कविता-विपना जन्माउने सपना :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कविता-विपना जन्माउने सपना

दीपेन्द्र के.सी.

तार्न नसकेका सपनाहरु सवै

छोडेर खोलापारि

उतार्छु आफूलाई बगरमा

अनि हेर्छु ओसिलो पल्लो किनार –

एकझोला सपनाहरु

पोखिएका रहरहरु

र, झरेका रक्तिम लालीगुराँसहरु

अन्तिम हाँसो हाँस्छन म सँग ;

बग्नुछ उनीहरुलाई

केहीक्षण पछि आउने भीषण बाढीसँगै

र, गर्नुछ समापन–धमिलो यात्राको ।

 

म फेरि शुरु गर्छु

शाश्वत यात्राको नयाँ श्रृङ्खला

र, लाग्छु उकालीहरु

अर्कै क्यानभाष पोतेर मनमा ।

 

भत्केका सिंढीहरु

लहरै बतासे डाँडाहरु

नाँगा सिंगाने बालकहरु, कुप्रा बुढाबुढीहरु

पहाड ओदारिरहने भोका पेटहरु

रातै बाँझा बारीहरु, मक्किएका झुप्राहरु

पुगेर मध्यमा

विसाएर हेर्छु तलतिर

र, फेरि बटुलेर केही सपना !

सम्भार गरेर तलदेखि

गाँउलाई गाँउजस्तै बनाउनु छ

पाखा र डाँडाभरि राताम्मै लालीगुराँस फुलाउनुछ

बोट र बारीभरि लटरम्मै सपनाका फलहरु फलाएर

अनि बल्ल आराम लिनुछ सिरानमा ।

 

यो अर्को रुप हुनेछ

मेरो सपनाको

जसले कोरलेर पक्कै

जन्माउने छ विपनाहरु

अनि बल्ल यात्राले फेर्नेछ

सन्तोषको एउटा श्वास

पुगेर सिरानमा ।

 

: हाल ओस्टण्डे बेल्जियम

 

3 Comments on “कविता-विपना जन्माउने सपना”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु