कथा- त्यो ‘नयाँ अनुहार’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कथा- त्यो ‘नयाँ अनुहार’

रेम बिक

खै कुन्नि किन हो ? उसलाई हिजो त्यो ठाउँमा जान मन लागेकै थिएन । तर साथीभाइको आग्रहपछि उसले जान्न भन्न पनि सकेन । फेवातालको सिरानतिर रात कटाउने गरि जानै लाग्दा समस्या पर्‍यो पैसाको । गोजी छाम्यो, गोजीमा त पैसा थिएन । त्यसैले अलि अलि गरेर बचाएर राखेको पैसा पनि एटीएमबाट निकाल्नुपर्‍यो । ‘जसो जसो बाहुन बाजे उसै उसै स्वाहा’ भनेजस्तै साथीहरुसंग हुल बाँधेर गएपछि गर्न मन नलागेका र खान मन नलागेका कुराहरु पनि सुजितले कसरी नाई भन्न सक्थ्यो र ? शुरु भयो मतवाली रात । हुलमा एउटा नयाँ अनुहार देख्यो, उसंग चिनजान पनि भयो ।

बिभिन्न खाले भेज र ननभेज जोक्स र चर्को चर्को हाँसो, अन्धकारले गाँज्दै जाँदा मात अझै चढ्दै थियो । पुराना कलेज दिनका सम्झनाहरु भए । छेऊको अर्को साथीले कलेजमा उसले मनपराएको केटीको कुरा गर्‍यो । ‘म एकदम राम्री केटीको खोजीमा थिएँ, राम्री अति राम्री शायद मोनालिसाजस्तै केटी’ कुरा सुनाउँदै ऊ हाँस्न थाल्यो । ‘यस्ती केटीको खोजीमा भौतारिरहेको बेला एउटी केटी कक्षामा अरुभन्दा केहि राम्रो लाग्यो, मलाई ऊ संग बोल्न मन लाग्यो । अनि त भैहाल्यो नी ‘के खोज्छस् कानो, आँखो भनेजस्तै’, हास्दैँ, ‘अनि त बोल्ने विभिन्न बहानाहरु खोजियो । शायद नजिकैको बेन्चमा बसेर चुँईगमको अफर गरेको थिएँ क्यारे । उनले पनि सहजै चुँईगम समाएकी थिईन्, मुस्काउँदै’ उसको मुहारमा पनि रक्सीको मात सहितको मन्द मुस्कान देखियो ।

नयाँ अनुहार भएको, अर्थात ऊ त्यो अनुहारसंग यसअघि कहिल्यै पनि बसेर रक्सी पिएको थिएन । उसको आवाज चर्किँदै गयो, अपशब्दहरुको बहार नै लाग्यो । उसलाई संगै बसेको साथीको कलेज लभस्टोरीको कुनै बाल थिएन । ‘त्यस्ता केटी त कति खेलाईयो, खेलाईयो ?’ त्यस्तै अर्कै खाले एउटा अपशब्द पनि बाक्यसंग जोडिएको थियो । अनि त माहौल एकाएक परिवर्तन । कहाँ एउटा सुन्दर प्रेमकथा सुन्नका लागि सन्नाटा छाएको ठाउँमा चर्को आवाज, पटक्कै नमिलेको । होहल्ला सुनेपछि होटलवाल्नी आईन्, ‘प्लिज तपाँईहरु रातभरी बसेर खाएपनि हुन्छ तर हल्ला चाँहि नगर्दिनुहोला है, यताउति छिमेक भोलि फेरि रिसाउँछन् ।’ सबैले सम्हालेपछि रक्सीले अनमत्त भएको नयाँ अनुहार केही मत्थर भयो । उसैलाई त्यो माहौलमा ल्याउने अर्को साथीले उसलाई अझै विशेष गरि चुप लाग्न आक्रोशयुक्त सुझाव दियो ।

‘मेरो सुझाव मान्छौ भने अबदेखि हामी संगै कलेज जाऔँ न ।’ कथा सुनाईरहेको साथीलाई मन परेकी केटीले केही दिनको निकटतापछि प्रस्ताव राखिन् अरे, ऊ भन्दैथियो,’अनि शुरु भयो संगै क्याम्पस जाने आउने दिनहरु, खुब रमाईलो लाग्थ्यो मलाई उनीसंग यसरी संगै हुन पाउँदा, विदाको दिनमा पनि क्याम्पस जान छुटाईएन, पढ्नेतिर भने ध्यान फिटिक्कै ।’ रक्सीको घुड्कीसंगै चुरोटको धुँवा कालो रातमा फुक्दै कथा अगाडि बढ्यो, ‘त्यसपछि त फोनमा रात रातभर कुराकानी, लभ यु, मिस यु जस्ता एसएमएस, डेटिङ, किसिङ अनि……….।’ माहौलमा केही रस भरियो, सबैका कान ठाडा ठाडा भए । रक्सीले मात्तिएको रातो अनुहार निस्किएको पसिनालाई हल्का पुछ्दै आफ्नो लभस्टोरी सुनाईरहेको साथी एकाएक रुन थाल्यो, अनि त सबैजना ट्ँवा ।

