श्याम साह
ऊ असफल कथाकार थियो । उसले अहिले सम्म एउटा पनि सफल कथा लेखेन । लेख्न त सकथ्यो होला, तर उसले लेखेन । त्यसो त ऊ सफल पनि कहिँ थिएन ।
उसले एउटी केटीलाई तीन बर्ष सम्म एकहोरो प्रेम गर्यो । तिनले पनि उसँग राम्रै व्यहवार गर्थिन् तर प्रेम नै गर्दिनथिन् । जव उसले तिनीसँग आफ्नो प्रेमको प्रस्ताव राख्यो , त्यस पछि तिनले उसँग बोल्न पनि छोडिन् । यसर्थ ऊ असफल प्रेमी थियो ।
उसले विवाह गर्यो । स्वास्नी जागिरे थिइन् । उसले पनि जागिर नखोजेको होइन । धेरै खोज्यो तर पाएन । त्यसपछि ऊ स्वास्नीको लोग्ने मात्र भयो । घरभित्रको काम पनि उसले राम्ररी गर्न जानेन । त्यसैले स्वास्नीको अगाडि ऊ असफल लोग्ने सावित भयो ।
उसका एक छोरा र एक छोरी भए । उसले तिनीहरुका लागि पनि केहि गर्न सकेन । सवैथोक उसकी स्वास्नीले नै पुर्याउँदथिन् । त्यसैले छोराछोरीले पनि उबाट कमै आस गर्दथे । यसरी ऊ आफ्नो छोराछोरीको निम्ती असफल बुबा सावित भएको थियो ।
उसका साथीहरु पनि थिए । सबै खर्च गर्नमा एक से एक । त्यसैले तिनीहरु सफल पनि थिए । उसँग जागिर थिएन । पैसा थिएन । त्यसैले खर्च गर्न सकेन । त्यसैले साथीहरु माझ पनि ऊ असफल सावित भएको थियो ।
सबै किसिमको असफलता भोगेको थियो उसले र सबैलाई पचाएको पनि थियो । तर असफल कथाकार हुनुको पिडा भने उसले पचाउन सकेन । यसर्थ उसले निर्णय गर्यो । जीवनमा एउटा मात्र भए पनि सफल कथा लेख्ने ।
अब ऊ सफल कथाको बारेमा सोच्न थाल्यो । कस्तो कथा लेख्यो भने सफल हुन्छ ? ऊ घोरियो । एउटा कथालाई सफल कुन कुराले बनाउँछ ? बिषयवस्तु ? शैली ? भाषा ?…
ऊ विचार्न थाल्यो । असफलता नै सफलताको जननी हुन् । धेरै पहिले यो उक्ती उसले नैतिक शिक्षामा पढेको थियो । हुनसक्छ उसको सफल कथाको आधार तिनै असफल कथाहरूले दिन्छन कि ? त्यसपछि उसले आफूले लेखेका कथाहरु सम्झयो । र सँगसँगै त्यस कथाको बारेमा गरिएका टिप्पणीहरु पनि सम्झायो । त्यससँगै उसले केहि निश्कर्षहरू पनि निकाल्यो । जुन यस प्रकार थियो । पहिलोः उसको कथाको बिषयबस्तु अत्यन्त हलुका हुन्थ्यो । यथार्थ भन्दा धेरै परका काल्पनिक तथा उटपट्याङ किसिमको हुन्थ्यो । तसर्थ उसले गहन बिषयवस्तुमा कथा लेख्ने निर्णय गर्यो । त्यो पनि वास्तबिक र यथार्थ ।
दोक्षोः उसको कथा लेख्ने शैली परम्परागत थियो । जसले गर्दा उसका सबै कथाहरु एकै जस्ता देखिन्थे । तसर्थ उसले अत्यन्त आधुनिक शैलीबाट लेख्ने बिचार गर्यो । अझ उत्तरआधुनिक भन्दा पनि हुन्छ ।
तेश्रोः उसका कथाहरु प्राय मानविय संवेदना भन्दा परका हुन्थे । जसले मानिसहरुका मनमस्तिष्कलाई छुदैनथ्यो । अझ भनौ , उसका कथाहरुमा भोगाई नै हुदैनथ्यो । भावविहिन कथाहरु लेख्दथ्यो उसले । त्यसैले उसले मानविय संवेदनामा आधारित कथा लेख्ने सोच्यो । जसले मानिसका मनमस्तिष्कलाई प्रभावमा पारोस । अझ उसले कुनै पनि बिषयवस्तुको अनुभव नगरी नलेख्ने निर्णय गर्यो । किनकी सफल कथाको निम्ति उसकोलागि भोगाई आावश्यक थियो । र ऊ आफ्नो सफल कथाको निम्ती जे पनि भोग्न तयार थियो ।
अव भने उसले आफ्नो कथाको बिषयवस्तु खोज्न थाल्यो । मानिसलाई कुन कुराले सवैभन्दा बढि प्रभाव पार्छ ? उसको वास्तविकता ? उसको यथार्थ ? या सत्य ?
तर उसको यथार्थ र वास्तविकता त असफलता थियो । ऊ अहिले सम्म असफल कथाकार थियो । असफल प्रेमी थियो । असफल लोग्ने थियो । असफल पिता थियो । असफल साथी थियो ।
त्यसो भए के उसले आफनो असफलताको कथा लेख्नु ? ऊ जीवनको पहिलो र एक मात्र भए पनि सफल कथा लेख्न चाहन्थ्यो । किनकी ऊ असफलताबाट आजित भइसकेको थियो र । यस पटक ऊ कुनै जोखिम मोल्न चाहेन ।
त्यसपछि उसले अन्य विषयका बारेमा सोच्न थाल्यो । यस्तो विषयवस्तु जसले सम्पूर्ण मानवसमाजलाई प्रभाव पारोस । यस्तो विषयवस्तु जसले मानविय संवेदनाको प्रतिनिधित्व गरोस ।
सत्य , उसँग एउटा विकल्प अझै बाँकी थियो । तर सत्य के हो ? उसले देख्ने भौतिकता या अदृश्य आत्मा ? मानवजीवनलाई कुन सत्यले सवै भन्दाबढि प्रभाव पार्छ ?
उसले बिभिन्न दर्शनका दार्शनिक अभिव्यक्तीहरु सम्झयो । धेरैजसो सत्यहरु समयको सापेक्षतासँगै वदलिएका हुन्छन् । त्यो त समयसँगै त्यस विषयमा बदलिएका ज्ञानहरु हुन् । तर यस्तो सत्य जुन समय निरपेक्ष हुन्छ । ती केबल तीन छन् । जन्म, मृत्यु र परिवर्तन ।
अव ऊ तिनै विषयका बारेमा सोच्न थाल्यो । जन्म त एउटा सुरुवात मात्र हो र परिवर्तन एउटा प्रक्रिया । त्यस पछि त मानिस सदा मृत्युको छायाँ मुनि हुर्कन्छ । मृत्युको छायाँ मुनि बाँच्दछ ।
उसले देश सम्झयो । समाज सम्झयो । परिवेश सम्झयो । परिस्थिति सम्झयो । अनि सारा संसार सम्झयो । देशमा उसले जनयुद्घरुपि दशबर्षे मृत्युको ताण्डव नृत्य देख्यो । विश्वका विभिन्न ठाँउहरुका युद्घ र हमलाका चित्कारहरु सुन्यो । सँगै ठूला-ठूला प्राकृतिक आतंकमा कैयाँै जीवनहरुका विर्सजन पनि देख्यो । ती सवै मृत्युका निम्ती गरिएका प्रहशनहरु नै त थिए ।
पत्रिकाको अघिल्लो पृष्ठमा मृत्यु हुन्छ । टेलिभिजनको दृश्यमा मृत्यु छ । रेडियोको समाचारमा मृत्यु छ । कोहि खान नपाएर मरेका छन् । कोहि धेरै खाएर मरेका छन् । कोहि आफै मरेका छन् । कोहि मारिएका छन् । जन्मसँगै छोटिदै जान्छ जीवन । के को प्रभाव हो यो ? मृत्युको ।
अन्ततः उसले आफ्नो कथाको विषय पायो । उसले मृत्युको कथा लेख्ने निश्चय गर्यो ।
तर विषयवस्तु सुनिश्चतताले मात्र सफल कथाको आधार तय हुनेवाला थिएन । अव अर्को प्रश्न उसको दिमागमा फनफनि घुम्न थाल्यो । कसरी लेख्ने ? एउटा कुरा त तय थियो, उसले शैली नयाँ अँगाल्ने छ । किनकि उसका असफल कथाकारिताको पछाडि परम्परागत लेखनशैली पनि जिम्मेवार थियो । उसको लेखाइले मानविय संवेदनालाई छुनु पर्नेछ । उसको लेखाइमा भोगाई हुने छ । किनकि उसका अहिले सम्मका कथाहरु कुनै कल्पनालोकमा विचरण गरिरहेका जस्ता थिए । त्यसैले उसले निश्चय गरिसकेको थियो, उसले भोगाई लेखने छ । मानविय संवेदनालाई छुने छ । तर यसका लागि जरुरी थियो, अनुभव ।
तर मृत्युको अनुभव ? एक क्षण त ऊ तस्यो । मृत्यको बारेमा उसले कहिल्यै वास्ता गरेन । कस्तो हुन्छ मृत्यु ? कस्तो हुन्छ त्यसको भोगाई ? कसको मृत्यु लेखोस उसले ? आफ्नो ? आफन्तको ? या अर्काको ? ऊ आफै रणभुल्लमा पर्यो ।
उसले अहिले सम्म देखेका मृत्युहरु सम्झन थाल्यो र त्यसका बारेमा बुझाउन पनि खोज्यो । जव ऊ सानै थियो , एउटा दृघटनामा उसले आफ्ना आमा-बुवा दुबै गुमाएको थियो । त्यो उसले देखेको पहिलो मृत्यु थियो । तर ऊ त्यसलाई बुझाउने उमेरको भइसकेको थिएन ।
पारिवारिक सम्पन्नताले गर्दा उसले आˆनो वाल्यकाल स्कुलको छात्रबासमा बितायो । देख्न त उसले दश बर्षे जनयुद्घ पनि देख्यो । तर उसलाई त्यो कुनै पत्रिकाको “कभर न्युज” भन्दा बढि महत्वपूर्ण लागेन । न उसले त्यसलाई टेलिभिजनको समचारको “प्रमुख समाचार” भन्दा बढि महत्व नै दिए । किनकि त्यहाँ उसको आफ्नो भन्ने कोहि थिएन । तसर्थ अहिले सम्म उसले मृत्यु के हो बुझ्ने आवश्यकता नै ठानेन ।
तर अब भने उसलाई आवश्यक भयो । किनकि ऊ असफलताबाट आजित भइसकेको थियो । ऊ एउटा सफल कथा लेख्न चाहन्थ्यो । त्यहि मृत्युबोधको आवश्यकता महशुससँगै उसले कथा लेख्न सुरु गर्यो । जसको मुख्य पात्र ऊ आफै थियो । जहाँ उसले मृत्युको अनुभव र कथा सँगसँगै सुरु गर्यो ।
शिर्षकः मृत्युको कथा
भूमिकाः
यो कथा मैले भूमिकावाट नै लेख्न सुरु गर्ने निर्णय गरेँ । कथामा भूमिका ? सुन्दा पनि अचम्म लाग्न सक्छ । तर यो मेरो प्रथम र अन्तिम सफल कथा हुनेछ । जसका लागि मैले जहाँबाट पनि सुरु र जसरी पनि अन्त्य गर्ने विचार गरेको छु ।
जब मैले मृत्युवोधको आवश्यकता महशुस गरे , निर्णय लिन धेरै नै गाह्रो भयो । मृत्युको कुन रुपको बोध गर्न सकिन्छ ? मृत्युको कुन कुराको बोध गर्न सकिन्छ ? सायद एकै पटकमा मस्तिष्कले सोच्न छोड्नु , मुटुको ढुकढुकी बन्द हुनु र फोक्सोले साँस फेर्न बन्द गर्नु यहि नै मृत्युको क्षण हुदो हो । जसको समय सायद एक मिनेट भन्दा पनि बढि हुदैन होला । त्यसो भए मृत्युको कुन कुराको बोध गर्न सकिन्छ ?
मृत्यु त एउटा परिणाम हो । जसका कारणले जे पनि हुन सक्छ । यो अमूर्त हुन्छ तर शाश्वत पनि छ । मृत्यु परिणाम हो र यो शाश्वत पनि छ । त्यसैले यसको प्रभाव सवै भन्दा बढि हुन्छ । मानिसलाई प्रभाव पार्ने पनि यहि परिणामले हो । यसर्थ मैले लेख्ने पनि परिणाम हो । मृत्युको परिणाम र मृत्युको परिणामको प्रभाव । तर यसको लागि मृत्यु आवश्यक छ । मृत्यु , तर कसको ? आˆनो ?आफन्तको ? या अरुको ?
अरुको मृत्यु मैले नदेखेको होइन । तर यसको वोध भने कहिले गर्न सकिन । किनकि तिनिहरु प्रति मेरो कुनै पनि किसिमको भाव नै थिएन । वोध गर्नलाई भाव चाहिन्छ । त्यो मैले अरुप्रति कहिल्यै ल्याउन सकिन । न त म तिनीहरुको पिडा नै अनुभव गर्न सक्थेँ । न त तिनीहरुसँगको विछोडले मलाई छुन्थ्यो । त्यसैले अर्काको मृत्युको कथा मैले लेख्न सकिन ।
त्यसपछि बाँकी कि म थिए की मेरा आफन्तहरु । कसको मृत्यु लेख्नु मैले ? मेरो ? स्वास्नीको ? छोराको ? छोरीको ? लेख्न त मैले सबैको पर्ने छ । एक क्षण त लाग्यो , के म मानव बाँकी रहेछु त ? मैले कुनै हत्याको तयारी गर्दैछु या कथाको ?
कति फरक छ हत्या र मृत्युमा ? एउटा मानिसको असामयिक मृत्यु हत्या हो कि मृत्यु ? एउटा मानिस दृघटनामा मर्नु हत्या हो कि मृत्यु ? भोकमरीमा हजारौ मर्नु हत्या हो कि मृत्यु ?युद्घमा मानिस मारिनु हत्या हो कि मृत्यु ? एउटा मानिस मात्र मारिनका लागि मर्नु हत्या हो कि मृत्यु ? हत्याको परिणाम स्वतः मृत्यु हो । तर सवै मृत्यु हत्या होइन ।
मैले त मृत्युको कथा लेख्नु छ । किनकि मैले सफल कथा लेख्नु छ । असफलताको पिडाले मेरा सारा भावनाहरुलाई सजिलै पन्छ्याइदियो ।
मैले मेरो जीवनमा चिनेको सवैभन्दा नजिकको भनेको नै मेरो परिवार हो । मैले अव तिनिहरुको मृत्यु लेख्ने छु । मेरो जीवनको सबैभन्दा गाहृो निणर्य थियो त्यो । यसको मतलव यो होइन कि म तिनिहरुलाई माया गर्दिन । तर यो सत्य हो, सवै भन्दा बढि माया म आफूलाई गर्छु । सबले आफूलाई सबैभन्दा बढि माया गर्छ । र मैले आˆनो निम्ती मेरा सम्पूर्ण परिवारको मृत्युको निर्णय गरे ।
छोरीः
एक साँझ मेरी छोरीको मृत्यु भयो । त्यो दिन पनि अरु दिनहरु जस्तै थियो । कुनै शनिबार थिएन । छोरा छोरी दुवै स्कुलवाट फर्केका थिए । मेरी स्वास्नी पनि अफिसबाट फर्किसकेकिथिइन् । म त सदा झै त्यहिँ छदै थिएँ । सारा परिवार त्यहिँ थियौं ।
सुरुमा तिनको पेट दुखेको थियो । एक्कासी नै दुखेको भन्नु पर्छ । किनकि स्कुलवाट फर्कदा सम्म तिनी दाजुसँग झगडा गर्दै थिई । पेट दुखेको बेला तिनी कहिल्यै झगडा गर्दिनथी । बरु दुबै हातले पेट समात्दै कराउँथी,
” बाबा पेट दुख्यो..”
अनि रुन थाल्थी । सायद त्यस दिन अलि नै बढि दुखेको थियो । तिनी कराइन । चिच्याइी । अनि पेट समातेर भूँईमा लडी ।
हामी सबै आत्तियौँ । कारणहरु भिन्न भिन्न थिए । सबै भन्दा बढि छोरो आत्तियो । किनकि केहि क्षण अघि सम्म ऊ बहिनिसँग झगडा गर्दै थियो । गर्न त उसले केहि पनि गरेको थिएन । तर पनि आत्तियो । त्यसपछि स्वास्नी आत्तिई । आमा न हो , तिनि दौडिन् । छोरीलाई अङगालोमा लिइन् ।
” मेरी छोरी के भो ? ..”
तिनी चिच्याइन् । आत्तिदै तिनले छोरीको अनुहार छामिन् । नाडी समातिन् । तिनको सांस जाँचिन् । सबै हतार हतार गर्दैथिइन् । तिनका आँखा पनि भिजिसकेका थिए ।
” सुनिस्योस न ! “
तिनले मलाई बोलाएकी थिइन् ।
” लौन छोरीलाई के भयो ? …अझै उभिरहनु भएको छ । छिटो डाक्टर बोलाउनु पर्यो । … “
म त्यहाँ पनि असफल सावित भएको थिएँ । तिनी र म सँगै छोरीको नजिक पुगेका थियौँ । तर तिनले नै सवै भन्दा पहिले छोरीलाई अँगालोमा लिइन् । म उभिरहे । तिनी विलौना गर्दै थिइन् । म भने मूकदर्शक भएको थिएँ ।
“आमा …..आमा…..”
छोरी बेहोशीमा बर्बराउदै थिई । सायद भित्रभित्रै छटपटिएकी थिई । अरु वेला तिनी बाबा नै खोज्थी । तर यति बेला भने आमा नै कराउँदै थिई ।
म डाक्टर वोलाउन बाहिर निस्के । एउटा कुराको जानकारी गराइ हालुँ । हामी वस्ने घर सडक भन्दा करिव बीस मिनेट भित्रको गल्लीमा पर्छ । र नजिक कुनै क्लिनिक वा अस्पताल छैन ।
यसर्थ बीस मिनेटमा म सडकमा आए । दश मिनेट क्लिनिक खोज्नमा लाग्यो । दश मिनेट जति डाक्टरलाई कुर्नु पर्यो । त्यस पछि पुनः डाक्टरलाई लिएर आउन बीस मिनेट भन्दा वढि लाग्यो ।
यसरी एक घण्टा भन्दा बढि नै लाग्यो मलाई फर्किन । स्वास्नी, छोरा र छोरीले एक घण्टा भन्दा बढि कुरे हामीलाई । तर मृत्युले कुरेन । मृत्युले कसैलाई कुर्दैन ।
म आउँदा छोरी मरिसकेकी थिई । छेउमा डाक्टर थिए । एक पटक उसले तिनको नाडी छाम्यो । अनि आँखामा हेर्यो । र म तर्फ फक्र्यो ।
” माफ गर्नुहोला ! तपाइकी छोरी जिउँदी छैन । ” डाक्टर पनि खुब चिन्तित देखियो त्यसवेला । तर ऊ साँच्चैको चिन्तित थियो वा वनावटी । त्यो मलाई थाहा भएन । तर उसले आफ्नो फिस हात पारेपछि हिँडेको थियो ।
त्यसपछि हामी मात्र भयौँ त्यहाँ । म ,मेरी स्वास्नी , छोरा अनि छोरी । तीन जीवित एक मृत । दुई जनाको चित्कारले पुरै घर गुन्जियो । दुई जना चुपचाप थियैा । आमा छोरा बिलौना गर्दै थिए । म र छोरी मौन थियौँ । मेरी स्वास्नी छोरीमाथि घोप्टिएर रुदै थिई । छोरा बैनी भनेर चिच्याउँदै थियो । तर म र मेरी छोरी अचल भएका थियौँ । छोरी त मृत थिई । तर म ? म किन रोइन । वाचुन्जेल छोरी सवैभन्दा बढि मेरै नजिक थिई । के मलाई तिनको माया थिएन ?
आमा छोराको चित्कार गुन्जिन थालेपछि छरछिमेकहरु पनि आउन थाले । सबैका अनुहारमा संवेदनाका भाव थिए । तर त्यो बनावटी थियो या वास्तविकता । त्यो तिनीहरुलाई नै थाहा होला । थाहा पाउन त तिनीहरुले मेरी छोरी चिच्याएर लड्दा देखि नै थाहा पाएका थिए । किनकि म डाक्टरलाई बोलाउन बाहिर निस्कदा तिनीहरु सबै बाहिर बसेर हेरिरहेका थिए । मलाई डाक्टर लिएर आउन एक घण्टा भन्दा बढि समय लागेको थियो । त्यो अवधिभर आमा र छोराले चिच्याएरै बिताएका थिए । तर त्यसबेला सम्म कोहि पनि आएका थिएनन् ।
यो काठमाण्डौ न हो । यहाँ यस्तै हुन्छ । म पनि त यहाँ आएका जति सवैलाई चिन्दिन । धेरैलाई देखेको मात्र छु । तर चिनेको छुइन । यहाँ जे पनि आवश्यकताले गराउँछ । हिजो सम्म चिनि राख्नु आवश्यकता थिएन । तर अहिले भयो । त्यो पनि मलामीको निम्ती ।
उमेरमा सानै थिई मेरी छोरी । मात्र सात वर्षकी भएकी थिई । त्यसैले त्यो तिनको अस्वाभाविक मृत्यु थियो । त्यसैले प्रश्नहरु धेरै उठे । विहान के खाएकी थिई ? दिउसो के खाई ? कहाँ गएकी थिई ? कसरी मरी ? किन मरी ?
