नगेन्द्र न्यौपाने
……………..”हेर ! शाह खानदानमा नजन्मेको सन्तानलाई कसरी आफ्नो वंशमा मिलाऊँ ?… गल्ती गरेपछि धेरै-थोरै, अगि-पछि सजाय भोग्नैपर्छ । हामी दुवैले गल्ती गरेका छौं । बरू तिमी अलि कम सजाय भोग, म नै बढी सजाय भोगूँला । तर म यो संसारिक झन्झटबाट तुरून्त बाहिर जान चाहन्छु । मलाई अहिले बाबु नबनाऊ !”
उहाँको कुराले म आगो भएँ । मैले न कुनै मान-मर्यादा देखेँ न शुभ, तर मेरो भित्री आत्मामा जरा गडेर बसेको आक्रोस आगो भएर बाहिर आउला भन्ने निकै त्रास थियो । किनकि म आगो भएँ भने म जस्तालाई महेन्द्र सरकारले सजाय दिन पनि बेर थिएन । त्यही मेरो हत्या हुन सक्थ्यो । त्यसैले मैले धैर्य देखाउँदै बोलेँ- “मलाई थाहा छ, गल्ती हामी दुवैको हो । त्यो पनि थाहा छ, सजाय हामीले भोग्नैपर्छ । तर यो भ्रूणलाई हजुर किन हत्या गर्न हतार गरिबक्सिन्छ ? यसको गल्ती के छ ? भ्रूण-हत्यालाई ईश्वरले कहिल्यै माफ गर्दैनन् । यसको दाग सात जन्मसम्म पनि मेटिँदैन ।” मेरा अन्तस्करण उथलपुथल बन्दै गयो । मलाई खपिसक्नु भएन । म बोल्दै गएँ- “नारी सृजनाको लागि यो पृथ्वीमा आएकी हुन्, न की भ्रूण-हत्याको लागि । सबै नारीले गर्भलाई अपराध ठान्दै जाने र भ्रूण- हत्या गरिरहने हो भने यो पृथ्वी म/mभूमिमा परिणत हुनेछ । यो संसार प्रष्ट हुन्छ । सूर्य, तारा-वायूमण्डलबाहेक अरु केही बाँकी रहँदैन । मलाई यस्तो जघन्य अपराधको भागीदार नबनाइबक्स्योस् ! म नर्क जान तयार छैन ।… सरकार होशमा आइबक्स्योस् ।”
मेरो कुरा सुनेपछि महेन्द्र सरकार आफू बसेको कुर्सीबाट जुरूक्क उठिबक्स्यो र सरासर कोठाको अर्को भित्तातिर गइबक्स्यो । मलाई पूर्ण रुपमा थाहा थियो, उहाँ निकै विक्षिप्त होइबक्सेको छ । उहाँको मनोविज्ञान नराम्रोसँग छिन्न-भिन्न छ । केही बेर उभिएपछि पुनः नजिकै कुर्सीमा बसिबक्स्यो । मैले हेरिरहेकी थिएँ, उहाँको बिग्रेको मुखाकृति कहिले सिलिङतिर जान्थ्यो त कहिले झ्यालबाहिर । म उहाँको नजिकै गएँ । त्यतिबेला उहाँ चिउँडोमा हात अडयाएर बसिबक्सेको थियो । म पक्का भएँ, उहाँ कसैको बहकाउमा होइबक्सेको छ । कसैले उहाँको कानमा मन्तरेर पढाएको छ । उहाँ आफ्नो निर्णयले त्यस्तो डरलाग्दो विद्रोह देखाउन मान्छे नै होइन । किनकि उहाँको अभिव्यक्ति अन्धकारमय थियो भने बोलीको पृष्ठभूमि धमिलो थियो । त्यसैले मैले उहाँलाई चुनौति दिएर आक्रोसित गराउनुभन्दा ज्ञानी बनाउने निर्णय गरेँ । म उहाँ बसिरहेको नजिकै गएर मीठो लवजमा बोलेँ- “सरकार ! राजा-युवराजबाट गल्ती हुन्छ । उनीहरु यौवनमा अन्धा हुन्छन् । यौवनलाई कसैले रोक्न सक्दैन । भविष्यमा आउने व्यवधानको उनीहरुले अडकल गर्न सकेका हुँदैनन् । यो उनीहरुको जन्मजात पुरूषार्थ मात्र नभई राजकीय संस्कार हो । हजुरभन्दा पहिले पनि यो संस्कारले आफ्नो स्थान लिएको थियो, भविष्यमा पनि अवश्य लिन्छ ।…यो गल्ती होइन ।” म बोल्दै गएँ, उहाँले ट्वालट्वाल्ती मलाई हेरिबक्स्यो । “त्यति टाढा नजाऔँ, हजुरको हजुरबा (पृथ्वीपति)बाट पनि गल्ती भएको रहेछ र सागरविक्रमको जन्म भयो । भ्रूण-हत्या नभई बालकको जन्म नै भयो । हजुरको बुबा (त्रिभुवन)बाट पनि त्यस्ता गल्ती भएका छन् । हो, कति नारीहरु भित्र-भित्र रून बाध्य होलान्, तर भ्रूण-हत्या अवश्य भएको छैन । फेरि मैले मेरो बालकको राजगद्दीको लागि लडेको छैन, उसले राजा हुन पाउनुपर्छ भन्दै हिँडेको पनि छैन । केवल यसले यो पृथ्वीमा जन्म लिन पाउन अनुरोध मात्रै गरेको छु, यसको भीख मागेको छु…. यो बालक हजुरको पनि हो… ।”…………………..
(बी. एन. पुस्तक संसार प्रा. लि.ले प्रकाशन गरेको ऐतिहासिक उपन्यास दरबारबाहिरकी महारानी उपन्यासबाट)
PURA HERERA BHANOULA
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]