राजेश कोइराला
वासिङटन डिसी । अमेरिकाको मध्य-पश्चिम र दक्षिण-पूर्वी राज्यमा बस्ने नेपालीहरूले सम्मेलन तयारीमा जुटेका छन् । यस क्षेत्रका नेपालीहरूका दुई ठूला संगठन छन्, एसोसिएसन अफ नेप्लिज इन मिड-वेस्ट अमेरिका (आन्मा) र नेप्लिज एसोसिएसन इन साउद-इस्ट अमेरिका (नासा) ।
आन्मा र नासाले गर्दै आएको संयुक्त सम्मेलन यस वर्ष साउथ क्यारोलाइनामा गर्ने भएको छ । आन्मा-नासाको ९ औं सम्मेलन अगस्त ३० देखि सेप्टेम्बर १ मा साउथ क्यारोलाइनाको ग्रिनवर्ग/स्पार्टनवर्गमा हुने भएको छ । यस वर्षको सम्मेलन गर्ने जिम्मेवारी साउथ क्यारोलाइना एसोसिएसन अफ नेप्लिज (स्क्यान)ले लिएको सम्मेलनका अध्यक्ष रामचन्द्र बरालले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । गत सालको सम्मेलन इन्डियाना राज्यको इन्डियाना-पोलिसमा भएको थियो ।
सन् १९८२ मा स्थापना भएको आन्मा र सन् १९९१ मा स्थापना भएको नासाको उक्त संयुक्त सम्मेलन अमेरिकी लेबर डे (सेप्टेम्बरको पहिलो सोमबार) मा सकिने गरी आयोजना गरिंदै आएको छ । आन्मा, संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिममा बस्ने नेपालीहरूको संगठन हो । नासाले अमेरिकाका दश राज्य : फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेन्नेसी, अलाबामा, मिसिसिपी, अर्कान्सास, लुजियाना र केन्टकीका नेपालीलाई समेट्छ ।