आजदेखि एसएलसी सुरु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आजदेखि एसएलसी सुरु

साढे पाँचलाख विद्यार्थी सहभागी हुँदै, बन्द हडताल नगर्न अपील

१ चैत, काठमाण्डौं । यसबर्षको एसएलसी परीक्षा आज बिहान आठ बजेबाट सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्ष पाँच लाख ४७ हजार एक सय ६५ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । उनीहरुले अहिले अनिवार्य अंग्रेजी विषयमा परीक्षा दिइरहेका छन् ।
चैत ९ गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । प्रयोगात्मक परीक्षा सैद्धान्तिक परीक्षा सकिएपछि जिल्ला शिक्षा कार्यालयको व्यवस्थापनमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।

झण्डै साढे ५ लाख सहभागी हुने

यसवर्षको एलएलसी परीक्षामा ५ लाख ४७ हजार एकसय ६५ परीक्षार्थी सहभागी हुँदैछन् । यसमध्ये नियमिततर्फ नियमितर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ छन् ।

परीक्षाका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हृजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।

परीक्षामा कडाइ

एसएलसी परीक्षालाई मर्यादित बनाउन नियममा कडाई गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्विकृतिविना प्रवेश गरेमा, प्रयत्न गरेमा वा परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भङ्ग हुने कुनै कार्य गरेमा त्यस्ता व्यक्तिलाई कसुरको मात्रा हेरी १ लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यस्तै कुनै परीक्षा केन्द्रमा अनियमित कार्य भएमा परीक्षा बदर गर्ने वा पुनः परीक्षा गराउने सम्मको कार्वाही हुने कार्यालयको भनाई छ ।

परीक्षामा कुनै परीक्षार्थीले कुनै किसिमको अनियमित वा अनुशासनहीन कार्य गरेमा कुनै विषयको मात्र वा पूरै परीक्षा रद्द गरी बढीमा अर्को १ वर्षसम्म आगामी परीक्षामा सम्मिलित हुन नपाउने गरी कारवाहीका गर्न सक्ने व्यवस्था छ ।

बन्द नगर्न अपील

एसएलसी परीक्षा अवधिभर बन्द, हडताल लगायतका कार्यक्रम नगर्न परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित सबै पक्षसित आग्रह गरेको छ । ‘परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित तथा परीक्षार्थी शान्तिपूर्ण र भयरहित अवस्थामा परीक्षामा सहभागी हुनका लागि सहयोग गर्न सबैसित अपील गरिएको छ’ परीक्षा नियन्त्रक खबराज बरालले भन्नुभयो -’एसएलसी परीक्षा आम सरोकारको विषय भएकाले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्म सकारात्मक सहयोगको अपेक्षा गरिएको छ ।’

4 Comments on “आजदेखि एसएलसी सुरु”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु