खत्रीले क्षेत्रीय पर्यटन प्रवर्द्धन सम्भावना र चुनौती विषयका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ‘पश्चिमाञ्चल विकास क्षेत्र पर्यटन विकासको लागि प्रसस्त सम्भावना भएको क्षेत्र हो’ खत्रीले भन्नुभयो ‘धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक हिसावले पनि यो क्षेत्रका पर्यटकको राम्रो गन्तव्य बन्न सक्छ ।’ नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र पोखरापछि अर्को गन्तव्यको सोहीस्तरमा विकास गर्न नसकिएको खत्रीले उल्लेख गर्नुभयो । पर्यटककीय गन्तव्य पहिचानसँगै त्यसको विकासमा उचित ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । त्यस्तै गोष्ठीमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बागलुङ जिल्लामा पर्यटन विकासको सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले बागलुङ सदरमुकामदेखि ढोरपाटन सिकार आरक्षसम्म पुग्ने पदमार्ग निर्माण गर्न सके पर्यटन विकासले ठूलो फड्को मार्ने बताउनुभयो । स्थानीय निकायले पर्यटन विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव श्रेष्ठको छ । गोष्ठीमास्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले पर्यटकीय मार्ग निर्माणको लागि नीतिगत निर्णय तथा स्वीकृतिको लागि पहल गर्ने बताउनुभयो । गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि पौडेल र उपप्राध्यापक डा सुर्दशन सिलवालले टिप्पणी प्रस्तुत गर्नुभएको थियो । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु