२ चैत, चितवन । बिहान बेलुका हातमुख जोर्न मुस्किल भएपछि जिल्लाका पहाडी क्षेत्रका चेपाङ लालीगुराँस बेच्न बजारतिर र्झन थालेका छन् ।
गत सालको लामो खडेरीका कारण चेपाङको मुख्य खाद्यान्न बाली मकै उत्पादन घटेपछि खाद्यान्न अभाव टार्न लालीगुराँस बेच्न बजार झरेका हुन् ।
चितवनको विकट पहाडी गाविस सिद्धि, कोराक, काउले दाहाखानी, चण्डिभन्ज्याङ र दारेचोकमा बसोबास गर्ने चेपाङहरु खाद्यान्ह जोहाका लागि लालीगुराँस बेच्न बजारतिर आएका हुन् ।
पहाडी भेगमा बसोबास गर्ने चपाङ समुदायले जंगली कन्दमुलको पनि अभाव हुने र भकारीमा अलिअलि भएको अन्न पनि सकिने भएकाले यो समयमा चितवनका चेपाङले चरम अनिकालको सामना गर्ने गरेको खबर शुक्रबारको राजधानी दैनिकमा खबर छ । खाद्यान्न अभावले ‘बिहान बेलुका के खाने’ भन्ने अवस्था आएपछि जंगलमा फूलेको लालीगुराँस टिपेर चेपाङहरु चितवनको टाँडी र नारायणगढ बजारसम्म पुग्ने गरेका छन् ।
३२ हजार चेपाङले अनिकालको सामना गरिरहँदा पनि सरकारी निकायबाट उनीहरुको समस्या समाधानका लागि पहलकदमी हुन नसकेको चेपाङ सहकारी संस्थाका अध्यक्ष महेन्द्र चेपाङले बताए ।