गौतम दाहाल
बाल्टिमोर । अमेरिकामा रहेका नेपालीहरुको स्थानीय सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को आन्तरिक विवादका कारण संगठनको भविष्यप्रति नै चिन्ता र गम्भीर चासो देखिन थालेको छ । प्रत्येक दुई वर्षमा हुने साधारण सभाबाट मार्च महिनाभित्र नै नयाँ कार्य समितिलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने विद्यमान विधानमा प्रष्ट उल्लेख छ । विद्यमान विधानको धारा नौ को उपधारा एकमा प्रष्ट रुपमा उल्लेख छ कार्य समितिको कार्यकाल दुई वर्षका लागि हुनेछ र हरेक दुई वर्षको मार्च महिनामा कार्य समितिको कार्यकाल सकिनेछ ।
तर यस वर्ष मार्च २४ मा हुन लागेको निर्वाचन प्रक्रियाप्रति अध्यक्षका प्रत्यासीद्धय सतिश चापागाईं र गौतम दाहालले गम्भीर असहमति जनाउँदै आफूहरु प्रक्रिया सुधार नगरिएसम्म जारी प्रक्रियाबाट निर्वाचनमा जान नसक्ने भन्दै निर्वाचन समिति,बाना कार्य समिति र बाल्टिमोरमा रहेका अन्य संघ,संस्थालाई पनि लिखित जानकारी गराएपछि अब के गर्ने र यसको समाधान कसरी गर्ने भन्ने बारेमा विभिन्न चरणमा छलफल जारी रहेको छ । तर बाना कार्य समितिले आइतवार राती एक विज्ञप्ती जारी गरी निर्वाचन प्रक्रिया सुचारु जारी रहेको उल्लेख गरेको छ । जसले गर्दा उम्मेदवारका प्रतिष्पर्धीहरुले व्यक्त गरेको चासो र चिन्तालाई समेत बेवास्ता गर्दै बाना कार्य समिति एकोहोरो निर्वाचनका लागि मात्र अग्रसर भएको देखिएको छ । यसैबीच पछि थप गरेर सार्वजनिक गरिएका सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै अध्यक्षका प्रत्यासीद्धय सतिश चापागाईं र गौतम दाहालले गरेको दावी विरोध पनि आइतवार बसेको बाना कार्य समितिको बैठकको निर्णय भन्दै त्यस उपर कुनै दावी विरोध नलाग्ने भनि जवाफ दिइएको छ ।
जवाफमा उक्त सदस्यका नामहरु दर्ता हुँदा निर्वाचन समितिका प्रमुख पनि उपस्थित रहेको र ती सदस्यहरुको दर्ता समय सीमाभित्रै अर्थात् मार्च १३ तारिख राती ११.५० मा गरिएको जनाइएको छ । यस बारेमा निर्वाचन समितिका प्रमुखले केही प्रतिक्रिया जनाएका छैनन् । बाना कार्य समितिले मतदाताको अन्तिम सूची भनेर चारसय जनाको नाम सार्वजनिक गरेको छ । दुई वर्ष अगाडि एक हजार चार सयभन्दा बढी सदस्य रहेको बाना निर्वाचनमा के अहिले यिनै चारसयले मात्र मतदानमा भाग लिने हुन् त ? यति न्यून संख्याको सहभागिता र अन्य प्रत्यासीको असहमति र विवाद कायमै रहेकै अवस्थामा निर्वाचन कसरी होला त भन्ने आम चासो बानाका शुभेच्छुकहरुका बीच देखिएको छ ।
यसैबीच आइतवार स्थानीय विभिन्न संघ,संस्थाका प्रतिनिधिहरु,बानाका संस्थापक,आजीवन सदस्यहरु,पूर्व पदाधिकारीहरु र सक्रिय सदस्यहरुले एक छलफल गरी विवाद र अन्यौलको बीच निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन तत्कालका लागि स्थगन गरेर सहमतिको वातावरण निर्माण गर्न अग्रसर हुन बाना कार्य समितिलाई लिखित दवाब दिएका छन् । अहिलेको सदस्यता सम्बन्धी र अन्य आन्तरिक विवाद समाधान नगरी केवल निर्वाचन भन्दै एकोहोरो ढंगले अघि बढेमा कुनै निकास ननिस्कने भन्दै कतिपय आजीवन सदस्यहरुले यस्तो रबैयाको निर्वाचन आफूहरुले बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् । उनीहरुले यस सम्बन्धमा लिखितरुपमा नै बाना कार्य समिति र निर्वाचन समितिलाई समेत जानकारी दिइसकेका छन् । यसरी निर्वाचन स्थगन गर्नका लागि आग्रह गर्नेहरुमा स्थानीय नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टर, कास्की समाज,पर्वत मोदी काली समाज, ग्रेटर वासिंगटन तमु समाज,नासो कम्युनिटी, ग्लोबल एजुकेशनल,कल्चरल एण्ड लिटररी सोसाइटी,गेल्सा, नेपाल अमेरिका पब्लिक अफेयर्स काउन्सिल लगायतका संघ,संस्था रहेका छन् ।यता बानाका पूर्व अध्यक्ष रबिना थापाले सहमतिको वातावरण निर्माण गर्न आफूसहित संस्थापक अध्यक्ष मोहन थापा र पूर्व अध्यक्ष कृष घिमिरे प्रयासरत् रहेको जानकारी दिनुभएको छ ।
If the form was given on time we all could have voted, but these people have Ego. and because of them many people have lost their voting rights.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]