५ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा आर्मी र मच्छिन्द्रले बराबरी खेलेका छन् । सुपर लिगमा दुई खेलमा लगातार हार व्यहोरेको आर्मीले इन्जुरी टाइममा नवयुग श्रेष्ठले गरेको गोलको मदतमा आर्मीले मच्छिन्द्रसँग १-१ को बराबरी खेलेको हो ।
बराबरीसँगै मच्छिन्द्र १८ खेलबाट ३१ अंकका साथ चौथो स्थानमा छ भने पुछारमा रहेको आर्मीको २९ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले पहिलो हापको इन्जुरी टाइममा उपहार गोलबाट अग्रता लिएको थियो । कर्ण लिम्बुको प्रहार रोक्ने क्रममा जितेन्द्र कार्कीको आत्मघाती गोल गरेका थिए ।
दोस्रो हापमा डिफेन्सिभ खेलेको मच्छिन्द्रले इन्जुरी टाइममै गोल खायो । आर्मीका लागि सन्तोष नेपालीको पासमा नवयुग श्रेष्ठले हेड गोल गरेका हुन् । रेफ्रीले अफसाइड नदिएको भन्दै विरोध गरेपछि दोहोरो पहँलो कार्ड खाएका मच्छिन्द्रका कप्तान दिपक राई अन्तिममा मैदानबाट बाहिरिएका थिए ।