२४ फागुन, ललितपुर । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैँ ललितपुरको सातदोबाटोबाट ५६ किलोमिटर दुरीमा रहेको दुर्गम गाविस गिम्दीमा सूचना प्रविधिको त कुरै छाडौं सामान्य सञ्चारको पनि पहुँच छैन ।आधुनिक प्रविधि र भौतिक पूर्वाधारले सुविधासम्पन्न राजधानीसँगैको जिल्ला ललितपुरका दक्षिणी भेगका केही गाविस अझै सञ्चारविहीन छन् ।ललितपुर डाँडापारीका गाविसहरु आश्राङ्, गिम्दी र ठूलादुर्लुङका बासिन्दा अझै पनि सञ्चारको सुबिधाबाट बञ्चित छन् । कुनै पनि पत्रिकाको पहुँच नभएका यी गाविसमा काठमाडौंकै अधिकांश रेडियो नसुनिने स्थानीयवासी बताउँछन् । पछिल्ला वर्षमा मोबाईलको प्रयोग बढिरहे पनि सेवा प्रदायकले सुबिधा थप नगर्दा टावर खोज्दै हिँड्न स्थानीय जनता बाध्य भएका छन् ।
नेपाल टेलिकमको केन्द्रीय लाइन नहुँदा मोवाइल त के सामान्य ल्याण्ड लाइन फोन पनि चल्दैनन् ।सञ्चारको पहुँच र समयमै सूचना प्रवाह हुन नसक्दा यहाँका जनताले निकै सास्ती बेहोर्नु परेको छ । एम्बुलेन्स चाहिएमा बिरामीलाई स्थानीय स्वास्थ्यचौकीमा छाडेर मोबाईलको टावर खोज्दै कुद्नुपर्ने बाध्यता छ ।आकस्मिक बिरामी पर्दा सडक बाटो भएपनि एम्बुलेन्स बोलाउन टेलिफोनको सुविधा नहुँदा सास्ती बेहोर्नु परेको स्थानीय इन्द्र सञ्जेल बताउनुहुन्छ ।गिम्दी स्वास्थ्य चौकीका अहेब कमल आलेले सञ्चार असहज हुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई पनि समस्या परेको बताउनुभयो ।टेलिफोन सुविधा नहुँदा कडा र नयाँ खाले बिरामीको केस आउँदा समस्या हुने गरेको उहँाको भनाई छ । ‘सञ्चारको पहुँच नहुदा यहाँका जनताले सास्ती बेहोर्नुपरेको छ, बिरामीको उपचारमा समेत कठिनाई भएको छ, कडा खाले बिरामी आउदा केन्द्रमा परामर्श तथा समन्वय लिनुपर्ने बाध्यता हुन्छ डाक्टरको फोन लाग्दैन ।’ सञ्जेलले बताउनुभयो ।
पछिल्ला वर्षमा मोबाईल प्रयोगकर्ताको सङ्ख्या बढेपनि सञ्चारको सुविधा सहज नभएको स्थानीयबासी बताउँछन् ।यस क्षेत्रमा पछिल्ला वर्ष धेरैले सिडिएमएको फोन सेट प्रयोग गरेका भए पनि त्यसको पनि सेवा प्रभावकारी छैन । काठमाडौंको (०१-) को कोड नम्बरले काम नगर्ने भएकाले प्रहरी चौकीहरु, स्वास्थ्य चौकी र स्थानीयबासीले पनि मकवानपुरको -०५७-) को कोड नम्बर प्रयोग गर्न बाध्य छन् ।उपत्यकाभित्र पर्ने भएर पनि यी गाविसहरुमा काठमाडौंबाट प्रसारण हुने धेरै रेडियोहरु नसुनिने स्थानीयबासी बताउँछन् । काठमाडौंका कान्तिपुर र इमेज एफएम बाहेक अन्य रेडियो सुन्न नसकिने उनीहरुको भनाइ छ ।गिम्दी जस्तै राजधानीबाट करिव ७० किलोमिटर दुरीमा रहेको ठूलादुर्लुङ गाविस पनि सञ्चारको पहुँचबाट बञ्चित छ ।
ठूलादुर्लुङका ओमनाथ अधिकारी काठमाडौंका रेडियो भन्दा मकवानपुरका रेडियो प्रष्ट सुनिने बताउनुहुन्छ । ‘हामी सूचनाका लागि काठमाडौंका भन्दा मकवानपुरका रेडियो सुन्ने गरेका छौं, वीरगञ्जसम्मको पनि सुनिन्छ तर काठमाडौका १/२ वटा मात्र सुनिन्छन् ।’-उहाँले भन्नुभयो ।ठूलादुर्लुङ गाविसमा पनि सञ्चारको सुविधा शून्य हुँदा स्थानीय कफीलगायतका उत्पादित सामग्रीको व्यावसायिक प्रवर्द्धनमा कठिनाइ भएको छ । ललितपुरका दक्षिणी भेगका ४१ गाविसमध्ये ठूला द्रुर्लुङ् सबैभन्दा विकट गाविस मानिन्छ । राजधानी सहरसँगै जोडिएको जिल्ला भएर पनि ललितपुरका धेरै गाविस दुर्गम कणर्ालीकै झल्को दिने भौगोलिक कठिनाइ र विकास पूर्वाधारका हिसावले पछि परेका छन् । रासस