Comments Add Comment

संसारभरिको एनआरएनमा विवादै विवाद

महेन्द्र पौडेल

विश्वभर आफ्नो सञ्जाल रहेको गर्व गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रभित्रै मक्किसकेको छ । गुट फूटको राजनीतिक, जातीय, क्षेत्रीय प्रभावले गाँजेको एनआरएनको विवाद अहिले आएर छताछुल्ल भएको हो ।

mahendra picture

अधिकांश नेपालीहरुको बाहुल्य रहेका देशहरु जापान, अमेरिकालगायत युरोपका देशहरु बेलायत, जर्मन, बेल्जियममा एनआरएन विवादित बनेको छ । उच्च शिक्षाका लागि अध्ययन, व्यापार व्यवसायमा सफल साथै नेपालीहरुको सपनाका देश मानिने यी देशहरुमासमेत झै झगडा, कुटाकुट र हातपात भइदियो । यो विवादको हाँगा अष्ट्रेलियादेखि खाडीसम्म सल्किसकेको छ ।

विवादको शुरुवात बेल्जियमबाट

अत्यन्तै विवादित र विवादास्पद कुरा गर्ने, काम नगर्ने, सदस्य रकम हिनामिना गर्ने, खातामा भएका पैसाको अपचलन गर्ने, नेपाल हाउस बनाउने भनेर नेपालवाट पण्डित बोलाएर सप्ताह गर्दै दान कबुल गराएर स्वयं एनआरएनका पदाधिकारी र स्वघोषित समाजसेवीले दान कबुल गरे, करिव ७ लाख ५० हजार युरो रकम उठाइएको भनि प्रचार प्रसार गरियो । नेपालका ठूला मिडियामा छापियो । अन्तत : करिव ३ वर्ष पुग्न लाग्दा पनि त्यो रकम उठ्न सकेन, नेपाल हाउस बन्न सकेन । यी यस्ता ललीपप नारा दिएर पद हुत्याउनेहरुले भने स्वघोषित समाजसेवीको विल्ला भने पाइरहे । तर, यी यस्ता विषयहरु बाहिर आउनेवित्तिकै पत्रकारलाई धम्काउने, पत्र काट्ने, हतोत्साही बनाउने अत्यन्तै अराजकशैलीको सुरुवात बेल्जियमबाट भयो ।

पहिलेदेखि नै राजनीतिक गुटमा विभाजित एनआरएन काँग्रेसको भातृसंगठनको निर्वाचनमा स्पष्ट देखा पर्‍यो । एकपक्षले भातृसंस्थालाई तिक्डम प्रयोग गरी आफ्नो पक्षमा पारे । फलस्वरुप पराजीतहरुले रोष पोख्ने ठाउँ भेटे एनआरएनको निर्वाचन । अन्तत एनआरएनको निर्वाचनमा गुटवन्दी सिर्जना भयो, दुबैपक्षका प्यानल अन्तरगत घोषणापत्रविहीन निर्वाचन सम्पन्न भयो । काँग्रेसका दुई कार्यकता चुनावमा होमिए भातृसंगठनमा हारेकाको विजयी भएपछि अर्को पक्षले धाँधलीपूर्ण भएको आरोप लगाएर केन्द्रमा जानकारी पठायो । विधिवतरुपले अधिवेशन भैसकेर निर्वाचन भैसकेपछि परिणाम आउनुभन्दा केही घण्टा अगाडि निर्वाचन वहिष्कार गर्दै विवादको विऊ रोपियो यहाँवाट एनआरएन दुइटा हुने क्रमको सुरुवात भयो ।

जापानमा विवाद

एनआरएनका संरक्षकसमेत रहेका देवमान हिराचन र वर्तमान एनआरएनका कोषाध्यक्षसमेत रहेका भवन भट्टको कर्मथलो जापान पनि विवादको घेराबाट बाहिर निक्लन सकेन । गैरआवासीय नेपालीहरुको आकर्षकरुपमा रहेको देश साथै नेपालबाट उच्च शिक्षा, घुमघाम, सेमिनार, कन्फरेन्स भाग लिन वा घुम्न गैरसरकारी वा सरकारीहरुको तँछाड-मछाडसमेत हुने देश जापानमा गत जुलाइमा सम्पन्न गर्ने भनिएको एनआरएन अधिवेशन एक अर्कावीच आरोप प्रत्यारोप भएर स्थगित हुन पुग्यो । जापानको कान्तो क्षेत्रीय अधिवेशन समितिको अधिवेशन दौरान हुलहुज्जत बल प्रयोग भएको भन्दै असुरक्षा महसुस भएपछि सुरक्षाका लागि १२ सदस्यीय कार्यसमिति २ जना अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यलगायत ३ जना सल्लाहकारसमेतले वर्तमान अध्यक्ष जीवा लामिछानेसामु राजीनामा दिएका थिए ।