ठीक सही मौका छोपेर नयाँ अनुहारले प्वाक्क बोल्यो, ‘थुक्क मुला, यस्ता केटीको कुरा गरेर रुन्छस्, नामर्द’ एकाएक पहिले कहिल्यै नचिनेको मान्छेलाई रक्सीको मातमा तँ भनेर सम्बोधन गर्दा सबैले नयाँ अनुहारप्रति आँखा ठुलो बनाए । विशेष गरि नयाँ अनुहारलाई ल्याउने केटोले खुब पश्चाताप मानिरहेको थियो, ‘कुन दिनमा यसलाई यहाँ ल्याएछु नी’, यद्यपी सबै मिलेर गर्जिएको नयाँ अनुहारलाई सम्हाले । त्यति भनिसकेपछि कथा रोकियो, माहौलमा फेरी गञ्जागोल शुरु । आँशु थाम्न नसकेर प्रेमी साथी ट्वाईलेट जान्छु भन्ने वहाना बनायो, अनि गयो । रुँदै ट्वाईलेट गएपछि रक्सीको खालमा बसेका सबैजनाको अनुहार निरस देखियो, जुन अनुहारहरु एकैछिन अगाडी कथा सुन्दै गर्दा खुब रसिक भएका थिए । सुजितसंग अलि बढि नै नजिक भएकोले होला साथी रोएको उसलाई ननिको लाग्यो, अनि उसको मन दुख्नेगरि नयाँ अनुहारले बोलको शब्दले एकाएक कन्सिरी तातेर आयो, रक्सीको झोँकमा भएपनि उसले व्यवहारमा त्यस्तो केहि देखाएन । सोँच्यो, ‘संगै आएका साथीहरु संगै बसेर खाएका छन् अनि आफु आफु झगडा गरेका छन् भनेर अरुले भन्लान्, अनि रेष्टुरेन्ट पनि चिनेजानेकै मान्छेको उनीहरुले झन् के सोँच्लान्, कन्ट्रोल बाबु कन्ट्रोल ।’

सुजितलाई थाहा थियो, उसको साथीको बारेका सम्पूर्ण आन्द्राभुँडी । झन् केटीसंगको कुरा त थाहा नहुने कुरै भएन । कलेज पढ्दाताका रमेश (आफ्नो लभ स्टोरी सुनाउँदा सुनाउँदै रुँदै बाथरुम गएको उसको साथी)ले त्यो केटीको खुब गुनगान गाउँथ्यो । ‘मेरी प्रेमीका राम्री छे, उसलाई यो मन पर्छ ऊ मन पर्छ, यस्तो उस्तो, यताऊती अग्य्राङबग्य्राङ’ यस्तैयस्तै गफ लडाउँन्थ्यो ऊ खाली । पहिले पहिले सुजित र रमेश संगसंगै कलेज जान्थे तर, पछि रमेश केटीसंग जान थालेपछि ऊ एक्लै पनि कलेज जान्थ्यो । पछि आएर रमेशले प्रेम गरिराखेको केटी जापान जाने भन्ने कुरा आयो । एक्लै हिड्डुल गर्न बोर लागेपछि सुजित पनि रमेश र उसकी प्रेमीकासंगै यताउता हिँड्थ्यो । त्यसैले उनीहरुको सम्बन्धको बारेमा धेरै कुरा जान्दथ्यो । पछि गएर थाहा भयो, रमेशको प्रेमीका भनाउँदी केटी त पहिल्यै विहे भैसकेको रहिछ, उसको श्रीमान् जापानमा कार्यरत रहेकोले उसले मन वहलाउनकै लागी मात्रै रमेश संग सम्बन्ध बढाएकी रै’छ । तर रमेशले त्यो केटीलाई खुब माया गथ्र्यो । रमेशले उसको बारेमा आफ्नो घरकाहरुसंग पनि कुरा गरिसकेको थियो । त्यो केटी जापान गईसकेपछि रमेशले हरेक रक्सीको बसाँईमा उसको कुरा गरेकै हुन्थ्यो । र, कहिलेकाहीँ रुन्थ्यो पनि । त्यसयता उसले केटीहरुसंग सम्बन्ध बढाउनु भनेको धोखा खानु हो भन्दै आएको थियो ।

