व्रजेश
त्यो रेष्टूराँ ममचाको लागि खूबै प्रख्यात थियो । साँझपख त्यहाँ ममचा खानेहरूको मेला जस्तो लाग्थ्यो । एउटा लामो सोतो जस्तो कोठामा भएको त्यो रेष्टूराँमा पुछारतिर भने भेनिष्टाले बारेको र हरियो कपडाले पर्दा हालेको सानोसानो कोष्ठहरू पनि थिए । ती मध्ये एकमा भैरेले मलाई लगेर राख्थ्यो । भित्र कतै ठूलाठूला अजङ्गका भाँडाहरूमा ममचा पकाइन्थे । हरहर बास्ना बाहिरैसम्म आइरहेका हुन्थे । भैरे र ऊ जस्तै अरु केटाहरू भ्याइनभ्याई हातहातमा थुप्रै प्लेट तात्तातो ममचा बोकेर कुदिरहन्थे । यही बीचमा उसले कुनै बेला एक प्लेट ल्याएर फुत्त मेरो अगाडि राखिदिन्थ्यो । पहिलोपटक ममचा खाँदा मेरो मुखभित्रको छाला नै पोलेको थियो । त्यसको पानी फोकाले मलाई कतिदिनसम्म पिरोलेको थियो । ममचा भनेको भैंसी र राँगोको मासुले बन्दोरहेछ भन्ने कुरा मलाई दुई दिनपछि मात्र थाहा भएको थियो । पहिले नै थाहा भएको भए मलाई दिगविग लाग्थ्यो होला तर त्यसको स्वादले मेरो जिब्रोलाई जितिसकेको थियो । धेरै बेर म त्यहाँ बसेँ भने साहूले शंका गर्छ भनेर ऊ मलाई न्यूरोड घुम्न पठाउँथ्यो । म न्यूरोड, असन, इन्द्रचोक र वसन्तपुर तिर बरालिन्थेँ । अनि उसको ममचा रेष्टूराँ बन्द हुने बेला तिर खिचापोखरी आउँथेँ । हामी सँगै उसको डेरा र्फकन्थ्यौं ।
एक दिन त्यसै गरी राती हामी र्फकँदैथ्यौं । धरहरा काटेर टुँडिखेल निर आइपुग्दा केही युवाहरू अँध्यारोमा प्रकट भए । उनीहरूको हातमा चाङका चाङ कागजहरू थिए । सतर्क भएर ती कागजहरू बाटोमा छर्दै उनीहरू त्यसै गरी अँध्यारोमा अलप भए । बाटोमा धेरै मान्छेको चहलपहल त थिएन तर भएकाहरू ती कागज टिप्न थाले । भैरेले पनि दौडेर गएर एउटा टिप्यो । ल्याम्पपोष्टको बत्तीमा उसले सर्सरी त्यसलाई हेर्यो ।
“बिद्यार्थी आन्दोलनको पर्चा रहेछ ।” उसले भन्यो र चारैतिर सतर्क आँखाले हेर्दै त्यसलाई पट्याएर कमिज भित्र हाल्यो ।
“कोठामा गएर पढौँला । पुलिसले देख्यो भने मार्छ ।”
हामी केही नबोली फटाफट त्रिपुरेश्वरको ओरालो र्झन थाल्यौं । मलाई पनि एक किसिमको उत्साह मिश्रति उत्तेजना भैरहेको थियो । कोठामा पस्नासाथ भैरेले त्यो पर्चा निकाल्यो । हामी दुइ भाई त्यो पढ्न थाल्यौं । त्यतिबेला अहिलेको जस्तो फोटोकपी वा छपाइको विकास भएको थिएन । हातैले लेखेको मूलप्रतिलाई खै कसरी हो प्रतिलिपी बनाइएको रहेछ । त्यस्तोलाई लिथो गर्ने भन्दारहेछन् भन्ने कुरा मैले पछि मात्र थाहा पाएको थिएँ ।
सैनिक कारवाहीद्वारा अपदस्थ गरिएका जुल्फीकार अली भुट्टो नामका पाकिस्तानी प्रधानमन्त्रीलाई फाँसी दिएर मारिएको थियो । संसारका अधिकांस मुलुकहरुले उनलाई अभयदान दिनका लागि गरेको अनुरोधलाई पाकिस्तानले लत्याइदिएको थियो । त्यसैको विरोधमा भोलिपल्ट बिद्यार्थीहरू महाराजगञ्ज स्थित पाकिस्तानी दूतावासमा विरोधपत्र बुझाउन जुलुस जान लागेका रहेछन् । सहभागिताको लागि आहृवान गरिएको त्यो पर्चामा फासिष्ट व्यवस्था मुर्दावाद र प्रजातन्त्र जिन्दावाद भन्ने कुराहरू लेखिएका थिए । त्यतिबेला प्रजातन्त्रको पक्षमा बोल्नु भनेको राजतन्त्रको विरोधी हुनु हो भन्ने थियो ।
पर्चा पढेर रातोपीरो अनुहार लगाउँदै भैरे बम्क्यो,
“त्रिचन्द्र कलेजमा भेला भएर जाने रे । बुझिस् बैकुण्ठे, हामी पनि जानुपर्छ ।”
“जानु र ?”
