३० फागुन, काठमाण्डौ । भारतले नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि सञ्चालन गरेका ४२५ वटा सानाठूला परियोजनामा ६ अर्ब ४० करोड रुपैयाँ सहयोग गरेको छ ।
सोही परियोजनाअन्तर्गत तनहुँको आँबुखैरेनी गाविसस्थित आँबुखैरेनी क्याम्पसको नवनिर्माण गरिने भवनको भारतीय दूतावासका नियोग उपप्रमुख जयदीप मजुम्दारले मङ्गलबार शिलान्यास गर्नुभएको दुतावासले जनाएको छ । करिब चार करोडको लागतमा निर्माण गरिने सो क्याम्पसमा एक हजार छात्रछात्रा स्नातकतहसम्म अध्ययन गर्दै आएका छन् ।
त्यसैगरी तनहुँ जिल्लाको उत्तरी भेगको रुपाकोट गाविसस्थित त्रिभुवन क्याम्पसको नवनिर्मित भवनको दूतावासका राजनीतिक तथा आर्थिक सहयोग विभागका काउन्सिलर पियुष श्रीवास्तवले उद्घाटन गर्नुभयो । क्याम्पसको लागत खर्च रु एक करोड ४४ लाख रहेको बताइएको छ । यी परियोजनाबाहेक तनहुँ जिल्लामा भारतको करिब रु साढे छ करोडको सहयोगमा अन्य तीन वटा परियोजनाको निर्माण कार्य भइरहेका छन् भने जिल्लालाई चारवटा एम्बुलेन्ससमेत प्रदान गरिएको दूतावासले उल्लेख गरेको छ । रासस