Comments Add Comment

एनआरएन महासचिवमा कुमार पन्तको उम्मेदवारी

३ सेप्टेम्बर, काठमाण्डौ । आगामी अक्टुवरमा काठमाण्डौमा हुने गैरआवासीय नेपाली संघको छैटौं बिश्वसम्मेलन नजिकिदै गर्दा अन्तराष्ट्रिय समन्वय परिषद्का महत्वपूर्ण पदहरुमा उम्मेदवारी दिने क्रम बढेको छ ।

यसै क्रममा हाल युरोप क्षेत्रका संयोजक रहेका जर्मनी निवासी गैरआवासीय नेपाली कुमार पन्तले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पन्तले एक बिज्ञप्ति जारी गरी आफ्ना एजेण्डासमेत सार्वजनिक गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको बिज्ञप्तिको पूर्ण पाठ

आदरणीय गैरआवासीय नेपाली मित्रहरु,

नमस्कार !

Kumar panta“नेपालीका लागि नेपाली”, “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने नारासहित १० बर्ष अगाडि स्थापना भएको गैरआवासीय नेपाली संघले ६५ देशमा आफ्नो संजाल बिस्तार गरि विश्व भरि छरिएर रहेका नेपालीहरुको साझा संस्थाको रुपमा एउटा उचाई र हैसियत स्थापना गर्न सफल भएको छ । हामी प्रवासी नेपालीहरुले यो संस्था प्रती देखाएको अगाध स्नेह र विश्वाशले नै १० बर्षको अन्तरालमा यो उचाइमा पुग्न सकिएको हो । बिभिन्न कालखण्डमा बिभिन्न कारणबस बिदेसिन पुगेका हामी गैर आवासीय नेपालीहरु जहाँ बसेर कर्म गरे पनि हाम्रो आत्मा सधैं नेपाली नै छ र सधै रहीरहने छ । अहिलेको युगमा अवसरको खोजी गर्दै संसारका कुना कुना सम्म पुग्नु खासै ठुलो कुरो भएन र यो विश्वब्यापीकरणको सामान्य सुत्र पनि हो तर यही युगमा संसारको कुना कुना सम्म पुगेका हामीहरुको सोच, हाम्रा बिचारहरु र हाम्रा अनुभवहरु आफ्नो जन्मभूमी प्रती लक्षित गराउनु महत्वपूर्ण कुरा हो। त्यसैले जन्मभुमि प्रतिको आफ्नो दायित्वलाई जिन्दगीको अभिन्न अंग बनाउने हेतुले १० बर्ष अघी हाम्रा अग्रजहरुको मिहिन सोचको फलस्वरुप यो संस्थाको जन्म भएको हो । जसको छातामुनी लगानीको माध्यमबाट होस वा सामाजिक वा परोपकारी क्षेत्रमा होस् गैरआवासीय नेपालीहरूको नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको छ, विदेशबाट नेपालमा अनुभव र सीप भित्राउन संस्थागत प्रयास हुन थालेको छ ।

सामूहिक रूपमा गरिने विभिन्न क्रियाकलापहरुले हाम्रो संगठित अभियानको महत्व र गरिमालाई पुष्टि गरेका छन । देश विकासको एक महत्वपूर्ण सहभागी पात्रको रूपमा गैरआवासीय नेपाली संघलाई हेर्ने प्रवृत्तिको विकास भएको छ । संसारका विभिन्न देशमा बसोवास गरिरहेका करिब तीस लाख नेपालीहरूको एकता र उनीहरुले देखाएको समर्पणबाट नै यो सम्भव भएको हो ।

हामीहरु पहिलो पुस्ताका गैरआवासीय नेपालीहरू हौँ, त्यसैले आगामी पुस्ताका गैर आवासिय नेपाली बिचमा देखिन सक्ने बिचलनलाई मध्येनजर गर्दै मातृभूमिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएर मुलुकको रूपान्तरणमा अझ सक्रृय र संगठित योगदान दिँदै यसलाई एउटा परम्परागत संस्कृतिको रूपमा स्थापित गर्ने दायित्व अब हामी युवाहरुमाथि आएको छ । एक युवा व्यवसायीको हैसियतले मैले देखेको र अनुभव गरेको आधारमा भन्नुपर्दा ज्ञान, शिप र पूँजी भएको सचेत र संगठित गैरआवासीय नेपालीको सहभागितामा स्वदेशको विकासमा लगाउनु मात्र महत्वपूर्ण कुरा होइन आगामी पुस्तालाई मातृभूमिसँग जोडीरहनु झनै महत्वपूर्ण कुरा हो । यसका लागि नै हामीले दोहोरो नागरिकताको कुरो उठाएका छौ । नगरिकता सबैथोक होइन तर यसले पुलको काम गर्ने छ र नेपाल देख्दै नदेखेको पुस्तालाई समेत मातृभूमि प्रती उत्तरदायी बनाउने छ । हरेक पुस्तालाई आफ्नो देश प्रतिको कर्तब्यवाट बिचलित नहुने अवस्था सृजना गरेर लक्ष्यमा पुग्ने वातावरण बनाउन हामी जस्ता युवाहरुले अग्रसरता लिनु पर्छ र नेपाल सरकारलाई निती नियम बनाउन त्यही हिसाबले दवाब दिई रहनु जरुरी छ ।

स्थापना कालदेखिनै एनआरएनएका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउदै, संघले सुम्पेका हरेक जिम्मेवारीहरु मैले ईमान्दारीपुर्वक निर्वाह गरेको छु । यस अघि म गैर आवासीय नेपाली संघमा जर्मनीवाट कार्यकारी सदस्य र अहिले युरोपको संयोजक भएर काम गरिरहेको छु ! बिभिन्न सामाजिक कार्यहरु जस्तै विद्यालय स्थापना, पुस्तकालय संचालन, सडक-पुल निर्माण, सरसफाइ, खानेपानी, दैबी प्रकोप आदि परोपकारी क्षेत्रमा आफ्नो क्षमता बमोजिम आर्थिक रुपले सहयोग पुरयाउदै आएको छु ! म जुनसुकै जिम्मेवारीमा रहदा पनि नेपाली समुदायको हित र सबै खाले कमजोरिलाई सच्याएर लैजान प्रयासरत रहेको छु । संघप्रतिको मेरो प्रतिबद्धता,गैर आवासीय नेपाली साथीहरुले गर्नु भएको मुल्यांकन अनि अग्रजहरूको व्यक्तित्व र कार्यक्षमताबाट मैले हासिल गरेको अनुभवका आधारमा संगठनलाई अझ उचाइमा लैजाने चुनौतीलाई नेतृत्वस्तरमा रहेर सामना गर्न सक्छु भन्ने मलाई विश्वास छ । तसर्थ विश्वभरिका अधिकांस धेरै साथीहरूसँगको सल्लाह, अग्रजहरुको सहानुभूति सहितलाई आधार मानेर मैले आगामी अक्टोबर महिनामा सम्पन्न हुने छैठौँ विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको महासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेको छु । मुल्यांकन तपाईंहरुको हो, बाटो तपाईंहरुले देखाएको हो, म त्यसमा तपाईंहरुकै हातमा हात राखेर हिंड्न मात्र खोजेको हुँ ।

