३० फागुन, काठमाण्डौ । उद्योगी तथा अर्थबिदहरुले देशमा लगानीको बाताबरण नहुँदा पूँजी पलायन भइरहेको वताएका छन् । उनीहरुले लोडसेडिङ, राजनीतिक अन्यौलता, बन्द, सिन्डिकेट, चन्दा आतंक, श्रम समस्या जस्ता कुराले मुलुकमा लगानीको बाताबरण नभएका कारण पूँजी पलायन भएको बताएका हुन् ।
मिडिया ईन्टरनेशलनले बुधवार काठमाण्डौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सचिव कृष्णहरी वास्कोटाले पूँजी पलायन बढ्दै गए मुलुकको अर्थतन्त्र धरापमा पर्ने बताउनुभयो । उहाँले आयात र निर्यातको असन्तुलन चरम भएको बताउनुभयो । पेट्रोलियम पदार्थको आयात बढी हुँदा २९ प्रतिशतले देशले व्यापार घाटा बहन गर्नु परेको उहाँको भनाई छ ।
बैँकहरु मात्रै नाफामा गएको भन्दै उहाँले सरकारले शहर केन्दि्रत सहकारी संस्थाहरुलाई रोक्न नसकिएको वताउनुभयो । वरिष्ठ अर्थविद् डा. चिरञ्जीवी नेपालले वाषिर्क १० प्रतिशतका दरले पूँजी पलायन भएको बताउनुभयो । पूँजी पलायनबारे नेपालमा त्यस्तो अध्ययन नभएपनि सन् २००२ देखि २०१० सम्ममा ७० अर्ब रुपैयाँ देशबाट बाहिरिएको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले नेपालमा लगानी गर्ने वातावरण नभएका कारण नै पूँजी पलायनको खतरा बढेको बताउनुभयो । उहाँले पूँजी पलायन रोक्न उत्पादनमा जोड दिनुभयो ।