आरपी सुवेदी
२९ फागुन, नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित लागू औषध चरेशसहित चारजनालाई बाँकेको कारकाँदो-५ बाट नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुबाट साढे १६ किलो चरेश बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरबाट नेपालगन्ज आउँदै गरेका रुकुम मैनकोट-३ का ४६ वर्षिय मनिलाल पुन, काँक्री-७ का ३० वर्षिय जितबहादुर घर्ती, मुगु श्रीकोट-३ का ४५ वर्षिय धनकृष्ण टमटा र बाजुरा कोल्टी-३ का २९ वर्षिय प्रकाश रेग्मीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक भुपालकुमार भण्डारीले कोहलपुर क्षेत्रबाट चरेश लिएर भारततर्फ केही व्यक्तिहरु आउँदै गरेको सुराकीका आधारमा विभिन्न ठाँउमा चेकजाँच गर्दा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टिमले नियन्त्रणमा लिएको बताए ।
प्रहरीका अनुसार उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने बताईएको छ । सो ऐनमा १५ हजारदेखि १ लाखसम्म जरिवानासहित २ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ ।
बाँके प्रहरीको प्रमुख भएर सुरक्षा नेतृत्व सम्हाले यता २६ ग्राम लागुऔषध ब्रउन सुगर, २३ किलो ५ सय ग्राम चरेश सहित १ महिला सहित १५ पुरुषलाई नियन्त्रणमा लिएर १० मुद्दा चलाएको उहाँले बताउनु भयो ।