अहिलेको प्रमुख आवश्यकता भनेको संगठलाई मर्यादित, ब्यवस्थित र बिस्तारित गर्नु हो । जसले गर्दा गैरआवासीय नेपाली संघ सबैको वीचमा सम्मानित संस्थाको रुपमा चिनिएर सबैको माया लिन सकोस् अनि यस संघमा आवद्ध भएका सम्पूर्ण ब्यक्तिहरुले सम्मानित भएको महसुस गर्न सकुन् । यो उदेश्य र चाहना पुरा गर्नका लागि महासचिवको जिम्मेवारी अत्यन्त महत्वपूर्ण हुनेछ भन्ने मैले ठानेको छु । संघको मुल्य, मान्यता र आदर्शहरुलाई सदा आत्मासात गर्दै बिधानले तोकेको कर्तब्य र अधिकारका आधारमा महासचिवको हैसियतले संघलाई अगाडि बढाउन निम्न बिषयम ध्यान केन्द्रीत गर्ने छु ।

१. संघका प्रत्येक गतिविधिहरुलाई चुस्त दुरुस्त राख्नु नै मेरो पहिलो काम हुने छ । जसको लागि अन्तराष्ट्रिय समन्वय परिषद्का बैठकहरु नियमित रुपमा राख्ने, बैठकका निर्णहरुलाई समय मै माइन्युट गरि कार्यान्वयन तहमा पुर्याउने, अहिले सम्मका एनआरएनका प्रमुख बिषय र कार्यक्रमहरुलाई डकुमेन्टेशन गर्ने, एनसिसिका सम्मेलन, भेला र बैठक साथै आईसिसिका बैठकलाई नियमित बनाई वैठकका निर्णयहरुको अभिलेख राख्ने लगायतका काम गरि एनआरएनको सचिवलायलाई अत्यन्त ब्यवस्थित रुपमा संचालन गर्ने छु ।

२. आईसिसिका काम कार्वाहीहरुलाई छिटो छरितो र ब्यवस्थित गर्ने छु । आईसीसीवाट गरिएका निर्देशनहरु एनसिसिहरुले पालना गरे नगरेको नियमित रुपमा अनुगमन गर्नेछु ! एनआरएनका हरेक क्रियाकलापहरु पारदर्शी रुपमा संचालन गरि सम्पूर्ण सदस्य साथीहरुलाई यथासक्य छिटो खबर गर्ने छु । एनआरएन सदस्यता वितरणलाई व्यवस्थित र Digitalized गर्न, सदस्यता वितरण र नविकरणलाई व्यवस्थित गर्न सबै एनसीसी सँग समन्वय गर्ने छु ।

३. गैर आवासीय नेपाली संघले अहिले सम्म गरेका कार्यहरुको अभिलेख बनाई बाँकि कामलाई पुरा गर्ने बाताबरण बनाउने तर्फ सबै एनसीसी र आईसीसीलाई परिचालन गर्नेछु ।

४. कुनै पनि परियोजना र प्रतिवद्धताहरु घोषणा गर्दा पहिला त्यसको कार्यान्वयनको लागि अनुकुल बातावरण बनाउन आवस्यक गृहकार्य गर्ने र त्यस्ता प्रतिवद्धताहरु जनाउदा निश्चित मापदण्ड पुरा गर्नु पर्ने ब्यवस्था गर्ने छु ।

विदेशमा बस्ने नेपालीहरुलाई एकजुट गराउने, नेपाल भित्र र बाहिर उनीहरूको हितलाई प्रवद्र्धन गर्ने र नेपालको हितमा उनीहरुको योगदान गर्न परिचालन गर्ने संघको मुख्य उदेश्यलाई पूर्ण रुपमा ब्यवहारमा उतार्न संगठन भित्र जस्तै बाहिरी रुपमा गर्नु पर्ने निम्न बिषयहरुलाई समेत मैले बिशेष प्राथमिकतामा राखेको छु ।

संघको विधानमा उल्लेखित गैरआवासीय नेपालीको परिभाषा अनुकूल नै म संघको दर्ता प्रक्रियाका लागि आवस्यक पहल गर्नेछु !

बैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, स्वस्थ र मर्यादित तुल्याउन नीतिगत सुधारका लागि नेपाल सरकार र पक्षधर सरकारहरु सँग निरन्तर पहल गर्नेछु । विशेष गरेर महिला कामदारका लागि यो क्षेत्र सुरक्षित र मर्यादित तुल्याउन विशेष अभियान चलाउने छु । साथै वैदेशिक रोजगारीपछि नेपाल फर्केकाहरूको ज्ञान, सीप र पूँजीलाई स्वदेशमा लगानीको लागि उचित व्यवस्था मिलाउन पहल गर्नेछु ।

“एक पटकको नेपाली, सधैको नेपाली’ भन्ने संघको मूल मान्यतालाई संवैधानिक रुपमा नै मान्यता प्रदान गर्न राजनीतिक दलका घोषणापत्र देखि नयाँ संविधान नबन्दा सम्म विशेष ढंगले निरन्तर खबरदारी गरिरहन उचित भुमिका खेल्ने छु ।

गैरआवासिय नेपालीहरुको छरिएर रहेका पूँजीलाई सामूहिक लगानीको अवधारणाबाट देश भित्रयाउन गरिएको प्रयास स्वरुप एनआरएन इन्भेष्टमेन्ट कम्पनीको स्थापना गरी नमुनाको रुपमा एउटा जलविद्युत परियोजना सुरु गरिएको छ । सामुहिक लगानी कार्यदलमा रहेर काम गर्दाको मेरो अनुभवको आधारमा मैले यसमा ठुलो सम्भावना रहेको महसुस गरेको छु ! म आफै एउटा उद्यमी भएको नाताले त्यसबाट हासिल गरेको अनुभव र सफलता समेतलाई आधार मानेर अन्य सुरक्षित र उपयुक्त लगानीका ठाउँको पहिचान गरी मेरो व्यक्तिगत तथा सबै क्षेत्रका एनआरएनहरूले सामूहिक लगानी गर्न सक्ने वातावरण निर्माण गर्नेछु । सामुहिक लगानीको अबधारणालाई अबलम्बन गर्दै गैरआवासीय नेपालीहरु बिच बिदेशमा समेत केहि परियोजना सुरु गर्नेछु ! यस बिषयमा मैले प्रारम्भिक तयारी समेत गरि सकेको कुरा तपाईंहरु समक्ष जानकारी गराउदछु !

गैरआवासीय नेपाली संघद्वारा चालिएका कल्याणकारी र परोपकारी परियोजनाहरूलाई राष्ट्रिय समन्वय परिषद्हरूको समर्थन जुटाएर जारी राख्दै हरेक राष्ट्रिय समन्वय परिषद्ले नेपालमा एउटा परोपकारी परियोजना निर्माण गर्ने अभियनलाई अझ सशक्त ढङ्गबाट अघि बढाउने छु । त्यसैगरी विदेशमा नेपाली उत्पादनको प्रवद्र्धन तथा नेपाली डायस्पोरालाई मुलुकको पर्यटन प्रवद्र्धनका लागि निरन्तर प्रेरित र परिचालन गर्नेछु ।

आदरणीय साथीहरु,

तपाईंहरु सबैवाट बिस्वास्, सद्भाव र समर्थन रहेमा संस्थाको प्रतिष्ठा, गरिमालाई जीवन्तता दिँदै माथि उल्लेख गरिएका कार्यहरु पुरा गर्न म सफल हुनेछु भन्ने मलाई बिस्वास छ ।

आगामी अक्टोबर महिनामा काठमाडौंमा आयोजना हुने संघको महाधिबेसन तथा छैटौँ विश्व सम्मेलनबाट मलाई महासचिव पदमा रही काम गर्ने अवसर दिनु हुनेछ भन्ने विस्वासका साथ ।

तपाईंहरुकै,

कुमार पन्त

 

युरोप संयोजक, गैरआवासीय नेपाली संघ

तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषमा महासचिबको उम्मेदवार

मिति: २ सेप्टेम्बर २०१३

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment