Comments Add Comment

गगन थापाले प्रचण्डको साटो पासाङसँग चुनाव लड्ने

१७ भदौ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लड्ने बताउँदै आउनुभएका नेपाली कांग्रेसका युवा नेता गगन थापा अन्ततः एमाओवादीका पूर्वसैन्य कमाण्डर नन्दकिशोर पुन (पासाङ) सँग चुनाव लड्ने लगभग निश्चित भएको छ । एमाओवादीले पासाङका लागि नाम सिफारिस गरेको काठमाडौं ४ नम्बर क्षेत्रमै कांग्रेस नेता थापाको पनि नाम सिफारिस भएको छ ।

gagan-with-pasangकांग्रेस नेता थापालाई आगामी संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउन पार्टीले सिफारिस गरेको हो । क्षेत्रीय समितिले थापासहित ३ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । थापासँगै महासमिति सदस्य चिरञ्जीवीनिधि तिवारी र क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठको नाम पनि सिफारिस भएको छ । स्रोतका अनुसार थापा उम्मेदवार बन्ने प्रवल सम्भावना छ ।

अघिल्लो निर्वाचनमा विजयी पूर्वसभासद सुप्रभा घिमिरेको नाम भने यसपटक समानुपातिकमा राखिएको छ । घिमिरेले भने समानुपातिकमा सभासद हुने पक्का नभए प्रत्यक्षमै उम्मेदवार बन्ने इच्छा देखाउनुभएको छ । यस्तै नेपाल सांस्कृतिक संघका कार्यवाहक अध्यक्ष राजु श्रेष्ठ, कर्माछेरिङ शेर्पा, आत्माराम पौडेल र अनार बस्नेतलाई पनि कांग्रेसले समानुपातिकमा सिफारिस गरेको छ ।

काठमाडौं क्षेत्र नं ४ मा एमाओवादीले पासाङको नाम सिफारिस गरेको छ । यद्यपि पासाङको नाम रोल्पा र दाङबाट पनि सिफारिस भएको एमाओवादी स्रोतले बताएको छ । गगन थापाका लागि छानिएको क्षेत्रमा एमालेबाट विद्या भण्डारीको नाम चर्चामा आएको छ । तर, स्थानीय नेता एवं काठमाडौंका एमाले अध्यक्ष निर्मल कुइँकेलको नाम पनि क्षेत्र नं ४ बाटै सिफारिसमा परेको एमाले स्रोत बताउँछ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट महामन्त्री प्रकाशमान सिंहको मात्र नाम सिफारिस भएको छ भने २ र ३ बाट नाम आउन बाँकी छ । क्षेत्र नम्बर ५ बाट नरहरी आचार्य, क्षेत्रीय सभापति रेमश खड्का र समुन्द्र खड्काको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ बाट जिल्ला सभापति भिमसेनदास प्रधान, सपोज वानी र जीवन डंगोल को नाम सिफारिस भएको छ भने ७ को क्षेत्रीय बैठक हुन बाँकी छ । क्षेत्र नम्बर ८ बाट उम्मेदवारका लागि क्षेत्रीय सभापति मोहन बस्नेत, पूर्व सभासद नविन्द्रराज जोशी र पूर्व सभासद कृष्ण अमात्यको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ९ बाट तिर्थराम डंगोल र ध्यानगोविन्द रन्जितको नाम सिफरिस भएको छ भने क्षेत्र नम्बर १० बाट राजकुमार नकर्मी र राजन केसी र घनश्याम खड्काको ना सिफारिस भएको छ । क्षेत्रीय समितिबाट आएको नामलाई अन्तिम रुप दिएर केन्द्रमा पठाउन कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठक १९ गते बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment