Comments Add Comment

धुन्धुकारी सन्तान र बुढेसकालको वनबास

२० भदौ, काठमाडौं । आज ‘बुबाको मुख हेर्ने’ दिन । हिन्दू सम्प्रदायका नेपालीले आज आफ्ना पितालाई भगवानसरह मानेर मानसम्मान गर्ने एवं गच्छेअनुसार मीठो-मीठो खान र राम्रो लगाउन दिने चलन छ ।

बुबा नहुनेहरुले आफ्ना दिवंगत पितालाई खुशी पार्न विभिन्न पवित्र स्थानमा गई तर्पण दिने गर्छन् । आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णस्थित गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा दिवंगत पिताका नाममा तर्पण दिने र दान दक्षिणा गर्नेहरुको विशेष घुइँचो लाग्ने गर्छ ।

आज कुशे औंसीका दिन हिन्दूहरुले वर्षभरि पितृकार्यमा प्रयोग गर्ने कुश घर-घरमा भित्र्याउने चलन छ । यही भएर आजको दिनलाई कुशे औंसी भनिन्छ ।

आज प्रथम गजलकारका रुपमा चिनिने मोतीराम भट्टको जन्मदिन पनि हो । भानुभक्तलाई चिनाउने मोतीरामको जन्म वि.सं. १९२३ भाद्रमा कुशे औंसीका दिन भएको थियो । ३० वर्षमै उहाँको निधन १९५३ मा कुशे औंशीकै दिन भएको थियो ।

बुबाको मुख हेर्ने दिन आज गोकर्णमा विशेष घुइँचो लाग्ने गर्छ । गोकर्ण मन्दिरको महिमा उत्तर गयाका रुपमा रहेको छ । गोकर्णको नाम पौराणिक कथासँग जोडिएको छ । श्रीमद्भागवत पुराणमा गोकर्ण र धुन्धुकारीको रोचक कथा छ । कसैका सन्तानले पनि आफ्ना अशक्त भएका बुबाआमालाई हेला गरिरहेको अवस्था छ भने आजको दिनले त्यस्ता धुन्धुकारीहरुलाई सद्बुद्धि देला कि ?

भागवत पुराणमा धुन्धुकारी र गोकर्णको कथा यस्तो छ :

परापूर्वकालमा तुङ्गभद्र नदीको तटमा एउटा अनुपम नगर थियो । त्यहाँ आफ्नो आफ्नो वर्णका मानिसहरु आफ्नो आफ्नो धर्मको आचरणका साथ सत्यकर्ममा तत्पर रहन्थे । त्यस नगरमा वेद विशेषज्ञ एक आत्मदेव नामका ब्राह्मण पनि बस्तथे । उनी दोस्रो सूर्यका समान तेजस्वी थिए । धनी भएर पनि भिक्षाजीवी थिए । उनकी परी श्रीमती धुन्धुली कुलीन एवं सुन्दरी भएर पनि केही न केही बकवास गरिरहने, क्रुर थिई । गृहकार्यमा निपुण थिई, तर झगडालू थिई ।

जब अवस्था ढल्कँदै गयो, यी ब्राह्मण दम्पत्तीले सन्तान प्राप्तिका लागि अनेक तरहका पुण्यकर्म शुरु गरे । दीनदुखीहरुलाई गौदान गरे, सुन र कपडा आदि दान गरे । धर्ममार्गमा उनीहरुको आधा सम्पत्ति खर्च भयो, तैपनि उनीहरुले छोराछोरीको मुख देख्न पाएनन् । यसले गर्दा ब्राह्मण आत्मदेव असाध्यै चिन्तित हुन थाले ।

एकदिन ब्राह्मण आत्मदेव अत्यन्तै दुःखी भएर जंगलतिर लागे । दिउँसो असाध्यै तिर्खा लाग्यो, उनी तलाऊ छेऊमा पानी पिउन पुगे । सन्तान सुखबाट पीडित भएर थकित बनेका उनी त्यही तलाऊ छेउमा बसे । केहीबेरमा त्यहाँ एक सन्यासी माहात्मा आइपुगे । ती सन्यासीको छेउमा पुगेर नमस्कार गर्दै ब्राह्मणले लामो लामो सास फेर्न थाले ।

माहात्माले सोधे -‘भन ब्राह्मण देवता, किन रुँदैछौ ? तिम्रो चिन्ताको कारण के हो ?’ ‘ब्राह्मणले भने-‘महाराज, म आफ्नो पूर्वजन्मको पापबाट सञ्चित दुखको कसरी वर्णन गरौं ? देवता एवं ब्राह्मणहरु मैले दिएको केही चिज प्रशन्न भएर ग्रहण गर्दैनन् । सन्तानका लागि म यति दुःखी भएको छु कि मलाई सबैतिर शून्य-शून्य देखिरहेको छु । म प्राण त्याग्नका लागि यहाँ जंगलमा आएको हुँ । सन्तानहीन जीवनको धिक्कार छ । सन्तानहीन धनको धिक्कार छ । म जनु गाई पाल्छु, त्यो पनि बाँझो रहन्छ, जुन रुख रोप्छु, त्यसमा पनि फल लाग्दैन । जव म यस्तो अभागी पुत्रहीन हुँ, तब यो जीवनलाई राखिराखेर मैले के गर्नु ?’ यसो भन्दै आत्मदेव ब्राह्मण सन्यासीका अगाडि भकानिएर रुन थाले ।

