३० फागुन, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकालगायत देशभरको मौसममा सुधार आउन करिब एक साता लाग्ने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले पश्चिमी वायुको प्रभाव कायमै रहेकाले मुलुकको पहाडी क्षेत्रमा मेघगर्जनसहित बादल लागेर हावाहुरी आउने तथा काठमाडौँ उपत्यकालगायत मुलुकका उच्च पहाडी भेगमा साँझमा क्षणिक वर्षा हुने बताउनुभयो ।
दिउँसोमा तापक्रममा केही वृद्धि भई जमिन तात्ने र बेलुकापख छिटफुटरुपमा वषर्ा हुने क्रम करिब एक सातासम्म चल्ने छ । पश्चिमी तथा पूर्वी तराईमा भने मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको र ती स्थानमा घाम पनि राम्रोसँग लाग्न थालेको छ । काठमाडौँ उपत्यकाको आकासमा बादल चलायमान भई हावाहुरी चल्ने क्रम तत्काल नरोकिने हुँदा मौसममा सुधार आउन करिब एक साता लाग्ने वरिष्ठ मौसमविद् श्रेष्ठले बताउनुभयो । रासस