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष जीवा लामिछानेलाई दिइएको सामूहिक राजीनामामा उनीहरुले पछिल्ला दिनमा जापानमा बल प्रयोगमार्फत नेतृत्व लिने प्रकृया तिब्र भएको र जीउधनको सुरक्षा गरी काम गर्न सक्ने अवस्था नभएकोले राजनीनामा गरिएको उल्लेख गरिएको थियो । अन्ततः विवादबीच अगष्टमा १८ मा सारिएको अधिवेशन आपसी समझदारीमा पदलोलुपताको पराकाष्टा समाधान हुन नसकेपछि अचम्मको निर्वाचन गरिएको थियो । हुलाक सेवामार्फत मत पठाएर मत गणना गरी परिणाम निकाल्ने ।

अमेरिका पनि के कम 

यही अगष्टमा एनआरएन अमेरिकाको अधिवेशन गरिने जानकारीमा आए पनि त्यहाँ राजनीतिक गुट, उपगुट सिर्जन भएपछि अध्यक्ष रहेका प्रल्हाद केसीको टिमले सामुहिक राजीनामा केन्द्रीय अध्यक्षसामु पेश गरेको थियो । केसीले अमेरिकी कानुन, एनआरएनको विधान र नियम पद्दतिभित्र रहेर निर्वाचन गर्न चाहेको तर गर्न नसकिएको गुनासो गरे । उनले भने ‘संस्थाको अवधारणा, मूल्य र मान्यतामा विचलित नभई कामगर्ने वातावरण बनाउन र गर्न खोज्दा बाधा, अड्चन, केही समुहका गुट र उपगुट हुन्छन् भने उपयुक्त बाटो भनेकै राजीनामा हो’ । उनसहित सामुहिक राजीनामा दिनेहरु क्षेत्रीय संयोजक मुकेश सींह, सह संयोजक रामचन्द खरेल, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य डा अम्बिका प्रसाद अधिकारी, सोनाम लामा अन्जना श्रेष्ठ, डा शम्भु ढुंगाना, रमाकान्त खरेललगायत छन् ।

बेलायतमा झन उपद्रो

केन्द्रीय एनआरएका संस्थापक सदस्य तथा वर्तमान उपाध्यक्ष क्या. हितमान गुरुङ र एनआरएनका कानुनी सल्लाहकार तथा कानुनविद सूर्य सुवेदीको कर्मथलोसमेत रहेको एनआरएनको जननीको शुरुवातसमेत भएको बेलायत जहाँ नेपालीहरुको ठूलो र पुरानो बसाइ र विवाद छ । अधिकांश शिक्षित वर्ग बसोबास गरेको ठाउँमा भित्रभित्रै भुसको आगोसरी डढेको छ । अनुमानित नेपालीहरुको ३ लाख बसोबास रहेको एनआरएनमा केवल ३ हजार पंजीकृत सदस्य रहेको थियो । विगत कार्यकालमा केही रेष्टुरेन्ट व्यवसायीको मिलेमतोमा पदको बाँडफाँड गरिए पनि योपटक चाँहि फरक देखियो ।

एनआरएन सबैको हुनुपर्दछ । सबैको पहुँच र व्यवसायीको मात्रै नभएर हामी सबै एनआरएन हौं भन्ने गर्व गर्ने ठाउँ हुनुपर्दछ भन्ने सोच लिएका निर्वतमान उपाध्यक्ष तथा अध्यक्षका दाबेदार महेन्द्र कँडेलले करिव ११ हजार सदस्य बनाए । तर, निर्वाचन समितिले त्यसलाई एनआरएनको सदस्यता हुनवाट वन्चित बनाएपछि विवाद चुलियो । भर्खरैमात्र जानकारीमा आएअनुसार करिव साढे ५ हजार जति एनआरएन वेलायतको सदस्यता स्वीकृत गरेको बेलायत एनआरएन निर्वाचन समितिले ११ हजार सदस्यता फारामलाई धोती लगाइदिएपछि असन्तुष्ट समुहले छुट्टै भेला गरी डा. पुरुषोत्तम पौडेलेको संयोजकमा नयाँ निर्वाचन समिति र संयोजक र सदस्यहरुलगायत विभिन्न समितिहरु तोकियो ।