उत्तेजना त ममा पनि संचार भैसकेको थियो तै पनि मैले अलि संसयका साथ सोधेँ ।
“प्रजातन्त्र ल्याउनु परेन ? समाजवाद बैकुण्ठे समाजवाद । अनि साला ममचासाहू र हामीमा केही फरक रहनेछैन ।”
उसले स्वप्निल भएर भन्यो । त्यो सोच्दा मलाई पनि रमाइलो लाग्यो । त्यस रात हामी दुबै राम्ररी निदाएनौं । हामी पनि भोलि आन्दोलनकारी बन्न जाने भन्ने सोच नै रोमाञ्चक थियो ।
भोलिपल्ट आठ नौ बजे नै हामी त्रिचन्द्र कलेज अगाडि पुग्यौँ । कोही आइपुगेका थिएनन् । हामी यता र उति बरालिँदै बस्यौँ । बिस्तारैबिस्तारै मानिसहरू भेला हुन थाले । सबै जोशले धपक्क बलेका अनुहारहरू थिए । केटाहरू मात्र नभै केटी मान्छेहरू पनि प्रशस्तै जम्मा हुन थाले । पर्चा हाम्रो हातमा मात्रै नभै राज्य प्रशासनको हातमा पनि परेको हुनुपर्छ, प्रहरीहरू पनि तैनाथ थिए । राजदरवारको बाटो नभै महाराजगञ्ज जान मिल्दैनथ्यो । त्यसैले प्रहरी प्रशासन उच्च सतर्कतामा बसेको हुनुपर्छ । त्यतिबेला त्यस्ता कुरा मलाई के थाहा हुनु र ?
एघार बज्दानबज्दै अपार मानिसहरूको भीड जम्मा भयो । मैले त त्यत्रा मानिसहरू एकैठाममा पहिले कहिल्यै देखेको थिइनँ । भीडमा कसैले भनेको सुनेर मलाई थाहा भयो दश हजारको हाराहारीमा आन्दोलनकारीहरू जम्मा भएका छन् । त्यहाँ बिद्यार्थी मात्र थिएनन् र स्वतस्फूर्त रुपमा भेला भएका अरु सर्वसाधारण पनि थिए । एउटा कालोकालो तर अजङ्गको ज्यान भएको बिद्यार्थी नेताले बडो जोशका साथ भाषण गरेपछि सबको रगत झनै उम्लिन थाल्यो ।
“फासिस्ट पञ्चायती व्यवस्था मुर्दावाद ।”
नाराहरू लाग्न थाले । जुलुस महाराजगञ्ज तिर अग्रसर भयो । भीडमा म र भैरै पनि मिस्सियौं । त्यत्रा मानिसहरूको जोश एउटाबाट अर्कोमा सर्दो रहेछ । दमन हुन सक्छ, प्रहरी हस्तक्षेप हुन सक्छ भन्ने कुराहरू भैरहेका थिए । तर त्यसको कसैलाई कुनै पर्वाह थिएन । मानवसागर अघि बढ्यो । केशरमहल हुँदै राजदरवारको पश्चिम गेट छिचोलेर अब हामी लैनचौर तिर अग्रसर भइरहेका थियौँ । बाटोका दुइ छेउमा तमाशा हेर्नेहरू पनि हात हल्लाउँदै जुलुसको जोश बढाउँदै थिए ।
ठ्याक्कै दुग्ध विकास संस्थानको नजीक पुगेको बेला अचानक बिना कुनै चेतावनी प्रहरी दमन सुरु भयो । उनीहरूले जुलुसलाई तीनतिरबाट घेरे । केशरमहल तिरबाट पहिलो जत्था, राजदरवारको उत्तरपटि्टको सडकबाट दोश्रो र अमृत साइन्स कलेजको तर्फबाट तेश्रो जत्थाले जुलुसमाथि आक्रमण गर्यो । खाकी रङ्गको लुगा लगाएका पाँचसात सयजना जति प्रहरीहरूले कठबाँसको निर्मम प्रहार गर्न थाले । हेर्दाहेर्दै त्यहाँ कोलाहलको बातावरण व्याप्त भयो । भागाभाग हुन थाल्यो । भैरे कता, म कता । म भन्दा दश गज जति पर एउटाको टाउकोमा प्रहरीको कठबाँस बजारियो । उसको टाउको नरिवल फुटे जसरी फुट्यो र भलभल रगत बगेर उसको अनुहार राताम्य भयो । दुबै हातले टाउको समातेर थचक्क बस्न भ्याएको पनि थिएन, अर्को प्रहरीको बूट उसको छातीमा बजारियो । मेरो सातो गयो । अर्कोपटि्ट एकजनालाई चारजनाले घेरामा पारेर बीचमा राखेर सिरक बनाउने बेला पुरानो रुवालाई उधिनेजसरी उधिन्दै थिए । अलि पर देखेँ एउटी केटी मान्छेलाई ढाडैढाडमा लौरो बजाउँदै थिए प्रहरीहरू । त्यो केटी भुक्लुक्कै ढली । मैले देख्दादेख्दै कति खुट्टाहरू उसैलाई कुल्चेर भागिसकेका थिए । म ज्यान जोगाएर एकातिर भागेँ । कतिजना त भाग्दा एकआर्कासँग ठोक्किएरै लडिरहेका थिए । कसैले पछाडिबाट मेरो खुट्टामा कुल्चियो, मेरो एउटा जुत्ता फुस्कियो । म एकदुइ पाइला कुदिसकेको थिएँ । जुत्ता टिप्नका लागि फरक्क फर्किएँ । तर उतापटि्टबाट बाढीको पानी जसरी मान्छेहरू भागेर आइरहेका थिए । उनीहरूको पछाडि हावामा उजाइएका बाँसका लौराहरू डरलाग्दा थिए । कति जुत्ता कति चप्पल छरपष्ट भैसकेका थिए, कहाँ खोज्न थाल्नु ? म एउटा खुट्टामा मात्रै बाँकी कपडाको जुत्ता सहित बेतोड भागेँ । कता भन्ने कुरा मलाई थाहा पनि भएन । भैरे कहाँ होला, मैले भाग्दाभाग्दै आँखा डुलाएँ । तर त्यहाँ तितरबितर भइरहेको भीडमा कहाँ देख्नु मैले भैरेलाई ?
बाटोको छेउमा एउटा सानो मन्दिर थियो । त्यहाँ निर अघि त्रिचन्द्र कलेजमा जोशले भाषण गर्ने बिद्यार्थी नेतालाई प्रहरीले च्याकुन्झ्याँइ पारेर भ्यान भित्र कोच्दै थियो । मेरो ढाडमा केही बजारिएको थाहा पाएँ । असहृय पीडा भयो । प्रहरीको लौरो भन्ने बुझ्न मलाई गाह्रो भएन । पछाडि फर्केर हेर्ने कुरै आएन । म लडेँ भने त अरु कति लौरो खाइने हो भन्ने डरले मलाई आफ्नो सन्तुलन कायम राख्न सघायो । त्यही बेला एउटा खश्रो हातले मेरो कठालो अँठ्यायो । मैले न्वारानदेखिको बल लगाएर आफूलाई मुक्त गर्ने प्रयास गरें । त्यो क्रममा मेरो ज्याकेट मलाई समाउनेको हातमा रहृयो, मेरो कमिजका केही टाँकहरु पनि छिने तर म भने उम्कें । म भएभरको बल बटुलेर भागेँ । फोक्सो फुट्ला जस्तो हुन्जेल म कतै नहेरी दौडेँ । ज्यान बचाएर भागुन्जेल पनि मलाई मेरो त्यो थोत्रो र मैलो ज्याकेटको माया लागिरहेको थियो । त्यो कुनै बेला मेरा बाले मलार्य ल्याइदिएका थिए । उनले मलाई ल्याइदिएको त्यही एउटा मात्र कुरा थियो । बाको त्यो चिनो जीवनभर साँचेर राख्छु भन्ने सोच्या थिएँ मैले । बा त रहेनन्, रहेनन्, उनको त्यो चिनो पनि मैले त्यस दिन गुमाएँ । दौड्दादौड्दा जब शरीरले साथ नदिएर गोडाहरू लूला भएर म थचक्क बसेँ, असन आइसकेको रहेछ । म एक लौरी मात्रै खाएर उम्केछु । कतिजना घाइते भए होलान्, मैले मनमनै सोचेँ । अगाडिपटि्टको मन्दिरमा नचिनेको भगवानलाई नमस्ते गर्दै मैले प्रार्थना गरें, “भैरैलाई केही नभएको होस् ।”
निकै बेर पछि सास व्यवस्थित भयो र छेउको मिठाइ पसलमा मागेर मैले एक जग पानी खाएँ । पसले साहू मलाई अचम्म मान्दै हेर्दै थियो । अनि पो मैले हेक्का गरें, मेरो कमीजको दुइतीनवटा टाँक पनि फुस्किसकेको रहेछ । म पसीनाले लथपथ भइसकेको रहेछु । मैले खिस्स हाँस्दै भनेँ,
“जुलुसमा गएर आएको । पुलिसले लखेट्यो ।”
अब उसको आँखामा म प्रति अर्कै भाव आयो । दुईवटा तात्तातो मालपुवा उसले म तिर बढायो र भन्यो,
“ना बाउचा थ्वँ ना ।”
मैले टाउको हल्लाउँदै भनेँ,
“मसँग पैसा छैन ।”
उसले मालपुवा मेरो हातमा जवर्जस्ती राखिदिंदै भन्यो,
“दाँ म्वाँ मामपाखा । कने कंस मन्ट्री जुइ धुंका पुसाँ ज्यू ।”
(पैसा पर्दैन । भोलिपर्सी मन्त्री भएपछि तिर्नू ।)
त्यतिबेला उसले भनेको केही नबुझे पनि उसको स्नेहिल स्वरलाई नकार्न नसकेर म त्यो मालपुवा चपाउँदै इन्द्रचोक हुँदै कोठा तिर फर्केँ । एउटा मालपुवा चाहिँ भैरेको लागि बचाएर राखेँ । भैरे म भन्दा पहिले नै कोठा पुगिसकेको रहेछ । मलाई देखेर दङ्ग पर्दै भन्यो,
“म त तैंले ढिंडेहरूको गोदाइ खाइस् कि भनेर डराइरहेको थिएँ ।”
उसले चाहिँ एक लौरो पनि खाएनछ । मेरो ढाडमा भने सुम्लो उठेको थियो । तीन दिनसम्म त बेस्मारी दुख्यो । त्यसपछि हामी दुबैलाई जुलुसमा जाने आँट आएन । भैरे र म परिवर्तन तिर उन्मुख समाजको मूक दर्शक मात्र भयौँ ।
(व्रजेश खनालको शुक्रबार सार्वजनिक उपन्यास अंशबाट)
धेरै लेखिएको छ. म किन लेखी रहेको छुं भन्ने कुरा लेखकमा स्पष्ट हुन जरुरी छ. पाठकले पनि म किन्न पढने भने स्पष्ट रहनु जरुरी छ. यो स्पष्ट नभई लेख्नु र पढ्नु दुबै अर्थहीन बन्न जान्छ्न. कसो ?
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Rajiv Neupane Reply: March 12th, 2013 at 11:41 am
hariom jee le bhanna khojnu bhayeko kura bujhiyena, lekhak le tyo samaye ko euta kalkhanda lai ta ramrari chitrit gareka chhan jasto malai lagyo…
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
ramro6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
i will read this novel sure.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro 6 bastabik jiban ko katha……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
WELL TRIED
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]