मानिस किन मर्छ ? कसरी मर्छ ? त्यो त मैले आफै पनि बुझ्न खोजेको थिएँ । विहान तिनी आमाले वनाएको खाना वाहेक केहि पनि खाएकी थिइन । दिउँसो खाजामा चाउचाउ खाएकी थिई । स्कुल बाहेक अन्त कहिँ गएकी थिइन । र पनि मरी ।
त्यस पछिका केहि दिनहरु धेरै अप्ठयारोसँग बिते । एउटा चलिआएको दैनिकीमा एक्कासी परिर्वतन भएको थियो । स्वास्नी , छोरा र छोरी सबै एकै पटक घरबाट निस्कन्थे । स्वास्नी अफिस जान्थी । छोराछोरी स्कुल जान्थे । र र्फकदा पनि एकै पटक र्फकन्थे । छोरी र्फकने बितिकै बाबा भन्दै मेरो काँधमा झुण्डिथी । फेरी दुवै टिवीमा तिनलाई मन पर्ने कार्टुन हेर्थ्यौँ । केहि क्षण पछि आमा आउँथी । अनि बुवाछोरी गाली खान्थ्याँै ।
तर अहिले घर स्तब्ध छ । शान्त छ । कोलाहल अहिले सन्नाटामा परिवर्तन भएको छ । अहिले कसले कतिबेला के गर्दैछ , कसैलाई पत्तो हुदैन । जहाँ पनि छोरी अनुपस्थित छिन् । छोरासँगको झगडामा तिनी अनुपस्थित छिन् । आमाको गाली सुन्ने बेलामा तिनी अनुपस्थित छिन् । के तिनको अनुपस्ेिथति नै मेरो निम्ति तिनको मृत्युबोध हो त ?
घरको सुत्ने कोठामा ओछ्यानको ठिक अगाडी हामी सपरिवारको फोटो झुण्डिएको छ । चारैतिर फूलैफूल भएको प|mेममा सजिएको फोटोमा मेरी छोरी मुसुक्क हाँसेकी छिन् । एउटा निर्दोष हासो । जहाँ तिनी फूल जतिकै कोमल र निश्चल देखिएकी छिन् । विहान उठ्दा पहिलो आँखा नै हाम्रो त्यहीँ पथ्र्यो । र प्रत्येक विहानले हामीलाई तिनको अनुपस्थितीको वोध गराउने गरेको थियो ।
एक रात छोरी मेरो सम्मुख आई । पुरै सेतो लुगामा थिई तिनी । त्यो त्यही लुगा थियो जुन हामीले तिनलाई चिहानमा गाड्ने बेलामा लगाई दिएका थियौँ ।
तिनी स-शरीर उपस्थित भएकी थिई । तिनका लामा लामा कपाल खुला तथा छरपस्ट भएका थिए । जिउँदो छँदा तिनका आँखा कालो थियो । तर यस बेला पुरै निलो भएको थियो । तिनी सोझै मेरो छातीमा वसेकी थिई । जव तिनी जिउँदी थिई । तिनी त्यसै गरेर मेरो छातीमा वस्थी । अनि कथा सुनाउन जिद्दी गर्थी । जब म सुनाउदिनथे । तनी मेरो मुख चिथोर्न खोज्थी ।
तर यस बेला तिनले त्यसतो कुनै जिद्दी पनि गरिन । सिधै हात अगाडी तिर बढाई । तर तिनले मेरो मुख चिथोरिन । सिधै मेरो घाँटी समाती ।
मेरो सास रोकिन थाल्यो । उफ् ! कति कडा भएको थियो तिनको हात । त्यती धेरै कोमल हात कसरी यति कडा भए ? उकुस मुकुसले म छटपटिन थाले । मैले तिनको हात समाते र आफूलाई छुुटाउन खोजे । तर यो के भएको मलाई ? उफ । म चलमलाउन पनि सकिरहेको थिइन । शरीरका सारा शक्ती मानौ तिनले सोसिरहेकी थिई । र तिनका सामु म पुरै निरिह भएको थिए । र पनि सारा शरिरको वल एकत्रित गरे र जोडसँग उठे । मेरो उठाइसँगै सिरक परसम्म उछिटिएको थियो । एक्कासी म त्यसरी उठ्दा स्वास्नी पनि उठी । जाडोको चिसो रातमा पनि मेरो शरिर पसिनाले भिजेको थियो । साँसको गति पनि तिव्र भएको थियो । निकै आत्तिएको थिएँ म । म त्यसरी आत्तिएको देखेर स्वास्नी पनि आत्तिई ।
के भयो ?… तिनले त्यति मात्र सोधी ।
मेरो मुटुको गति अझै कम भएको थिएन । साँस वल्ल राम्ररी लिन पाएको थिएँ । मुखवाट एउटा मात्र शब्द निस्कयो । ” छोरी ! ..”
तिनी उठिन् । वत्तीको स्विच अन गरिन् । वत्तीका उज्यालो एकै पटक कोठा भरी फैलियो । आँखा एक क्षण तिरमिरियो । लगतै फेरी अगाडी भित्तामा झुण्डिएको फोटोमा अडियो । मेरी छोरी अझै मलाई हेरेर हाँसिरहेकी थिई ।
जीवनमा पहिलो पटक ऐठन परेको थियो मलाई । त्यो पनि आˆनी छोरीको हातबाट आˆनै घाँटी निमोठिएको थियो । एउटा भयङकर सपना थियो त्यो ।
त्यस पछि त्यसता ऐठनका रातहरु पनि धेरै आए । मैले मात्र होइन , मेरी स्वास्नीले पनि छोरीलाई सपनामा धेरै पटक देखिन् । तिनको सपनामा छोरी आमा भनेर चिच्याउँथिन् अरे । जब तिनी पनि रुन थाल्थिन् अनि मैले बिउँझाउँनु पथ्र्यो । छोराले पनि सपनामा छोरीसँग धेरै झगडा गरे । तर अहँ तिनले कसैलाई पनि म जस्तै गरी घाँटी समातिन । मलाई जस्तै गरी कसैको घाँटी निमोठिन ।
त्यस पछि स्थिति अलि सामान्य हुन थाल्यो । छोरीको मृत्युले परिवारमा एक किसिमको मौनताको निमार्ण गरेको थियो । सबै मौन देखिन्थे । सबै एक किसिमको पिडाले गुमसुम देखिन्थे । तर मानविय आवश्यकताले सबैले आफ्नो मौनता तोड्न बाध्य भए । छोरा फेरी स्कुल जान थाल्यो । स्वास्नी अफिस जान थालिन् । म प्राय घरमै बस्ने गर्थे । हिजो पनि आज पनि । कहिले काहीं साहित्य सेमिनार तिर पुग्थे । सबै कुरा पहिले जस्तै हुन थाल्यो । तर एउटा कुरा भने कायम रहृयो । छोरीको अनुपस्थिति ।
छोराः
सुक्रबार भएकोले त्यो दिन छोरा चाडै स्कुलबाट घर फर्केको थियो । उसले गृहकार्य पनि चाँडै सकेको थियो । त्यस पछि खाजा खाइसकेर ऊ खेल्न भनि हिडेको थियो । यसरी खेल्न भनेर ऊ प्राय जसो सधै निस्कने गरथ्यो ।
मेरी स्वास्नीले अफिसवाट आउने वितिकै छोरा खोई भनेर सोधिन् । उनी आउने बितिकै सधै त्यसै गरी नै सोध्थी । र म सधै त्यसै गरि भन्थे , खेल्न गएको छ । छोरा पनि पाँच बजे देखि छ बजे भित्र आफै र्फकने गरथ्यो । तर त्यस दिन ऊ फर्केन । त्यसरी नफर्के पछि तिनी आत्तिइन् ।
” खै छोरा ? अझै फर्केन त ? “
छोरा ठूलो भइसकेको त थिएन । तर सानो पनि थिएन ।
” आइहाल्छ नी ! साथीहरुसँग होला । “
तर ऊ आएन । अव स्वास्नी मात्र हैन । मैले पनि आतिनुपर्ने भयो । किनकि असफल वुवा त म यसै पनि सावित भइसकेको थिएँ । म हातमा टर्चलाइट वोकेर निस्के ।
सवै भन्दा पहिले म छोरा खेल्ने ठाउँतिर गए । एउटा सानो चौर जस्तो थियो त्यो । तर काठमाण्डुका लागि भने त्यो ठूलो नै थियो । चारैतिर हेरेँ । पर एउटा रुखको तल एकहूल केटाहरु उभिएको जस्तो लाग्यो । नजिक पुगेँ । देखें , तिनिहरु मध्य कोहि चुरोट खाँदै थिए । कोहि चुरोट खालि गरिरहेका थिए । कसैले हातमा खैनी मले जस्तै केहि मल्दै थिए । परवाट आएको गाँजाको वास्नाले एक क्षण मेरो टाउको रिङ्ग्यायो ।
म त छोरा खोज्न हिडेको थिएँ । नियाले , तिनीहरु मध्ये कोही पनि मेरो छोरा जस्तो थिएनन् । न त कोही मेरा छोरा जत्रो नै थिए ।
” बाबु , तिमीहरुले मेरो छोरालाई देख्यौ ? “
हुन त तिनीहरुले मेरो छोरालाई चिन्दैनथ्यो होला । काठमाडौमा कसैले पनि कसैलाई विनाकारण चिन्दैन । अझ मेरो छोरा तिनीहरु जस्तो गाँजा खाने उमेरको पनि भइसकेको थिएन । तर मसँग सोध्ने कारण थियो । । मेरो छोरो त्यहाँ सधै खेल्न आउँथ्यो ।
” हामीलाई के थाहा ? “
म एक क्षण अवाक भए । तिनीहरुलाई थाहा छैन त्यो त मलाई पनि थाहा थियो । तर मलाई यस्तो उत्तरको अपेक्षा भने थिएन । मलाई आसा थियो । कम्तिमा पनि तिनिहरुले मेरो छोरा कस्तो छ भनेर सोध्नेछन् । अनि देखे वा नदेखेको कुरा गर्ने छन् । तर त्यसो भएन ।
म त्यहाँवाट हिँडे । पर पुगुन्जेल सम्म पनि तिनिहरुले खाएको गाँजाको गन्ध आइरहयो । पछाडि फर्केर हेरे । अँध्यारोमा रुखमूनि बलिरहेका चुरोटका ठुटाहरु जुनकिरी जस्तै झिलिक झिलिक गरिरहेका थिए ।
त्यस पछि मैले सारा बजार चहारेँ । छोरालाई म.म. साह्रै मन पथ्र्यो । त्यसैले मैले चोकका सारा म.म. पसल नियाले । ऊ घरमा कहिले काही कमप्युटरमा गेम खेल्न निकै झगडा गथ्र्यो । त्यसैले वरपरका सबै साईवर र गेम खेल्ने ठाँउ चाहारेँ । तर अहँ छोरा कहिँ भेटिएन ।
कुनैकुनै बेला मनमा आशाका त्यान्द्रो झिलिक्क गरि आउँथ्यो । कहि मेरो छोरा घर त फर्किसकेको छैन । सवैतिर खोज्दा पनि छोरा भेटिएन । अन्ततः घरलाई अन्तिम आशाको केन्द्रविन्दु बनाई फर्के ।
घर परैवाट सुनसान देखिन्थ्यो । सुनसान त छोरी मरेदेखिनै हुन थालेको थियो । तर मसँग फर्किनु वाहेकको विकल्प थिएन । छोरा घर फर्केको होला कि भन्ने आशाले मुटुको गति अलि तेज नै थियो । मैले ढोका ढकढकाएँ । स्वास्नीले ढोका खोलिन् ।
” छोरा खोई ? “
स्वास्नीको त्यो प्रश्नसँगै आशाको सानो त्यान्द्रो समेत भाँचियो । छोरालाई खोज्दा खोज्दै मेरो ओठमुख त्यसै पनि सुकिसकेको थियो । अझ स्वास्नीको त्यस प्रश्नले म कालोनिलो भए ।
एक त यसै पनि रात परेको थियो । घरको उज्यालो पनि एक्कासी अन्ध्यारो जस्तो भयो । म त्यही थुचुक्क बसेँ । स्वास्नीले पनि कुरा बुझिन् । त्यसपछि तिनी रुन थालिन् । चिच्याउन थालिन् । तिनले त्यो भन्दा वढि के नै गर्न सक्थिन् र ?