जर्मनमा त झन कुटाकुट

एनआरएन जर्मनमा पाँचजनाले अध्यक्ष ताकेका छन् जसलाई सहमतीय एनआरएन जर्मन बनाउने अभियानमा लागेका संरक्षक तथा आगामी कार्यकालका लागि उम्मेदवार दिएका रामप्रताप थापालगायत युवा पुस्ताका काँग्रेसका कार्यकता जनसम्पर्क समिति जर्मनका अध्यक्ष शरण केसी, पुष्प थापा, दिल गुरुङजस्ता लामो समयदेखि जर्मन बसेका उनीहरुको कर्मथलोका रुपमा रहेको जर्मनमा कार्यक्रमस्थलमै एनआरएन जर्मनीका अध्यक्षका उमेदवार विजय मोक्तान र अन्तर्राष्ट्रिय समन्वय परिषदका उमेदवार सुरेन्द्र प्रधानमाथी, एमालेको भातृसंगठन नेपाली लोकतान्त्रिक मञ्च -एनडिएफ) ले जिम्मेवारी सम्हालेका कुम्भराज रेग्मीले हातपात गरेका जानकारीमा आएका छ । सो समयमा केन्द्रीय अध्यक्ष जीवा लामिछाने र अष्ट्रेलियाका धनी तथा आगामी अध्यक्षका दावेदार शेष घलेका पनि उपस्थितिमा थियो । यस्तो तल्लो र नीच हर्कतका लागि विभिन्न क्षेत्रवाट विरोध भइरहेको छ । जर्मनका विषयमा संरक्षकसमेत रहेका रामथापाका अस्तित्वलाई संकटमा पार्न, उनलाई अरुहरुका अगाडी धर्मराउन सुनियोजित प्लान अनुसार केन्द्रीय अध्यक्ष जीवा लामिछाने र अध्यक्षका उमेदवार शेष घलेलाई निम्ताई यो घटना घटाइएको सुत्रले बताउँछ । नत्र त्यहाँ उहाँहरुलाई निम्ताइनु आवश्यक थिएन ।

अन्य देशमा पनि विवादै विवाद

यसैगरी यही १३ जुलाइमा गरिने भनिएको इजराइल एनआरएको चुनाव पनि विवादै विवादका कारण सार्न परेको थियो । हतास मनस्थिति र गुट उपगुटले त्यहाँ सुनियोजित रुपले निर्वाचन सप्टेम्वर १३ मा सार्दै गर्दा अधिकांशले राजीनामा दिइसकेका छन् । विदेशमा बसेर पनि कोठे र टिके प्रथाभएको भन्दै असन्तुष्टले अर्को भेला अर्को एनआरएन घोषणा गर्ने संभावना देखिएको छ । त्यस्तै विवाद इटली, स्पेनलगायत हल्याण्डमा समेत देखिएको छ । पोर्चुगल, कुवेत, कतार, साउदीलगायतमा विवाद यथावत नै छ भने मकाउमा कुनै बेला सामुहिक राजीनामा समेत भएको थियो भने हङकङ र बेल्जियमले फेरि निर्वाचन मागिरहेको छ ।

केन्द्र मौन ?

केन्द्रलाई पूर्ण थाहा हुँदाहुँदै पनि यी विवाद हुनुको पछाडि राम्रो अनुगमन नहुनु, एकले अर्कोलाई बोकेर गुटवन्दी गर्नु, एक अर्काप्रति सहयोगी भावना नहुनु यावत कारण छन् । कुनै विवाद भयो भने केन्द्रले स्वतन्त्र व्यक्तिलाई राखेर निष्पक्ष जानकारी लिनुको साटो उल्टै पार्टीका मान्छे, केही अपवादीहरुले पठाएको रिपोर्टलाई आधार मान्नु गलत हो ।स्वतन्त्र र निष्पक्ष पार्टीमा गुट र उपगुटमा नलागेका मानिसलाई मूल्यांकन गर्दै जानकारी लिने कार्यदल बनाउने हो भने यथोचित सुचना पनि समयमै पुग्ने थियो । यो परिस्थिति बेल्जियमको विवादमा केन्द्रले पार्टीका मान्छेका कुरा सुनेर गरेको सकारात्मक तर, तर्कहीन निर्णयले देखाउँछ ।

(लेखक बेल्जियमका गैरआवासीय हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment