कविता – चुनाव र चटक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कविता – चुनाव र चटक

दीपेन्द्र के.सी.

खोलाहरु उल्टा बगेर

हिमालको जरामा थिग्रदैछन

झरेका पातहरु फेरि

हाँगा खोज्दै हिंडेका छन्

तर मध्यदिन, चमकन्न सूर्य

बस्ती अँध्यारोको अँध्यारै छ

अँध्यारै पर्दा हालेर

अँध्यारैमा आज–

फेरि एउटा चटक शुरु होला जस्तो छ ।

 

दुई शताव्दी खर्लप्पै निलेर

मध्ययुगबाट एक सिँढी उक्लन नसकेको बस्तीमा

लोडसेडिङ, बिश्वबैंक र एडीवीको

विकासे ऋणको भारीको खातमा उक्लिएर

विकासको फेहरिस्त प्रस्तुत गर्न

एकटोली चटकेहरु

गाँउ पस्दैछन चुनाव बोकेर !

अव फेरि

एउटा चटक शुरु होलाजस्तो छ

चमकदार, वजनदार, दार्शनिक र नयाँ नेपाल झल्कने

घोषणापत्र लोकार्पण र वाचनसँगै

ईन्द्रजालको नाईकेको नेतृत्वमा ।।

 

थाकेको वस्ती –

उज्यालो कुरेर अँध्यारैमा निदाएको वेला

चटकेहरु चोर्नेछन मनग्गे भोटहरु

र, उज्यालो भैनसक्दै वेचेर लिलामीमा

छिरिसक्नेछन नयाँ बानेश्वर, सिंहदरवार र बालुवाटारका गेटभित्र

र, ढुक्कसँग निदाउनेछन……………….बर्षसम्म

अर्को चटक तयार नभइञ्जेलसम्म ।।।

 

फेरि एउटा चटक शुरु होलाजस्तो छ

आज क्याविनेट बस्दैछ

निर्वाचन घोषणा गर्न

केन्द्रीय समिति बस्दैछ

रिहर्सल गर्न ।।।।

 

6 Comments on “कविता – चुनाव र चटक”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु