४ चैत, बेरुत । सिरियाको आलेप्पो प्रान्तमा रहेको सरकारी शस्त्रभण्डार त्यहाँको विद्रोहीले आफ्नो कब्जा लिइएको समाचारमा जनाइएको छ ।
सिरियाको आलेप्पोमा चार दिनसम्म सरकारी सैनिक र विद्रोही बीचको भएको भीषण झडपपछि सो शस्त्रभण्डार कब्जा गरिएको विद्रोही सैनिक स्रोतले एएफपी समाचार समितिलाई आइतबार जनाएका छन् । सिरियाको दक्षिणी भागमा पर्ने आलेप्पो प्रान्तको खान तोमान गाउँमा सो सरकारी हातहतियार कब्जामा लिइएको जनाइएको छ । सो हातियार कब्जाको सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले पनि पुष्टि गरेको छ ।
सिरियाली आन्दोलन गत शुक्रबारदेखि तीन वर्षमा प्रवेश गरेको छ । सो आन्दोलनका क्रममा ७० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको मानव अधिकारवादीहरूले जनाएका छन् । साथै कयौं नागरिकले यो अवधिमा सिरियाली सरकारको दमन सहेका छन् । मानवअधिकारवादीका अनुसार आन्दोलनका क्रममा हजारौँ नागरिक घाइते भएका छन् र अरु कयौँ बेपत्ता बनाइएका छन् ।
हराउने र बेपत्ता हुने नागरिकको वास्तविक तथ्याङ्क नै नरहेको उनीहरुको भनाइ छ । राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको सो आन्दोलन तीन वर्षमा प्रवेश गरिसक्दा पनि यसको शान्तिपूर्ण समाधानको कुनै विकल्प भने अहिलेसम्म पनि देखिएको छैन । यसप्रति विश्वका नेताहरु थप चिन्तित बनेको समाचारमा जनाइएको छ ।
राष्ट्रपतिको राजिनामाको मागगर्दै आएको भएपनि आफूले राजिनामा नदिने र सत्ता पनि नछोड्ने अडानमा असाद रही आउनुभएको छ । यसले गर्दा सिरियामा प्रतिदिन समस्या थपिँदै गएको छ । रासस/एएफपी