काठमाण्डुमा कोलाहल दिउँसो जति चर्को हुन्छ राती त्यती नै स्तब्ध र शान्त पनि हुन्छ । अझ यहाँका स-साना गल्लीहरु साँझसँगै मौनताको सिरक भित्र सुत्छन् ।
स्वास्नीको चित्कारले त्यो टोलको मौनतालाई भङ्ग गरयो । वरपरका छरछिमेकीहरु पनि आए । छोरीको मृत्युपछि तिनीहरु आउन थालेका थिए । सुरु-सुरुमा तिनीहरु सहानुभुति दिन आउँथे । त्यस पछि साना-साना काम पर्दा पनि आउन थालेका थिए ।
हामीले छोरा हराएका थियौँ । त्यसैले कोहि दयाको भाव लिएर आए । कोही सहानुभुतिका शब्द लिएर आए । कोही ढाडस लिएर आए । यसरी घरभरी छिमेकीहरु जम्मा भए ।
सबै मिलेर फेरी एकपटक जानेवुझेको ठाँउमा खोजीनिती गरे । तर पाएनन् । त्यसपछि खोज्नका लागि विभिन्न उपायहरु अवलम्बन गर्नु पर्ने भयो । स्वास्नी त केवल रोई मात्र रहिन् । तिनका लागि सजिलो पनि त्यही थियो । तर म भने दोधारमा थिए । म के होऊँ ? चिन्तित भएर रोउँ कि छरछिमेकीले भनेको उपायमा दौडुँ ?
सवै भन्दा पहिले हामी प्रहरी चौकी गयौँ । छोरा हराएको रिपोर्ट दर्ज गर्न गएका थियाँै हामी । तर उल्टो तिनीहरुले हाम्रै सातो खाने गरी प्रश्नहरु तेर्स्याए । कति बेला हरायो ? कसरी हरायो ? किन हरायो ? मानौ हामी भित्र नै छ हाम्रो छोरा । र हामी कुनै लुकामारीको खेल खेल्दै थियौँ ।
त्यसपछि तिनीहरु मेरो छोराको हुलियाको वरेमा सोध्न थाले । उमेर कति भयो ? उचाई कत्रो छ ? रंग कस्तो छ ? लुगा कस्तो लगाएको छ ? कपालको रंग कस्तो छ ? मनस्थिती कस्तो छ ? …
सबै प्रश्नका उत्तरहरु मैले नै दिनु पर्थ्यो । छोराको फोटो लिएर तिनीहरुले रिपोर्ट लेखे । र त्यसलाई फाइलमा च्यापे । लेख्ने पुलिसले त्यसपछि लामो सास फेरयो । मानौ तिनीहरुको काम सकियो । अब त्यो फाइल आफ से आफ उठ्ने छ र छोरा खोजेर ल्याइदिने छ । हामी सवै उभिरहयौँ । त्याहाँ म वाहेक मेरा केहि साथीहरु र छिमेकीहरु पनि थिए । सबैका मुहारमा अन्यौलका भाव थिए ।
” अब तपाईहरु जानुस । केहि पत्ता लाग्यो भने हामी खबर गर्छैा । “
उसले आफ्नो काम सकिएको देखाउन खोज्दै थियो । र अव त्यहाँ हाम्रो कुनै काम छैन भनेर जानकारी गराउन चाहेको थियो ।
‘…बरु तपाई आफ्नो सम्पर्क नं दिनुहोस ।’
ऊ सिधै म तिर फर्केर भन्यो । मैले मेरो फोन नम्वर दिएँ । त्यस पछि हामी सवै फक्र्यैां एउटा अनिश्चित आशा लिएर ।
मेरो छोरा भेटिसकेको थिएन । न त भेटिने कुनै ग्यारेन्टी नै थियो । त्यसैले प्रहरीमा रिपोट दर्ज गराएर मात्र सन्तुष्ट हुने कुरा भएन । न त म सन्तुष्ट थिए । नत मेरा वरपरका मानिसहरु नै । त्यसैले अर्को प्रयास पनि जारी राख्ने कुरा भयो । विभिन्न सञ्चारका माध्यमहरुमा सुचना दिने । पहिलो सुचना एफ.एम रेडियोमा बज्यो ।
बालक हराएको सुचना । ……नाम गरेको ,चार फिट अग्लो ,गहुँगोरो वर्ण भएको ,अन्दाजी बाहृ बर्षको , निलो ट्राउजर र कालो टिसर्ट लगाएको बालक यहि मिति … गते देखि … बजारबाट हराएको हुँदा फेला पार्नु हुने महानुभावहरुले सम्पर्क न. …. अथवा नजिकैको प्रहरी चौकीमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछाँै ।
अर्को सुचना टेलिभिजनमा आयो । मेरो छोरा मुसुक्क हाँसेको तस्वीरमा उसको सम्पूर्ण विवरण सहित आएको थियो ।
राति अवेर सम्म धेरै किसिमको पहलहरु गरिए । त्यस पछि मानिसहरु विस्तारै निस्कन थाले । छिमेकीहरु आफ्नै घरमा गए । साथीहरु मध्ये केहि त्यहिँ बसे ।
घरमा त मुर्दाशान्ती छोरीको मृत्यु देखि नै ब्याप्त थियो । स्वास्नी रातभर सुतिनन् । रोई मात्र रहिन् । तिनी आफू आमा भएको प्रमाणित गर्दैथिइन् । तर म ? म किन रोइन ? बुवा त म पनि थिएँ । कराउनु त मैले पनि पर्ने हो । तर यो आँशु किन आउदैन हँ ? यत्रा साथीहरु छन् । विलौना त मैले पनि गर्नु पर्ने हो । तर मैले सकिन । अझ खासमा भन्नु पर्दा मैले जानिन । असफल पिताको दर्जा मैले त्यसै कहाँ पाएको थिएँ र ?
भोली पल्ट मेरो छोराको विषयमा धेरै किसिमका सम्भावनाहरु आए ।
त्यस मध्येको पहिलो सम्भावना थियो अपहरणको । लोकतन्त्रको एउटा उपहार देश भरि व्याप्त थियो । देशको सवै भन्दा स्थापित डाक्टर उपेन्द्र देवकोटाकी छोरी अपहरण भएको धेरै भएको थिएन । हुन त अपहरण , हत्या , लुटपाट जस्ता अपराधिक घटना लोकतन्त्र भन्दा अगाडी नभएका होइन । तर हतियार क्रान्तिको मनोविज्ञानको प्रभाव भन्नु पर्छ । लोकतन्त्र पछि त्यसको त वाढी नै आएको थियो । एउटा सम्भावना मेरो छोराको अपहरणको पनि थियो ।
तर अपहरण के का लागि ? यदि फिरौतीका लागि हो भने त अहिले सम्म त खबर आइसक्नु पर्ने हो । फोनवाट वा अन्य अर्को माध्यमवाट धम्की त पठाई सक्नु पर्ने हो ।
” तिम्रो छोरा हाम्रो कब्जामा छ ….पैसाको व्यबस्था गर । नत्र .. “
यो कुरा त हामी दुवै लोग्ने स्वास्नी सुन्नका लागि तयार थियौं । कम्तिमा पनि यसले हाम्रो छोरा जिउँदो छ भन्ने कुराको जानकारी त गराउँथ्यो । त्यो धम्कीको आस पनि हामीले साँझ सम्म ग-यौं । तर आएन । त्यसो त फिरैातीका लागि नै हुन्थ्यो भने तिनीहरु हामी पुलिस कहाँ पुग्नु भन्दा अगावै सम्पर्क गर्नु पथ्र्यो । तर हामी प्रहरीकहाँ पनि पटक पटक पुगिसकेका थियांै । तर छोरा भेटिएन ।
अब मेरो छोरा बेपत्ता भयो । हिजो सम्म त हराएको मात्र थियो । अव बेपता भयो । जीवन र मृत्यु विचको दोसाँध हो त्यो । हुन त द्वन्दकालमा हजारौ परिवारले त्यसतो अवस्था भोग्नु परेको थियो । तर हाम्रो लागि भने नितान्त नौलो थियो ।
मृत्युको त हामीले कल्पना समेत गर्न डराएका थियौं । जिवित हुनुको आशासँगै निरासाजनक सम्भावनाहरु मात्र हाम्रो अगाडी आउँथे ।
अर्को सम्भावना थियो तस्करीको । मानव तस्करी अव त्यति नौलो रहेन नेपाली समाजमा । लागु औषधको तस्करी । जनावरका सामानको तस्करी । रtmचन्दनको तस्करीसँगै मानव तस्करी पनि उत्कर्षमा छ अचेल । चेलीबेटी बेचबिखन पनि एउटा तस्करी नै त हो । तर मेरो त छोरा थियो । नावालकै थियो । वालकहरुको पनि तस्करी छ । त्यो त हामीले पटक-पटक प्रहरी चौकी पुगे पछि थाहा पाएका थियौं ।
दुई जना मानिस पोखराबाट म जस्तै गरी छोरा खोज्न काठमाण्डौ आईपुगेका थिए । हुन त उनकेा छोरा अलि पहिले नै हराएका थियो । तिनीहरुले पनि आफु सकुन्जेल चारैतिर खोजिसकेका थिए । तर पाएका थिएनन् । सायद पाउने आश पनि मारेका थिए । तर एउटा समचारले तिनीहरु झस्के ।
बीरगंजमा एउटा वालक अपहरणकारीको कब्जाबाट भागेर आˆm्नो परिवारको सम्पर्कमा पुगेका थिए । तिनीहरु पनि हतार-हतार बीरगंज पुगेका थिए । आशा भनेको आशा नै हो । प्रहरीको मदतले सारा ईलाकामा छापा मारियो । नभन्दै एउटा कोठामा उसको छोरा वेहोस अवस्थामा भेटिएको थियो । नसाले वेहोस बनाइएको थियो उसलाई ।
त्यो एउटा गिरोह थियो । जसले सिमापारी लगेर तिनीहरुका अङगको तस्करी गर्ने गर्दथे ।
मेरो छोरा जिवित हुनुको एउटा आशा त्यो पनि थियो । केहि मानिसहरु सहित हामी पनि बीरगंजको कुनाकाप्चा चहायौं । अझ रक्सौलका गल्लीहरुमा पनि खोज्यौं । त्यहाँका प्रहरीले पनि खुबै प्रयास गरे । तर मेरो छोरा भेटिएन ।
दोश्रो दिन पनि छोरा भेटिएन । दिन जति बित्थे जीवनका आशा त्यती नै क्षिण हुदै जान्थो । मृत्युको त्रास बढ्दै जान्थ्थो । निरासाले पनि प्रमाण खोज्दछ । मेरो छोराको कुनै नामोनिसान भेटिएको थिएन । अनिश्चितता अझै दुखद हुन्छ । तर दुःख सँगै त्यहाँ आश पनि हुन्छ ।
तर सारा आशाहरुलाई समाप्त पार्दै तेश्रो दिन मेरो छोराको लाश भेटियो ।
एका बिहानै थियो । चारैतिर अन्धकार ब्याप्त थियो । मात्र बितेको समय र शितलताले बिहानीको जानकारी गराउँथ्यो ।
फोनको घण्टी एकहोरो वजिरहेको थियो । स्वास्नी रुदा-रुदै निकै ढिलो निदाएकी थिइन् । निदाउन त म पनि ढिलै निदाएको थिएँ । तर रोएको भने थिइन । तिनका दुवै आँखा सुनिएका थिए ।
तिनी निद्रामै थिइन् । मैले फोन उठाए । प्रहरी निरिक्षकले गरेको रहेछ । सबै भन्दा पहिले उसले मेरो नाम सोध्यो । मैले पनि नाम बताएको थिए । त्यसपछि उसले मेरो छोराको बारेमा सोध्यो । मैले पनि छोरा हराएको सम्पूर्ण जानकारी दिएँ । अन्ततः उसले आˆनो कुरा राखेकको थियो ।
“यहाँ तपाईकै छोराको उमेरको लास भेटिएको छ । तपाई छिटै शङखमुल नजिकैको वागमति पुलमा आउनुहोस । “
एक क्षण त सारा संसार नै थामिए जस्तो भयो । म छु वा छैनको दोधारमा जडवत उभिरहें । मैले त मेरो छोरा खोजेको थिए । लास हैन । त्यसो भए के मेरो छोरा जिवित रहेन त ?
स्वास्नीलाई उठाउँ की नउठाउँ ? ठुलो दोधार भयो । मैले मेरो नजिकको साथीलाई फोन गरे । तर स्वास्नीलाई उठाइन । खै कुन डरले अत्याएको थियो मलाई । मैले तिनलाई थाहा दिन सकिन । यदि मैले सक्ने भए तिनलाई जीवन भर थाहा दिने थिइन ।
म शंखमुलको पुलमा पुगें । प्रहरीको भ्यान त्यहाँ नजिकै राखिएको थियो । उज्यालो अझै भएको थिएन । त्यसैले मानिसको चहल पहल पनि निकै कम थियो । नजिक मैले केहि पनि देखिन । दुई जना प्रहरी भ्यान नजिकै उभिरहेका थिए । म तिनीहरुको नजिक पुगें ।
” के चाहियो ? “
एक जनाले च्याठिएर सोध्यो । मलाई त मेरो छोरा चाहिएको थियो । तर मलाई यहाँ लास हेर्न बोलाइएको थियो । उल्टै तिनीहरु च्याठिदै थिए के चाहियो ?
“हजुर मेरो छोरा …..”
” ए ! ……तपाईको नाम हो ? “
मैले टाउको हल्लाए । तिनीहरुले मलाई यू.एन.पार्क तिर जाने वाटो देखाए र त्यतै जान भने ।
म पनि त्यतै हिडे । केहि पर पुगेपछि पार्क देखिन थाल्यो । सानो जंगल जस्तो थियो त्यो । केही प्रहरीहरु परैवाट देखिए । मेरा केही साथी पहिल्यै पुगिसकेका थिए ।
म पुग्ने बितिकै मेरा साथीहरुले मलाई अङगालो हाले । तिनीहरु सवैका आँखा रसाएका थिए । सवै कारुणिक आँखाले म तर्फ हेरिरहेका थिए । एक जना प्रहरी वाकिटकि सहित म नजिक आयो । सायद अघि फोन गर्ने प्रहरी निरिक्षक हुनु पर्छ । मेरो हात समात्दै उसले सेतो कात्रोले ढाकिएको लास नजिक मलाई लग्यो ।
के मेरो छोरा हो त ऊ ? नभइदिएको भए हुन्थ्यो । मनले त्यसरी नै सोचिरहेको थियो ।
तिनीहरुले कात्रो हटाए । शरिर कालो भएता पनि नचिनिने भएको थिएन । अनुहार त्यही थियो । स्कुलबाट आउने बितिकै फेरेका लुगा पनि उही थियो । निलो ट्राउजर कालो टिसर्ट । तर बागमतिको पानीले सबै कालो नै देखिन्थ्यो ।
म हेरिरहन सकिन । मैले हेराई फेरे । प्रहरी निरिक्षकले प्रश्नसुचक आँखाले म तर्फ हेर्यो । शरीर त मेरो छोराकै थियो । तर के अव ऊ मेरो छोरा थियो त ? मेरो छोरा रहेन । मेरो छोरा यस संसारमा रहेन । यो सत्य थियो ।
लासको पहिचान भइसकेपछि प्रहरीले त्यसको मुुचुल्का तयार पारे । लासलाई वागमतिको विचमा फालिएको रहेछ । राती नै । हिजो साँझ प्लास्टीक टिप्दै गरेका केटाहरुले पहिलो पटक देखेका रहेछन् । त्यस पछि लासलाई पोष्टमार्टमको लागि अस्पताल लगे । म पनि सँगै गए ।
“हामी अझै अनुसन्धानको विन्दु खोज्दै छौं । “
प्रहरी निरिक्षकले यस्तै बोलेको थियो । घाँटी थिचिएर मारिएको रहेछ उसलाई । कसले मार्यो ? किन मार्यो ? केहि अत्तोपत्तो थिएन । अस्पतालवाट मेरो छोराको लास सिधै आर्यघाट तर्फ लगिएको थियो ।
फेरी पनि सबै भन्दा गाहृो स्वास्नीलाई थाहा दिनको निम्ती भएको थियो । राती अबेर सम्म त तिनी रोएकी थिइन् । बिहान एक्कासी गायब भएको थिएँ । तिनी आतिएकी पनि होलिन् ।
म जान सकिन । स्वास्नीलाई लिन साथीलाई नै पठाएँ । कसरी थाहा पाएकी होलिन् तिनले ? थाहा पाउने बितिकै तिनको प्रतिकृया के होला ? त्यस पछि तिनले के गर्लिन् ? अनुमान मात्र समेत गर्दा छाती चसक्क दुखेको थियो मेरो ।
तिनी रुँदै अस्पताल आएकी थिइन् । त्यसबेला तिनी एक्ली थिइनन् । तिनीसँग वरपरका छरछिमेकी पनि थिए । कोही तिनलाई सम्हाल्दै थिए । कोही आफै सुक्क-सुक्क रुँदै थिए । धेरैले मलाई अङगालोमा हाले । धेरै भक्कानिए । तर म रोइन । उभि मात्र रहें ,एउटा खाँबो जस्तै ।
मध्यान्हको घामसँगै आर्यघाटमा मेरो छोराको चिता जलेको थियो । आगो मैले नै दिए । सुर्यास्त सम्म छोरा जलेर खरानी भइसकेको थियो । सम्पूर्ण समय भर स्वास्नी आर्यघाट थर्काउने गरी रोइरहिन् ।
त्यस पछिका विराट अन्धकार समस्या बन्न खोज्यो हाम्रो निम्ती । साँझसँगै मलामीको रुपमा आएका मानिसहरुका संख्या पातलिन थाल्यो । डर लाग्यो , अन्तिम समय सम्म कहीँ म र मेरी स्वास्नी मात्र त हुने छैनौ ? मौनता , निरवता र एकान्त भयङकर पिडादायी हुन सक्थ्यो मेरो निम्ती । स्वास्नीसँग के कुरा गर्नु मैले ? एक त यसै असफल थिए । जसले मलाई भित्र सम्म गाँजेको थियो । मैले स्वास्नीलाई के भनेर सम्झाउने ? कुन मुखले सम्झाउने ? तर त्यसो भएन । तिनका अफिसका केहि साथी र मेरा केही साथीहरु अन्तिम सम्म सँगै भयौं ।
स्वास्नीः
त्यस पछि घरमा विराट परिवर्तन भयो । घर घर जस्तो रहेन । मानौ कुनै मसानघाट हो त्यो । स्वास्नी आफैसँग थिइनन् । हर बखत आँशुमा डुबिरहन्थिन् । हामीले हाम्रा छोरा छोरी दुबै गुमाएका थियौं । निसन्तान भएका थियौँ हामी ।
अस्ति सम्म छोरी मात्र अनुपस्थित थिइन् । अब छोरा पनि अनुपस्थित भयो । स्वास्नी अझै दिनरात छोरा भन्दै रोइरहन्थिन् । राती सपनामा समेत छोरा भन्दै चिच्याउन थालिन् । दिउँसो पनि कता कता एकहोरो टोलाइरहन थालिन् । एक्कासी कुनैबेला छोरा भनेर झस्किन्थिन् । तर प्रत्यक पटक छोरा अनुपस्थित हुन्थ्यो । जुन हरबखत तिनको रुवाईको कारण वनिरहेको थियो ।
मृत्यु त्यसबेला सम्म पनि बुझ्न सकेको थिइन मैले । लाग्न थालेको थियो, के तिनीहरुको अनुपस्थिती मात्र तिनीहरुको मृत्युबोध त होइन ?
