Comments Add Comment

‘दोस्रो राष्ट्रपति’ र ‘भावी प्रधानमन्त्री’ को खोजी

arun-baralअरुण बराल

संविधानसभाको चुनावको तिथि नजिकिँदै गइरहेको छ । विजय गच्छदारले गरेको आफैं प्रधानमन्त्री बन्ने दाबी बाहेक विगतका चुनावमा ‘भावी प्रधानमन्त्री’ र ‘प्रथम राष्ट्रपति’का अगि्रम उमेद्वारहरु घोषणा गर्ने कुनै पनि दलहरुले अहिलेसम्म ‘भावी प्रधानमन्त्री’ र ‘दोस्रो राष्ट्रपति’को नाम घोषणा गर्न सकेका छैनन् ।

चुनावमा जाँदा नीतिसँगै नेतृत्वको पनि घोषणा गर्दा जीत सुनिश्चित हुन्छ भन्ने विश्वासमा कांग्रेस, एमाले र एमाओवादी तिनै दलहरु रहेका छन् । विगतमा मनमोहन अधिकारीलाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेर चुनावमा जाँदा ०५१ सालमा सबैभन्दा ठूलो दल बनेको र ९ महिने सरकारमा जान पाएको एमालेसँग अनुभव छ भने कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री भनेर चुनावमा जाँदा ०४८ मा बुहमत प्राप्त गरेको नेपाली कांग्रेससँग सुखद अनुभव छ । ०६४ को चुनावमा प्रचण्डलाई भावी राष्ट्रपतिका रुपमा उभ्याएको र ठूलो दल बनेको अनुभव एमाओवादीसँग छ ।

एमालेका प्रधानमन्त्री र राष्ट्रपति

नेकपा एमालेभित्र केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएर मत माग्न जानुपर्छ भन्ने विचार ओलीपक्षका नेताहरुले व्यक्त गर्दै आएका छन् । युवासंघका अध्यक्ष महेश बस्नेतले अनलाइनखबरसँगको अन्तरवार्तामा केही समय अघि भनिसकेका छन् कि ‘भावी प्रधानमन्त्री केपी ओली’ भन्ने नाराका साथ नेकपा एमाले चुनावमा जानुपर्छ । तर, नेकपा एमालेभित्र अध्यक्ष झलनाथ खनाल बरियतामा माथि हुँदाहुँदै तत्कालै ओलीलाई भावी प्रधानमन्त्री भनेर चुनावमा गइहाल्ने स्थिति देखिन्न । चुनावपछि एमालेको महाधिवेशनले पार्टी अध्यक्ष फेर्ने सम्भावना भएकाले खनाललाई भावी प्रधानमन्त्री घोषणा गर्ने अवस्था पनि छैन । माधव नेपाल आफैं पनि पार्टी अध्यक्षको दाबेदार हुनुहुन्छ । त्रिपक्षीय नेताको समान कदका कारण आगामी चुनावमा एमालेले नयाँ ‘मनमोहन अधिकारी’ उभ्याउन समस्या छ ।

संविधानसभा चुनावमा हुन्छ भन्नोस् र हुन्न भन्नोस् भन्दै अत्यन्तै शालीन भूमिमारहनुएका एमाले नेता सुवास नेम्वाङको नामचाहिँ केहीले ‘भावी राष्ट्रपति’का रुपमा चर्चामा ल्याउने गरेका छन् । यद्यपि एमालेले आगामी चुनावमा भावी ‘राष्ट्रपति’ कसैलाई तोक्ने संकेत देखिन्न । राष्ट्रपति आकांक्षीहरु एमालेमा नेम्वाङ र माधव नेपालबाहेक अरु पनि हुन सक्छन् ।

कांग्रेसमा पनि उस्तै समस्या

नेपाली कांग्रेसका भावी प्रधानमन्त्री हुन्- सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल । महत्वाकांक्षाको हिसाबले त्यसपछिको दाबेदार हुन् सुजाता कोइराला पनि हुन् । बरियता र इतिहासको विरासतले हुने भए प्रकाशमान पनि त्यसपछिका प्रधानमन्त्री हुन् । तर, कांग्रेसमा पनि एमालेमा जस्तै त्रिशंकु नेताकोहानाथापका कारण भावी ‘प्रधानमन्त्री फलाना’ भनेर किटानीका साथ चुनावमा होमिने सम्भावना छैन । पार्टी सभापति र त्यागका हिसाबले प्रधानमन्त्री हुने अधिकार सुशील कोइरालामा छ । बरियता र अनुभवका आधारमा देउवा यसका लागि योग्य पात्र हुनुहुन्छ । १७ पटक चुनाव लडाइएका रामचन्द्र पौडेल न्यायका हिसाबले प्रधानमन्त्रीका उपयुक्त अंशियार हुनुहुन्छ ।

प्रचण्ड प्रधानमन्त्री कि राष्ट्रपति ?

अघिल्लो चुनावमा ‘भावी राष्ट्रपति’ बनाइनुभएका एमाओवादी अध्यक्ष परिवन्दले गर्दा प्रधानमन्त्री बन्नुभयो । ‘कार्यकारी अधिकारसहित’ को पद भएकाले प्रधानमन्त्री नै भए पनि खान प्रचण्ड तयार बन्नुभएको थियो । यसपालिको चुनावमा प्रचण्डलाई भावी प्रधानमन्त्री या भावी राष्ट्रपति केमा प्रस्ताव गरिने हो, एमाओवादीले प्रष्ट पारिसकेको छैन ।

भावी राष्ट्रपति र प्रधानमन्त्रीको चर्चा गर्दा एमाओवादीको सन्दर्भमा दुईवटा पक्षलाई स्मरण गर्नेपर्ने हुन्छ, जस्तो कि चुनावपछि बन्ने नयाँ संविधानमा कार्यकारी अधिकारसहितको राष्ट्रप्रतिको प्रावधान समेटियो भने प्रधानमन्त्रीमा भन्दा राष्ट्रपतिमा सबैको आकर्षण देखिने छ । प्रधानमन्त्री पदमै कार्यकारी अधिकार रहने गरी संसदीय प्रणालीले नै निरन्तरता पायो भने प्रधानमन्त्रीतर्फ नै सत्ताका भोगकर्ताहरुको आकर्षण रहने छ । यो स्थितिमा अहिल्यै प्रधानमन्त्री वा राष्ट्रपति भनेर ताकिहाल्ने अवस्था छैन ।

जतिखेर एमाओवादी नेता डा. बाबुराम भट्टराईले पेरिसडाँडमा स्वेच्छिक अवकाश लिने घोषणा गर्ने भयो, त्यसबेला धेरैले उहाँलाई ‘भावी राष्ट्रपति’ बन्न खोजेको शंकालु नजरले हेरे । तर, भावी राष्ट्रपति कार्यकारी अधिकारसहितको हुने गरी संविधान जारी भयो भने त्यो ठाउँमा बाबुराम नभई प्रचण्डकै दाबी रहने अनुमान लगाउन सकिन्छ ।

आखिर जे भए पनि एमाओवादीले भावी प्रधानमन्त्री फलाना वा भावी राट्रपति फलाना भनेर पूर्व घोषणा गरेर चुनावमा जाने/नजानेबारे अहिल्यै केही बताइहाल्न सकिने स्थिति देखिन्न । तर, मनोवैज्ञानिकरुपमा भावी कार्यकारी प्रमुख वा भावी सरकार प्रमुख प्रचण्ड भनेर किटानीका साथ चुनावमा जान एमाले र कांग्रेसलाई जस्तो अप्ठ्यारो एमाओवादीलाई देखिँदैन ।

विगतको माओवादी कमजोरी

विगतमा गिरिजालाई राष्ट्रपति नबनाएर गल्ती गरिएछ भन्ने प्रचण्डको सार्वजनिक अभिव्यक्ति आइसकेको छ । आफैंलाई राष्ट्रपतिका रुपमा घोषणापत्र र पोष्टरमा प्रचार गरिसकेपछि रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उमेद्वार बनाउन खोज्नु प्रचण्डको निकै ठूलो उदारता थियो । अघिल्लो संविधानसभामा सबैभन्दा ठूलो दल भइकन पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र संवैधानिक समितिको सभापतिसमेत आफ्नो बनाउन नसक्नु एमाओवादीको निकै ठूलो कमजोरी थियो । अब हुने चुनावपछि को राष्ट्रपति हुने, को उपराष्ट्रपति हुने, को प्रधानमन्त्री हुने र को सभामुख हुने ? यसको हिसाव-किताब एमाओवादलिे पहिल्यै गर्ला या वितमा जस्तै उधारो कारोबार गर्दै दुई ठाउँमा चुनाव हारेको मान्छेलाई संवैधानिक समितिको सभापति पद किस्तीमा हालेर बुझाउला ? यो पनि हेर्न बाँकी छै ।

विगतले यतिचाँहि प्रष्ट पारिसकेको छ कि एमाओवादी ‘जिऊ भारी वुद्धि डाँडापारि’ भनेजस्तै पार्टी हो । यति त्यस्तो हुँदैनथ्यो भने निर्वाचन आयोग अगाडि नाम दर्ता गर्न विहान ५ बजेदेखि गेट ढुकेर बसेको पार्टी आज चौथो नम्बरमा, हलो चिन्हभन्दा पछाडि सूचीकृत हुने नै थिएन ।

आगामी मंसिरमा चुनाव भैहाल्यो भने कुन दलले भावी प्रधानमन्त्री कस्तो व्यक्तिलाई प्रस्ताव गर्छन् भन्ने कुराले पनि जनताको मनोविज्ञानमा प्रभाव पार्न सक्छ । आगामी चुनावपछि नेपालको प्रधानमन्त्री को बन्ला ? प्रचण्ड, झलनाथ, सुशील, गच्छदार या अन्य कोही ? अनि भावी राष्ट्रपति को बन्ला ? कि पाँच वर्ष कटेका, रामवरण यादवलाई नै निरन्ततरता दिइने छ ? प्रश्न निरुत्तरित छन् । यसअर्थमा निरुत्तरित छन् कि गिरिजाको निधनपछि ‘राजनेता’को अग्लो कद भएका नेताहरुको अभाव जनताले महसुस गरिरहेका छन् । राजनेता हुनलाई गिरिजासँग एउटै कागजमा सही गर्नुमात्र पर्याप्त हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment