१ चैत, काठमाडौं । राजधानीका पेट्रोल पम्पहरुमा बिहीबार पनि पेट्रोलियम पदार्थको चरम अभाव देखिएको छ । नेपाल आयल निगमले पेट्रोल पम्पहरुलाई प्रयाप्त तेल उपलब्ध गराउन नसक्दा अभाव यथावत रहेको पेट्रोल पम्पहरुले बताएका छन् ।नेपाल आयल निगमले सामान्य अवस्थामा भन्दा बढी तेल उपलब्ध गराउँदा पनि अभाव यथावत देखिएको दावी गरेको छ । उपभोक्ताहरुले तेल संग्रह गरेर राख्न थालेपछि पेट्रोल पम्पहरुमा सवारी साधनको लाईन लागेको निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले बताउनुभयो ।
पेट्रोलियम पदार्थको सहज वितरण हुँदा २ सयदेखि ५ सय रुपैयाँसम्मको पेट्रोल राख्ने दुई पांग्रे सवारी चालकले अहिले भरी तेल राखेर लैजान थालेपछि बजारमा पठाएको तेलले माग थेग्न नसकेको उहाँको भनाई छ । अरु गाडीवालाले पनि अभाव बढ्दै जाला भनेर अहिले नै तेल सञ्चिती गर्न थालेका छन् ।निगमले पेट्रोल पम्पहरुमा प्रयाप्त तेल पठाउन नसक्दा चरम अभाव देखिएको पेट्रोलियम डिलर्स एशोसियसनका महासचिव विश्व अर्यालको भनाई छ । निगमले तेलको सहज वितरण हुँदाको समयमा जति पनि अभावको बेलामा पेट्रोल पम्पहरुलाई तेल उपलब्ध गराउन नसकेको उहाँले आरोप लगाउनुभयो । सामान्य अवस्थामा राजधानीमा डिजेल र पेट्रोलको दैनिक खपत करीब ५/५ सय किलो लिटर भएपनि निगमले सोही परिमाणमा तेल उपलब्ध गराउन नसकेको उहाँले बताउनुभयो । निगमले बजारमा तेलको अभाव देखिएको बेलामा कम्तीमा पनि दैनिक ७/७ सय किलोलिटर तेल बाँड्नुपर्ने उहाँको भनाई छ ।
निगम भने पेट्रोल पम्पहरुले लगाएको आरोप अस्वीकार गर्दै सामान्य अवस्थामा भन्दा अहिले बढी नै मात्रामा तेल वितरण गरेको बताउँछ । वितरण सामान्य अवस्थामा भएको बेलामा दैनिक पेट्रोल २ सयदेखि ३ सय किलोलिटरसम्म र डिजेल ४ देखि ५ सय किलोलिटरसम्म वितरण गरिने गरेकोमा अहिले सो परिमाणभन्दा बढी वितरण गरिरहेको निगम प्रवक्ता पुडासैनीले बताउनुभयो । उहाँका अनुसार बुधबार थानकोट डिपोबाट पेट्रोल ५ सय १९ किलो लिटर र डिजेल ६ सय ९५ किलो लिटर पेट्रोल पम्पहरुलाई वितरण गरिएको छ । त्यस्तै, बिहीबार पेट्रोल न्यूनतम ४ सय ७ किलो लिटर र डिजेल न्यूनतम ४ सय ७० किलो लिटर वितरण गर्ने निगमको लक्ष्य रहेको उहाँले बताउनुभयो ।निगमले आउने सोमबारसम्ममा इन्धन आपूर्ति सहज हुने बताएको छ । भैरहवा, बरौनी र रक्सौल तीनै ठाउँबाट तेल ल्याउन प्रयास भईरहेको बताउँदै निगम प्रवक्ता पुडासैनीले भन्नुभयो- ‘तीनै ठाउँबाट तेल आउन थाल्यो भने सोमबारसम्ममा तेलको वितरण सामान्य अवस्थामा आईहाल्छ ।’