३० फागुन, काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले सरकारले सडक सुरक्षा सम्बन्धि १० वर्षे कार्यक्रम तत्काल कार्यान्वयनमा लैजाने बताउनु भएको छ । नेपाल अटो पत्रकार संघले बुधवार राजधानीमा आयोजना गरेको तीन महिने सडक सुरक्षा तथा जनचेतना कार्यक्रमको सुभारम्भ गर्दै सिटौलाले सरकारले सडक सुरक्षाका लागि १० वर्षे कार्ययोजना लागू गरेर अघि बढ्ने बताउनुभयो ।
सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले विशेष ध्यान दिने सचिव सिटौलाको भनाइ थियो । उहाँले आफ्नो सुरक्षा प्रति सडक र सवारी प्रयोगकर्ता सचेत बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक उपेन्द्रकान्त अर्यालले ९० प्रतिशत सडक दुर्घटना मानवीय कारणले हुने गरेको भन्दै त्यसतर्फ सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सडक आफैँ दुर्घटनाको कारक नहुने भन्दै यसलाई न्यूनीकरण गर्न सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल अटोमोवाइ डिलर्स एसोसियसन (नाडा)का महमसचिव दीपक थापाले नाडाले लामो समयदेखि सडक सुरक्षाको काम गर्दै आएको भन्दै यस क्षेत्रमा काम गर्ने सबैसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । संघले गर्ने तीन महिने कार्यक्रम आजैबाट सुरु भएको र देशका विभिन्न स्थानमा यो कार्यक्रम विस्तार गर्दै जाने संघका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिनुभयो । संघले सडक सुरक्षा बारे सरोकारवाला निकायसँग अन्र्तक्रिया गर्ने, हर्न निषेधित क्षेत्र बनाउन पहल गर्ने, ट्राफिक नियाबारे प्राथमिक तहका विद्यार्थीलाई जानकारी दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।