सन्यासीले उनलाई संसारप्रतिको मोह र वासना त्याग्न आग्रह गरे । कुटुम्बको आशा छाडेर सन्यासी बन्न आग्रह गरे । तर, ब्राह्मणले विवेकले मेरो केही हुँदैन भन्दै बलपूर्वक पुत्र दिन आग्रह गरे । त्यसपछि सन्यासीले एउटा फल दिँदै ब्राह्मणलाई भने-‘यो फल तिम्री श्रीमतीलाई खान दिनू, यसबाट तिमीलाई एउटा पुत्रलाभ हुन्छ । तिम्री श्रीमतीलाई एक वर्षसम्म सत्य, दया, दान एवं सात्विक भोजनमा रहन लगाउनू । यदि यसो गर्‍यौं भने यो बालक शुद्ध स्वाभाववाला हुन्छ ।’

घरमा आएर ब्राह्मणले उक्त फल श्रीमतीलाई दिए र कतै आफ्नो कामतिर लागे । उनकी श्रीमती कुटिल स्वाभावकी थिई । उसले फल नखाइकन आफ्नी साथीसँग भन्न लागी- ‘साथी मलाई त बडो चिन्ता लाग्न थाल्यो । म यो फल खान्न । फल खायो भने गर्भ रहनेछ । गर्भले पेट ठूलो बनाउँछ । केही खान पिउनसमेत हुँदैन । घरधन्दा कसले गर्छ ? गाउँमा डाकाले आक्रमण गर्‍यो भने गर्भिणी स्त्री कसरी भाग्छे ? प्रसवकालमा बच्चा पेटको टेढो भएर बसेको रहेछ भने के गर्ने ? प्रसवका बेला भयंकर पीडा हुन्छ । म दुब्ली हुन्छु, सुकुमारी पनि रहन्न । नन्द आएर घरका सब मालमत्ता हात लगाउँछिन् । सत्य निष्ठा आदि पालन गर्न पनि कठिन छ । जुन स्त्रीले बच्चा जन्माउँछे, त्यो बच्चाको लालन पालनमा पनि बडो कष्ट हुन्छ । मेरो विचारमा बन्ध्या वा विधवा स्त्री नै सुखी हुन्छे ।’

ब्राह्मणले घरमा आएर श्रीमतीलाई फल खायौ ? भनेर सोध्दा उसले खाएँ भनेर श्रीमानलाई ढाँटी । तर, त्यो फल उसले आफ्नो घरमा पालेको गाईलाई खान दिई । उसकी बहिनीको पेटमा गर्भ थियो । दिदी-बहिनीले सल्लाह गरे, दिदीले गर्भवती भएको नाटक गर्ने, बहिनीले छ महिनामा गर्भपतन भएको नाटक गर्ने र सुटुक्क बच्चा जन्माएर दिदीलाई दिने । बहिनीका श्रीमानलाई केही सम्पत्ति दिएर ‘कन्भिन्स’ गर्ने ।

अन्ततः यसै गरियो । ब्राह्मण पत्नी धुन्धुलीले छोराको नाम धुन्धुकारी राखिन् । केही समयपछि घरमा पालेको गाईले पनि मान्छेजस्तै सन्तान जन्मायो । त्यसको नाम गोकर्ण राखियो । सबैजना छक्क परे । पुत्रलाभ भएकोमा ब्राह्मण प्रशन्न भए । दुबै सन्तान क्रमशः हुर्कँदै जान थाले ।

पछि दुबै सन्तानहरु जवान भए । गोकर्ण ठूलो पण्डित एवं ज्ञानी भएर निस्किए भने धुन्धुकारी चाहिँ महा फटाहा निस्किए । क्रोध गर्ने, खराब वस्तुहरु संग्रह गर्ने, अर्काको धनमाल चोर्ने, अरुको घरमा आगो लगाइदिने, अरुका छोराछोरीलाई पोखरीमा फालिदिने । उसमा हिंसाको आदत बस्न थाल्यो । भण्डाहरुको संगतमा उसको विशेष प्रेम थियो । अन्नतः ‘वेश्या’को जालमा परेर आफ्नो पिताको सबै सम्पत्ति नष्ट गरिदियो । एकदिन आमाबुबालाई पिटेर मालमत्ता समेत उठाएर लग्यो । ब्राह्मण दम्पती रुन थाले । त्यहीबेला गोकर्ण आइपुगे र भने- ‘पिताजी, यो संसार असार -सारविहीन) छ । यसले अत्यन्त दुख एवं मोहमा पार्छ । पुत्र कसको ? धन कसको ? स्नेहवान पुरुष रातदिन बत्ति समान जलिरहन्छ । ‘यो मेरो छोरो हो’ यो अज्ञानता छाडिदिनोस् । मोहबाट नरक मात्रै प्राप्त हुन्छ । त्यसैले यो सबै छाडेर हिँड्नोस् जंगलमा जाऔं ।’

यसप्रकार छोरा गोकर्णको भनाइबाट प्रभावित भएर आत्मदेवले घर छाडिदिए । यद्यपि उनको आयु ६० वर्ष पुग्न लागेको थियो ।

स्रोत : श्रीमद्भागवत महापुराण, चतुर्थ अध्याय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment