८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन थालेपछि राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको भीडभाड कम हुन थालेको छ । ढुवानी व्यावसायीहरुको गरेको तीन दिने हड्ताल र राजनीतिक दलहरुको दूई दिने नेपाल बन्दको कारण राजधानीलगायत देशका विभिन्न शहरहरुमा पेट्रोलियम पदार्थको चरम अभाव देखिएको थियो । पेट्रोलियम पदार्थको अभावलाई सहज बनाउन निगमलाई हम्मे-हम्मे परेको थियो ।
अहिले पनि कतिपय पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन देखिए पनि निकै कम भएको पेट्रोलपम्प व्यवसायीहरुले बताएका छन् । ‘आवश्यक मात्रामा सबै पेट्रोल पम्पहरुलाई तेल उपलब्ध गराएका छौं’ निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भन्नुभयो- ‘अब सबै पेट्रोल पम्पहरुबाट तेल सहजै उपलब्ध हुन्छ ।’ निगमले बुधबार पेट्रोल पम्पहरुलाई पेट्रोल ४ सय किलो लिटरभन्दा बढी र डिजेल ५ सय किलोलिटरभन्दा बढी उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । निगमले आज पनि सोही परिमाणमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने बताएको छ ।
मन्त्रिपरिषदले उपलब्ध गराएको १ अर्ब ऋणको चेक शुक्रबारसम्म उपलब्ध हुने बताउँदै प्रवक्ता पुडासैनीले उक्त रकम पाएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा थप सहजता हुने बताउनुभयो । निगमले सरकारबाट भ्याट रिफन्डबापत पाउनुपर्ने ८० करोड रुपैयाँमध्ये ७० करोड रुपैयाँपाईसकेको छ । ‘यति रकमले दूई महिनासम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सकिन्छ’ उहाँले भन्नुभयो- ‘त्यति बेलासम्म त स्थानिय बजारमा तेलको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन भईसक्ला ।’
पेट्रोलियम पदार्थको सहज आपूर्ति सुरु हुनै लाग्दा नेपाल पेट्रोलियम डिलर्स एशोसियसन र नेपाल ढुवानी व्यवसायी महासंघले आन्दोलनको तयारी गरिरहेका छन् । दूबै संघले शुक्रबार र शनिबार केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् । बैठकले आफ्ना मागहरु पूरा गराउन अनिश्चितकालीन हड्तालको घोषणा गर्दैछ ।