यति बेला सम्म तपाईहरुले थाहा पाइसक्नु पर्ने हो । म र मेरी स्वास्नी आपसमा कमै बोल्थयौँ । त्यो कुरा खास गरी मेरो तर्फवाट भएको थियो । जब मैले आफ्नो असफलताको वोध गरेको थिए । त्यस बेला देखि नै म मेरी स्वास्नीसँग कमै बोल्थे । प्रायजसो कुराकानी छोराछोरीको मार्फत नै हुन्थ्यो ।
असफलताको वोधले म अन्तरमुखी हुँदै गइरहेको थिएँ । असफलताको वोध हुनु आफैमा निकै नै पिडादायी थियो । र आफ्नो अन्तरमुखी स्वभाबको कारण त्यस पिडालाई भित्र भित्रै लुकाउन खोज्थेँ ।
छोरा छोरी सँग बोल्नु मेरो बाध्यता थियो । कम्तिमा तिनीहरुले म भित्र उम्लिरहेको असफलताको पिडा त थाहा पाउँदैनथे । र तिनीहरुले वास्ता पनि गरेका थिएनन् । तर मेरी स्वास्नी ? तिनले त सबै कुरा अनुभव गर्न सक्थिन् ।
तिनको अगाडी पर्ना साथ आˆनो असफलताले आफैलाई चिमोट्न थाल्थ्यो । मैले तिनीसँग बोल्नु , तिनले भनेको कुरा मैले गर्नु सबै औपचारिकता जस्तो मात्र लाग्थ्यो । र जीवनमा औपचारिकता पुरा गनर्ुु जस्तो गाÅो केही पनि लागेन मलाई । चाहे त्यो छोरा छोरीको मृत्युमा आँशु खसाल्नमा होस । औपचारिकता निभाउन जहिले पनि असफल भएको थिएँ म ।
छोरा मरेको धेरै दिन सम्म तिनी रोइरहेकी थिइन् । तर म तिनलाई सम्हाल्न गइन । मैले नचाहेको होइन । तर सकिन । असफल हुनुको वोधले सकिन । सफल त तिनी आफै थिइन् । त्यत्रो परिवारको बोझ तिनले उठाएकी थिइन् । म भन्दा कैयांै गुणा सक्षम थिइन् तिनी । अनि मैले तिनलाई सम्झाउनु पर्ने ? मैले तिनलाई सम्हाल्नु पर्ने ? त्यही भएर कताकता औपचारिकता जस्तो लाग्थ्यो मलाई ।
हुन त मेरी स्वास्नीले सायद त्यही चाहेकी हुँदी हुन् । किनकी नारी न हुन तिनी । त्यस बखत तिनलाई पनि पुरुषको आड चाहिएको हुँदो हो । अझ म त तिनको लोग्ने थिए । तर म असफल लोग्ने थिए । मैले तिनलाई त्यो आड दिन सकिन । त्यस पछिका हामी बिचका व्यवहारहरु निकै नै उदासिन रहेका थिए ।
एउटा लामो बिदा पछि तिनी अफिस जान थालिन् । अफिसवाट त्यस्तो कुनै दवाव आएको थिएन । हामीले हाम्रा दुवै सन्तान गुमाएका थियौँ । त्यो कुरा तिनीहरुलाई पनि थाहा थियो । त्यसैले तिनीहरुले कुनै किसिमको आग्रह अथवा दवाव दिएका थिएनन् । स्वास्नी आफै अफिस जान थालिन् ।
मरेकाहरुको सम्झनाहरुले मात्र बाच्नेहरुको जिवन चल्दैनरहेछ । बाच्नेहरुले जिउनै पर्छ । त्यसैले एउटा लामो विलाप पछि पनि स्वास्नी अफिस जान थालेकी थिइन् । त्यसैले तिनी घरको एकलासबाट मुक्त भएकी थिइन् । तर घरको एकलासमा त म परेको थिएँ । त्यस पछि म पनि पहिलाको जस्तो घरमा बस्न छाडेको थिएँ । पहिले पो छोरा थियो । छोरी थिइन् । तिनीहरुलाई स्कुलबाट ल्याउनु पथ्र्यो । त्यसैले घर मै बस्नु पर्ने बाध्यता थियो । तर अब त्यो थिएन । त्यसैले म प्राय घर बाहिर बस्न थालेको थिएँ ।
रक्सीको लत भने मलाई त्यस पछि राम्रोसँग बस्यो । रक्सी खानेको साथी स्वाभावतः नै धेरै हुने गर्छन् । स्वास्नी पनि मेरो यस बानी प्रति मौन थिइन् । यो तिनको आक्रोश हो या समर्थन मैले थाहा पाउन सकिन । थाहा पाएर पनि मैले के नै गर्न सक्थे र ? सफल त तिनी थिइन् म होइन ।
यस पछिका साँझहरु प्राय भट्टमिा बित्न थाल्यो । घर र्फकदा राति सधै ढिला हुन्थ्यो । कहिले काहिँ आउन पनि छोडेको थिएँ । जब म घर पुग्थे एक जोर उदास आँखाले तिनी म तर्फ हेर्थिन् । उफ् ! कति शक्तिशाली हेराई हँ तिनको ? सायद सफल भएकीले होला । म तिनको अगाडी पानी-पानी हुन्थे । आˆनो आँखा तिनको आँखासँग जुधाइरहन सक्दिनथें । त्यसैले हडबढाउँदै मैले तिनलाई पन्छाउनु पथ्र्यो । लडबडाउँदै तिनको सामुवाट ओझेल पर्नु पथ्र्थो ।
ती मेरो निम्ती सबै भन्दा गाहृो क्षण हुने गरथ्यो । त्यसवाट पन्छिन धेरैजसो रातहरु साथीकै घरमा बिताउन खोज्थे । तर ती स्थाई समाधान थिएन । किनकी अर्काको घर भनेको अर्काकै हो । आˆनो हुनै सक्दैन ।
यी सबै कुरा वरपरका छरछिमेकीले थाहा नपाएका होइनन् । हामी बिचको त्यो मौनतालाई तिनीहरुले छोराछोरीको रिक्तताको उपज ठाने । मैले रक्सी खान थालेका कुरालाई तिनीहरुले मेरो छोरा-छोरी प्रतिको वियोग सम्झे । तर तिनीहरुले म र मेरी स्वास्नी बीच बढ्न थालेको त्यो विराट दुरीको भने अनुमान गर्न सकेनन् । किनकी हामी एक अर्कासँग कहिल्यै बाझेनौ । मौनता नै हामी बिचको युद्धको स्वरुप भएको थियो । उपेक्षा नै हामी बीचको युद्धको हतियार भएको थियो ।
एक रात मेरी स्वास्नी झुण्डेर मरी ।
त्यस रात अबेर सम्म भट्टीमा बसेकाले म साथीको घरमै सुतेको थिएँ । रक्सीको मात, दुःखको भारी ,असफलताको तनाब । हामी राती अबेर सम्म गफिएका थियौं । बिहान लागेको निन्द्रा , हामी बिउँझदा निकै ढिलो भइसकेको थियो ।
त्यसबेला सम्म मेरी स्वास्नी अफिस गइसक्थिन् । त्यसैले खाना पनि साथीकोमा नै खाएँ । घरको एकान्ततावाट पन्छिन साथीलाई पनि घर लिएर आएँ ।
तर घर त्यो दिन अबेर सम्म पनि भित्रवाट बन्द थियो । स्वास्नी अफिस जाँदा जहिल्यौ बाहिरवाट बन्द गरेर जान्थिन् । तर आज भित्रवाटै बन्द थियो । अर्थात तिनी अफिस गएकी थिइनन् ।
मुटु एक्कासी ढुक्क भयो । फेरी स्वासनीसगँको साक्षात्कार । छेउमा जाँड खाने साथी थियो । फर्किन सक्ने स्थिती पनि त थिएन । कहिंँ मैले आजको बार त बिर्सेको थिइन । अहँ कुनै विदा अथवा शनिबार पनि थिएन । बाटोमा पनि अफिसका गाडी तथा स्कुलका बसहरु प्रशस्तै हिँडेका थिए ।
मैले ढोका ढकढकाएँ । अहँ कुनै प्रतिकृया जनाइनन् तिनले । फेरी जोडले ढकढकाएँ । तर फेरी प्रतिकृया विहिन । म अझै सम्म त्रसित नै थिए । तर तिनले मौनतासँगै यस्तो हठ भने कहिल्यै प्रस्तुत गरेकी थिइनन् ।
निकै वेर सम्म पनि त्यसरी ढोका नखोल्दा डर हराएको थियो । तर त्यसको ठाउँमा रीसले भने ठाउँ लिदै थियो । जम्मा चारवटा पर्खाल भित्र थिइन् तिनी । तिनको र मेरो विचको दुरी जम्मा एउटा ढोकाको थियो । यो त सत्य थियो तिनी भित्र नै थिइन् । तर ढोका किन खोल्दिनन् तिनले ?
अव मैले अरु उपायहरु खोज्नुपर्ने भयो । सरासर तिनी सुत्ने कोठाको छेउमा गए । वाहिरवाट झ्याललाई जोडले ताने । एक धक्का मै झयाल खुल्यो । भित्रवाट झयालको चुकुल लगाएकी रहिनछिन् ।
रेलिङबाट हात छिराएर पर्दा तन्काए । देखेँ , स्वास्नी ओछ्यान भन्दा एक हात माथी झुण्डिरहेकी थिइन् । म माथि नियालेँ । तिनको अनुहार पनि मेरै तर्फ फर्किएको थियो । तिनका केश छरपस्ट थिए । तिनका आँखा खुल्लै थिए । उफ कति डरलाग्दा भएका थिए तिनका आँखा ? ती एकजोर उदास आँखा अहिले कसरी त्यती भयङ्कर हुन पुगे ? कति डरलाग्दो हेराई थियो तिनको ? मानौ तिनी जिउँदो हुदाको सारा मौन आक्रोश त्यही आँखामा छोडेर गएकी हुन् । मैले हेररिहन सकिन ।
भित्र स्वास्नी झुण्डेकी थिइन् । बाहिर म थिए । बन्द ढोकाले छेकेको थियो मलाई । के गर्न सक्थे म ? म त्यही थुचुक्क बसेँ ।
ती सारा दृश्यका द्रश्टा मेरो साथी पनि थियो । आत्तिन त ऊ पनि आत्तिएकै थियो । मैले ढोका तोड्न खोजे । तर उसले मलाई रोक्यो । त्यो प्रहरी केशको बिषय पनि थियो । उसले नै प्रहरीलाई फोन गर्यो ।
तिनीहरु पनि चाँडै नै आए । त्यसबेला तिनीहरु मात्र आएनन् । तिनीहरु सँगै वरपरका मानिसहरु समेत मेरो घरमा थुपि्रन थाले । जहाँ मैले चिनेका थोरै थिए । धेरै जसो बाटामा हिड्ने रमिते जस्ता थिए ।
मेरी स्वास्नीको मृत्यु पनि त कुनै रमिता भन्दा कम कहाँ थियो र ? सामान्य भन्दा फरक । एक असमान्य मृत्यु ।
“बिचरी अन्ततः आफूपनि अकालमै मरी । त्यस्तो कलिला सन्तानको काँख उजाडिदा कुन आमा बाँच्न सक्छिन् र ? “
त्यो अधिकांस हाम्रो परिवारको बारेमा जानेका प्रौढ महिलाहरुको टिप्पणी थियो ।
” जे सुकै भए पनि जीवन आफ्नो हो । र आफै बाच्नु पर्छ । तिनले आत्महत्या चाँही गर्नु हुन्थेन । “
त्यो कुन पुरुषले गरेको टिप्पणी थियो । जसलाई हाम्रो परिवारको कुनै जानकारी थिएन ।
त्यस पछिका टिप्पणीहरु मैले सुन्न पाइन किनकि त्यसबेला सम्म प्रहरीले घरको ताल्चा तोडी सकेको थियो ।
घर भित्रका सबै कुराहरु जस्ताको त्यसतै थियो । फरक थियो भने केबल मेरी स्वास्नीको सुत्ने कोठा । ओछ्यानमा एउटा टुल लडिरहेको थियो । सायद तिनले त्यसैमा चढेर पासो तयार गरेकी थिइन् । तिनले पासो भने आफ्नै साडीको बनाएकी थिइन् । जुन तिनले माथि सिलिङ फ्यान झुण्डयाउन राखिएको किल्लामा बाँधेकी थिइन् । तिनका खुट्टा ओछ्यान भन्दा ठिक एक हात माथि थियो ।
सुरुमा प्रहरीका प्रश्नले मलाई नै अठ्याउन खोजे । हुन त प्रत्येक कुरामा शंका गर्नु तिनीहरुको बानी नै हो । तिनीहरु प्रत्येक क्रियाकलापमा अपराध देख्छन् । मृत्युमा पनि हत्या देख्छन् । अझ त्यो त आत्महत्या थियो ।
” हिजो कहाँ गएका थियौ ? “
” हिजो नै चाही किन साथीकोमा बसेको ? “
” तिनले आत्माहत्या किन गरिन् ? “
एक्कासी धेरै प्रश्न तेर्स्याउन थाले तिनीहरुले ।
हिजो म साथीको घरमा थिए । त्यो त तिनीहरुले पनि थाहा पाइसक्नु पर्ने हो । किनकी हिजो म जोसँग थिए ,ऊ अझै सम्म त्यहिँ नै थियो । म हिजो नै किन बाहिर बसे ? त्यसको उत्तर नै के हुन्थ्यो र ? म प्राय जसो नै बाहिर बस्थे । तर तिनले हिजो नै किन आत्माहत्या गरिन् ? त्यो तिनीसँगै सोध्नु पथ्र्यो । अब तिनले किन आत्माहत्या गरिन् त्यो मलाई कसरी थाहा हुन्थ्यो ?
सम्पूर्ण केरकार बखत म मौन बसेँ । एक किसिमको छट्पटि र तनावले भित्रभित्रै सताइरहेको थियो । तिनीहरुले पनि त्यो क्रमलाई लम्ब्याएनन् । किनकि तिनीहरुलाई पनि मेरो घरको वास्तविकता थाहा थियो । मेरो छोराको लास खोज्ने प्रहरीचौकी पनि त्यो नै थियो ।
त्यसपछि तिनीहरुले मलाई छोडे । त्यसबेला सम्म म एक्लो भइसकेको थिएँ । नितान्त एक्लो ।
आत्महत्याः
जब स्वास्नीको चिता जल्यो । चितासँगै तिनका जोर आँखाहरु पनि जलेका थिए । हुन त वाचुन्जेल ती आँखाहरु उदास थिए । मौन थिए । तर तिनका हेराई निकै भयङकर थिए । अझ झुण्डीएको बेला तिनका आँखा । उफ् ! चिता जलुन्जेल सम्म अत्याइरहेको थियो मलाई । जब-जब आगाका लप्काहरु गोलो गरी घुम्थे , मैले तिनका आँखाहरुका सम्झना गर्नु परेको थियो ।
चिताको खरानी जब बागमतीमा बगे । अनि मनले एक किसिमको शान्ती पायो । तिनको आँखाको त्रासबाट बल्ल मुक्त भए जस्तो लाग्यो मलाई । मनवाट एक किसिमको सधैको त्रास पन्छिएको थियो । घर जतिबेला जादा पनि हुने भयो । अब मैले ती जोर आँखाहरुको सामाना गर्नु नपर्ने भयो ।
अनायासै म मेरो विगत तिर फर्कें । मेरो त एउटा पुर्ण परिवार थियो । छोरा थियो , छोरी थिइन् र स्वास्नी थिइन् । सम्पूर्ण कुराहरु सकिएका थिए । उफ् ! मेरो त परिवार नै सखाप भएको थियो । कति बर्षका रहरहरु थिए ? कति बर्षका जीवन ? एक एक गरेर सवै समाप्त भएको थियो । मैले त्यसको कथा लेख्दै थिएँ । एउटा सफल कथा । तर एउटा कथा लेख्न यत्रो मुल्य ? यो कुरा कथा लेख्नु अगावै नसोचेको होइन । तर सम्पूर्ण कुरा गुमाइसक्दा यसले मलाई नराम्रोसँग झस्काएको थियो । र मेरो आत्महत्याको सुरुवात त्यही झस्काईबाट सुरु भएको थियो ।
अब म एक्लो थिएँ । त्यसबेला म न त असफल लोग्ने थिए नत असफल बुवा नै । अब मेरो प्रायजसो समयहरु साथीहरुसँग बित्ने गर्थे । त्यसैले अब म असफल साथी पनि रहिन । र पनि मनले शान्ती पाउन सकेन । अब एक्लोपनले सताउन थाल्यो । एकान्तको निरसताले सताउन थाल्यो ।
जीवनमा कुनै एक थोकले सताउन कहिल्यै छोडेन । छोराछोरी रहुन्जेल असफलताको बोधले सतायो । स्वास्नी रहुन्जेल तिनका मौन आक्रोसित आँखाहरुले सतायो । अब एकान्तले सताउन थालेको थियो ।
घर आफैमा पनि पिडाको कारण बन्न थाल्यो । मानिस भएर जन्मेपछि बस्नलाई घर नै चाहिने । त्यसो त सडकमा बस्नेहरु पनि छन् । तर घर भएर सडकमा बस्ने सायद छैनन् । साथीको घरमा पनि कति बस्नु ? आफ्नो घर भए पछि र्फकनु त पथ्र्याे नै ।
खास गरी रात निकै नै भयानक हुन थाल्यो मेरो निम्ती । दिनभर यसो जथाभाबी डुल्दा पनि हुन्थ्यो । तर रातमा घरको विकल्प कि त भट्टी हुन्थ्यो कि साथीको घर । जुन स्थाई विकल्प थिएन । फेरी रात त प्रत्येक चौबिस घण्टामा पथ्र्यो ।
रातमा निन्द्रा र अनिन्द्रा दुबैले सताउँथे । जब निदाएको हुन्थे । ऐठन पथ्यो । अबका रातका ऐठनहरु पहिला भन्दा झन भयानक किसिमका हुन्थे । हुन त ऐठनको सुरुवात छोरीको मृत्युदेखिनै भएको थियो । तर त्यसबेला ऐठनबाट सम्हाल्नका लागि स्वास्नी थिइन् र तर्साउने केबल छोरी थिइन् । तर अब घरमा कोही छैन । तर तर्साउने तीन तीन जना थिए । छोरी थिइन् , छोरा थियो र स्वास्नी थिइन् ।
फेरी पनि सुरुवात छोरीवाटै भएको थियो । आउन त तिनी पहिला जसरी नै आएकी थिइन् । घरमा कोरीवाटी गर्दा निकै राम्री पुतली जस्ती मेरी छोरी निकै डरलाग्दी देखिएकी थिइन् । तिनले पहिले जसरी घाटी समातिन । यस पटक तिनले मेरो हात तान्न थालिन् । तिनी जिउँदी हुदा त्यसै गरी मेरो हात तान्थिन् , खास गरी बजारबाट जब तिनको लागि केही किनीदिनु पथ्र्यो । त्यसबेलाको तिनको खिचाई निकै नै हलुका र स्पर्श अत्यन्त कोमल हुने गथ्र्यो । तर उफ् ! अहिले कति कठोर छ तिनको हात ? मानौ तिनले मेरो हात शरीरबाट उछिट्याउनका निम्ती तान्दै थिइन् ।
त्यस पछि छोरा आयो । त्यसरी ऊ कहिल्यै आएको थिएन । ऊ त्यही लुगामा थियो , जुन उसले घरबाट निस्कदा अन्तिम पटक लगाएको थियो । त्यसको अनुहार पनि बागमतिबाट झिक्दाको बेलाको जस्तै कालो र विभत्स थियो । कस्तो माया लाग्दो थियो ऊ ? कति निर्दोष हुन्थे उसका हेराई ? कति मिठा थिए उसका बोली ? तर अहिले ? उफ् ! कति भयङकर ? कति बिदु्रप ? कस्तो भयङकर अट्टाहास गर्दैछ ऊ । कुनै दन्त्यकथामा चित्रित राक्षस भन्दा पनि भयङकर देखिन्थ्यो ऊ ।
उसले भने मेरा खुट्टाहरु तान्न थाल्यो । उफ् ! कति शक्तीशाली भएका उसका हातहरु ? मानौ उसले तानेको छैन, वल्की दुवै हातले फनफनी घुमाएर फाल्ने वाला छ । उसका पक्राई नै कति कठोर थिए भने खुट्टाका सारा मांसपेशीहरुलाई छेड्दै हाडलाई नै अठ्याएको होस ।
त्यस पछि स्वास्नी आइन् । त्यसती त तिनी कहिल्यै देखिएकी थिइनन् । अरु बेला रिसाउँदा पनि शान्त र मौन देखिने मेरी स्वास्नी त्यती भयङकर कसरी भई ? तिनका केश छरपष्ट थिए । अरुबेला उदास रहने आँखाबाट मानौ अहिले आगाका लप्काहरु फाल्दै थिइन् । अरु बेला शान्त र सपाट देखिने तिनका अनुहारमा रौद्र रुप देखिएको थियो । साक्षात रुद्रचण्डीकी रुप धारण गरेकी जस्ती थिइन् तिनी ।
तिनी पनि भयङकर अट्टाहासका साथ म तर्फ नै बढि रहेकी थिइन् । मेरो हात छोरीले समातेकी थिइन् । खुट्टाहरु छोराको नियन्त्रणमा थिए । रातको सन्नाटामा तिनीहरुको अट्टाहासले सारा घर हल्लीरहेको थियो ।
उफ् ! कति असहाय भएको थिएँ म । म उठ्न खोजीरहेको थिएँ । तर सकिरहेको थिइन । चलमलाउन खोजे , सकिन । चिच्याउन खोजे । उफ् ! यो आवाज किन निस्कदैन ? कसले थिचिरहेको छ मेरो घाँटी ? अब त सास फेर्न पनि गारो हुन थाल्यो । सारा शरीर सिथिल हुँदै थियो । मानौ मेरो शररको सारा शक्ति कसैले सोसिरहेको होस । तै पनि अन्तिम पटक प्रयास गर्न खोजे । सारा शरीरको बल एकत्रित गरे र एकै पटक हातखुट्टा र सारा शरीर नै फाल्ने गरी झड्कारेर चिच्याए ,
” नाई …”
एकै पटक ओछ्यानबाट तल पछारिएको थिएँ म ।
सारा घर थर्किरहेको थियो । ढोका ढकढक बजिरहेको थियो । कसैले झयाल ठोकीरहेका थिए । कोही मेरो नाम लिएर चिच्याई रहेका थिए ।
उफ् ! कति बेर देखि चिच्याउँदै छु म ? सारा छर-छिमेकीहरु जम्मा भइसकेका रहेछन् । बत्तीको स्विच अन गरे । कोठा झिमिक्क बल्यो । आँखा फेरी भित्तामा झुण्डीरहेको फोटोसँग जुध्यो । तिनै जना मलाई हेरेर मुसुमुसु हाँसिरहेका थिए । उफ् ! कत्रो ठुलो खिसी ? मैले हतारहतार ढोका खोले ।
” के भयो ? “
सबै आतिएर सोध्दै थिए । के भयो भन्नु मैले ? मलाई मेरी स्वास्नीले घाँटी निमोठी भन्नु ? मलाई मेरा छोराछोरीले मार्न लागे भन्नु ? म दुबै अत्केलाले अनुहार छोपेर क्वाँ-क्वाँ रुन थाले । त्यसरी म पहिलो पटक रुँदै थिए । म किन रोएँ ? छोरी मर्दा रोएको थिइन , न छोरा मर्दा रुन सके न त स्वास्नी मर्दा नै । तर अहिले रोएँ । कँही मृत्युको त्रासले त हैन ? त्यहाँ आएका मानिसले त्यसलाई परिवार प्रतिको वियोग ठाने । सबैले सान्तवना दिन थाले । तिनीहरुको सहानुभुतिसँगै मेरो रुवाई पनि चर्को हुँदै थियो ।
त्यसपछिका रातहरुमा पनि निरन्तर ऐठन हुन थाल्यो । सुरु-सुरुमा मेरो चिच्याहट सुनेर छिमेकीहरु आउँथे । तर त्यो क्रम निरन्तर चले पछि तिनीहरु पनि आउन छाडे । अब म चिच्याएरै मरुँ र पनि तिनीहरु आउनेवाला थिएनन् ।
राती अनिन्द्राले पनि त्यसैगरी सताइरहेको थियो । रातको सन्नटाको आवाज विहिन आवाजहरु झन धेरै समस्या वन्न थाल्यो । मानौ कुनै जंङगली माहुरीको ठुलो घार घर भित्र फैलिएको होस । त्यही आवाजसँगै मेरो स्वास्नीको , छोराको र छोरीको अट्टाहासहरु घर भित्र गुन्जिन थाल्थ्यो । अगाडी, पछाडी, दायाँ, वायाँ, माथि, तल, जताततै तिनीहरुनै देखिन थाले । एक होइन ,दुई होईन ,असंख्य हुन्थे तिनीहरु ।
उफ् ! तिनीहरुको चिच्याहट ! अब त घर भित्र बस्नै नसकिने भयो । म राती नै निस्के । निस्के त के भन्नु र ? म भागे । किनकी म सडकमा दौडिरहेको थिए । त्यही अनुपातमा ती चिच्याहटहरु पनि दौडिरहेका हुन्थे ।
अब त त्यो भगाइको क्रम पनि प्रत्यक रात हुन थाल्यो । त्यसरी भाग्दा म स्वयम आफै पनि चिच्याइरहेको हुन्थे । सुरुका दिनहरुमा दिउँसो प्रायजसो शान्त नै रहने गर्दथ्यो । भीडहरुमा तिनीहरुले सताउँदैनथे । तर पछि दिउँसो पनि सताउन थाले । भिडहरुवाट पनि तिनीहरु निस्कन थाले । प्रत्येक आईमाईमा मेरी स्वास्नी आउन थालिन् । प्रत्येक केटाकेटीमा मेरा छोराछोरीहरु देखिन थाले ।
उफ ! अब कहाँ जानु ? राती एकान्तले सताउन थाल्यो । दिउँसो भिडले पिरोल्न थाल्यो । अब त जति बेला पनि जताततै भाग्नु पर्ने भयो । त्यसरी भाग्दा दिमागमा असंख्यक कमिलाहरु त्यही रफ्तारमा दौडिरहेका जस्ता हुन्थे ।
एक पटक त्यसै गरी भिडबाट तर्सेर हिँड्दै थिए । सायद घर तर्फको वाटो हुँदो हो । मेरै टोल भन्नुपर्छ त्यसलाई । पर चार पाँच जना जति केटाहरु उभिएका थिए । म तिनीहरुको नजिक पुग्न पाएको थिइन । मेरो छोरा देखिन थाल्यो । म त्यहिँ उभिएँ । र्फकन के खोजेको थिएँ , तिनीहरुले बोलेको सुने ,
” विचरा उसको परिवारको सबै एक एक गरी मरे । अहिले आफै खुस्केछ । …”
खुस्केछ !…यो शब्दले ढयाङग्रो जस्तै ठोक्यो मेरो मष्तिस्कमा । खुस्केछ , भन्नुको मतलब के ? बौलाउनु । के म बौलाएँ ? के म पागल भएँ ? उफ् ! म पागल भएँ ? मैले दुबै हातले आˆनो टाउको समाएँ । उफ् ! कति जोडले दुख्न थालेको यो ? दिमागमा असंख्यक किराहरु स्याउँ स्याउँ गर्न थाल्यो ।
पागल ! वौलाहा !! खुस्केट !!!
भयङकर आवाजका साथ यी शब्दहरु मेरा कानमा गुन्जीन थाले । फेरी ती भयङकर हाँसोहरु । मेरी स्वास्नी । मेरो छोरा । मेरी छोरी सबै अट्टाहास गर्दै चिच्याउन थाले , पागल ! पागल !!…..
मैले मेरो कान थुने । जति जोडले थुने , आवाज त्यती चर्को हुँदै गइरहेको थियो । म त्यहाँवाट हिँडेँ । मसँगै ती आवाजहरु पनि हिड्न थाले । म दौडन थालेँ । म भागिरहेको थिएँ । तर म भन्दा पनि तिब्र तिनीहरुका चिच्याहट र अट्टाहासहरु थिए । जुन चारैतिरबाट मलाई घेरेर चिच्याउँदै थिए ।
पागल ! पागल !!……..
भाग्दा भाग्दै म घर पुगिसकेको थिएँ । मसँगै ती आवाजहरु पनि आइपुगेका थिए । म ढोका खोलेर भित्र पसेँ । उफ् ! तिनीहरु म भन्दा पहिल्यै भित्र पसेका थिए । सम्पूर्ण घर भरी मेरी स्वास्नी थिइन् । छोरा थिए । छोरी थिइन् । जताततै तिनीहरुकै अनुहारहरु थिए । सबै एकै स्वरले चिच्याउँदै हाँसिरहेका थिए ।
पागल !..पागल !!……
मैले यता उति चारैतिर हेरे । जताततै तिनीहरु मात्र थिए । हतार हतार किचन भित्र पसेँ । टेबलमा स्लिपिङ टयाब्लेटको सिसी थियो । छोरा मरे पछि स्वास्नीको निम्ती ल्याएको थिएँ । सिसी भरी नै रहेछ टयाव्लेटहरु । एकै पटक सबै झिकेँ । हतार हतार मुख भरी कोचेँ । र सँगै रहेको मगको पानीसँगै घटघटी निलेँ ।
उफ् ! कसले निर्देश गरीरहेको थियो मलाई । कसका ईच्छाले खाए एकैपटक यतिका धेरै स्लिपङ टयाव्लेटहरु ? तर ती सबै सोच्ने फुर्सद नै कहाँ थियो । ती अट्टाहासहरुले फेरी चारैतिरबाट घेरीसकेको थियो । मेरो मस्तिष्क फुट्ने गरी तिनीहरु चिच्याउँदै थिए ।
पागल !……पागल !!……
एक्कासी पेट पोल्न थाल्यो मेरो । सायद मेरी छोरीको पेट पनि त्यसरी नै पोलेको हुँदो हो । म त्यही पेट समातेर बस्न बाध्य भएँ । शरीर भर चिटचिट पसिना आउन थाल्यो । मुटुको गति एक्कासी तिब्र भएको थियो । शरीरको शक्ती विस्तारै क्षिण हुदै गइरहेको थियो ।
अचानक तिर्खा लाग्यो । तिर्खा पनि यस्तो की त्यो घाँटीलाई होइन मुटुलाई लागेको होस । छाती एकदम जोडले पोलिरहेको थियो । उठ्न खोजें तर जोडले पछारिएँ । अब त उठ्ने शक्ती पनि बाँकी थिएन ममा । मस्तिष्क फुट्ने गरी दुखिरहेको थियो । तिनीहरु अझै चिच्याइरहेका थिए ।
पागल !….पागल !!…….
अब त सबै थोक सिथिल हुन थाल्यो । मुटुको गति एककासी तिब्रबाट सिथिल भएको थियो । सास पनि उल्टो चल्न थाल्यो । आँखा खुल्लै थिए । र पनि अन्ध्यारो देख्न थालेको थिएँ । सबै अँगहरु विस्तारै निस्तेज हुँदै गइरहेका थिए । अब तिनै जनाको चिच्याहट पनि कान वरीपरी विस्तारै माहुरी भुनभुनाए जसरी भुनाभुनाई रहेका थिए । मस्तिष्कवाट चेतना विस्तारै लोप हुँदै थियो । र पनि जवरजस्ती सम्भिmन खोजेँ । तर एउटा शब्दमात्र सम्भिmन सके , मृत्यु ।
उफ् ! कति गाहृो हुदो रहेछ मृत्यु ? मुटु एक्कासी ढुक्क फुल्यो । सास त्यसै बेला अड्कियो । मस्तिष्क पनि चेतना शुन्य भयो । एक्कासी सबै कुरा ठप्प भए । अनि मेरा आँखा अगाडीको अँध्यारो विराट अन्धकारमा परिणत भयो । एक अनन्त अन्धकार ।
समाप्त
wahiyaat lekh,, dikdar lagdo padhda padhdai,,,,
Like or Dislike:
2
8
[जवाफ फर्काउनुहोस्]
madhav khatiwada Reply: March 9th, 2013 at 9:46 am
good story
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
nice story…. heart touching
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Lekh afai ma anabigya 6 Patra afai ma kalpiyeko 6 padda kehi agadi ka sabdha ma dam bhanyee pani pa6i sabdha bin hudai katha gupchup bhetee.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yatharthabadi raixa. Man paryo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nice story
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
criticize garnu vanda pani inspiration garna jaruri chha. best of luck for your writing in future.
Alochanale manchhelai sahi batoma hidauchha. writerle pani yes barema dyan diye uttam hunechha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
good experience…ya yasto jaskolife ma pani huna sakchha …n sometimes ma pani yastai sochachhu…ma ta marera jaula bt mero pachhdi ko manchhe haru lai bachna kati muskil hola…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Lastai jhurrrr… esto katha lekhera pani katai safal hoinchha? Sikaru ho vane ta pailo pryas vannu tara ONLINEKHABAR le kina esto dam navako katha lai aafno sahitya khanda antargat rakhxa? Pathak ko samayako barbadi…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
katha ta rammrai 6 tr rodas nai rahe6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I appreciate this story.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
wife ko death samma katha best chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yasto story le manis lai …………………..banauchha jasto chha hai…kathakar le khatha lekhada ali bichar garnu paro…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]