 ’आईस् हैन त ड्ँवा ड्ँवा रोएर, लाज नभएको नकचरो’ नयाँ अनुहार बाथरुमबाट आएको रमेशलाई देख्नेवित्तिकै कुर्लियो ‘तँ त यस्तै हो भने बाँच्नुको पनि कुनै अर्थ छैन, जाबो एउटी केटीसंग बिहे गर्न पाईन भनेर रुन्छ यार ।’ संगै भएका अरु तीन जनाले नयाँ अनुहारलाई पुन: ठम्ठम्याए । यसपाली उसको स्वर रोकिएन । झन् चर्को भयो । पटक पटक सम्झाउँदा पनि उसले मानेन । शायद रातको दश बजेको थियो होला घडीमा, उसको स्वरले वरिपरीको सन्नाटालाई पुरै जितेको थियो । ऊ खुबै ठुलो युद्ध जितेर खुशियाली मनाएजसरी अझै बेस्मारी चिच्याईरहेको थियो । चिच्याहटसंगै गाली र अपशब्द पनि उसले जोडेकै थियो । ‘यो खाएपछि यस्तै छ,माईन्ड नगर है केटा हो’ नयाँ अनुहारलाई साथमा ल्याउने साथीले उसको तर्फबाट माफी माग्यो । सुजितलाई भित्र भित्रै भाउन्न भैराखेको थियो, त्यत्तिकैमा प्याच्च बोल्यो नयाँ अनुहार,’त्यस्ता मुला रुन्चे, नकचरो, पानीमरुवा, नामर्दलाई साथी बनाउनेहरुले मलाई रक्सी खान बोलाउने ?’ यो सुनेपछि सुजितलाई सहिनसक्नु भयो, ऊ भित्रको रिस पोखियो, अनि रक्सीको बोतल उठाएर हान्यो नयाँ अनुहारलाई टाउको फुट्नेगरि ।

बिहान उठ्दा सुजितको टाउकोको नशा पुरै फुट्लाजसरी टनटनी दुखिराखेको थियो । ‘बेलुका धेरै भएछ क्या हो’ सुजितले मनमनै भन्यो र उठ्न खोज्यो, ‘ऐया, साले गधाले ढाडमा नराम्ररी हानेछ ।’ उठेर हेर्दा रमेश घुरिरहेको थियो । अर्को कोठामा अन्य साथीहरुलाई हेर्न जाँदा त्यहाँ कोहि थिएनन् । ‘खुब झन् राम्रा भाईहरु भनेर रातीसम्म बसेर खान दिएँ, तिमिहरुले त मेरो बेईज्जतै गर्‍यौ नी’ साउनी दिदि एकाविहानै कड्किईन्,’अबदेखि म तिमिहरुलाई कहिल्यै पनि दिन्न ।’ एकाविहानै रुखो बोलीले दिमाग झन् दुख्यो सुजितको । तर, चुपचाप वाथरुम छिर्‍यो । फ्रेश भैकन आउँदा रमेशले उठेर सिरकभित्रैबाट चुरोट उडाईरहेको थियो । अरु साथीहरु त्यहि नयाँ अनुहारसंगै राती नै निस्केको भन्ने उसले होटलवाल्नी दिदिबाट सुन्यो । तर पैसा,’पैसा तिरेका होलान् कि नहोलान्’ पुरै शंका सहित सोध्यो,’दिदि पैसा के कति भयो ?’ बिल आयो, पुरै पाँच हजार रुपैँया । सबैले बराबरी उठाउने अनि रमाईलो गर्ने भनेर गएको उसले मन अमिलो पार्दै विल बुझायो अनि रमेशको साथमा होटलबाट निस्कियो ।

नेपाल बन्दको दिन । बेलुका ट्याक्सी चढेर फेवातालको सिरान पामे पुगेका मध्ये दुई जना सुजित र रमेशलाई हिँड्नुको कुनै विकल्प रहेन । हिँड्दै हल्लनचोक आईपुग्दा पसिनाले ज्यान निथ्रुक्कै भिजेको थियो । रातभरी खाएको रक्सी शायद त्यहि पसिनाबाट बगे होलान् । मनभित्र अनेकन कुरा खेलाउँदै जाँदा सुजितले अघिल्लो रातको घटना सम्भिmयो । ‘कहिल्यै भएको थिएन यस्तो त ?’ उसले मनमनै सम्झ्यो अनि रमेशलाई हेर्‍यो, राती रोएकोले होला रमेशका आँखा राता थिए, फेरी उसले आफ्नो नजरले सुजितलाई हेर्न पनि सकेन । उसले सोच्यो,’आखिर रक्सीले त कहिल्यै पनि रमाईलो हुँदैन रै’छ, झन् साथीभाईलाई झगडा पार्नका लागी उक्साउँदो रै’छ ।’ गाउँबाट पढ्नका लागी भनेर आएको मान्छे रक्सीमा पैसा फाल्दा खान समेत अपुग हुने भविष्य सम्झिएर एकचोटी किसानी गर्दै आफुलाई दुःखसाथ खर्च पठाउने आमाबाबु सम्झियो, सुजितले । अनि निर्णय लियो,’अबदेखि कहिल्यै रक्सी खान्न, सत्ते’ तर फेरी साँझ अर्को साथीको जन्मदिन पर्‍यो ।

One Comment on “कथा- त्यो ‘नयाँ अनुहार’”
  • िदपेन्द् गाहा मगर wrote on 19 March, 2013, 8:09

    Story ramro lagyo. yesma gaau baata padhna bhanera aayeka college student haruko byetha dekhaiyeko chha. yethartha ma pani yetai nai hune gardachha. dhanyabad!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु