Comments Add Comment

गोलमेचमा गोलमाल भयो, अब सर्वदलीय सम्मेलनको चर्चा

२० भदौ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिका नेताहरु अशोक राई नेतृत्वको संघीय समाजवादीसँग बुधबार राति सहमतिको सन्निकट पुगे पनि हस्ताक्षर गर्ने बेलामा सम्झौताको भाषामा विवाद भएकाले सहमति हुन सकेन । बुधबार अड्किएको विषयमा बिहीबार दिनभरि थप वार्ता हुन सकेन । माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग गोलमेच सम्मेलन गर्ने सहमति भसकेपछि दुबै पक्ष भड्किएका थिए । ३३ दलीय मोर्चाजस्तै संघीय समाजवादीसँग पनि बुधबार राति महत्वपूर्ण विषयमा सहमति भैसकेपछि सम्झौतामा हस्ताक्षर गर्नेबेलामा ‘भोलि गर्ने’ भन्दै विना निश्कर्ष वार्ता टुंगिएको हो ।

बिहीबार बसेको संघीय समाजवादीको स्थायी समिति बैठकले पाँचबुँदे मागमा अडान दोहोर्‍याएको छ । उच्चस्तरीय राजनीतिक समितिसँग विहीबारै वार्ता हुने अनुमान गरिए पनि औपचारिक वार्ता हुन सकेन । ‘चार दलका केही नेता उपत्यका बाहिर रहेकाले आज वार्ता हुन नसकेको हो, नेताहरुवीच अनौपचारिक कुारकानी भैरहेको छ, हाम्रा मागप्रति चार दल लचकदार भएको खण्डमा संभवतः शुक्रबार सहमतिमा हस्ताक्षर हुन सक्छ ।’- संघीय समाजवादीका नेता अजम्बर राई काङमाङले अनलाइनखबरसँग भन्नुभयो ।

बुधबार भएको वार्तामा संविधानसभाको संख्या ६०१ बनाउने र सर्वदलीय राजनीतिक सम्मेलन गर्ने विषयमा चार दलका नेताहरु सकारात्मक देखिएकोमा विहीबार बसेको स्थायी किमिटी बैठकले त्यसलाई सकारात्मक रुपमा लिएको काङमाङले बताउनुभयो । तर, बैठकले पाँचबुँदे मागमा अडान राख्ने निर्णय गरेको उहाँले बताउनुभयो । ‘हाम्रा पाँचबुँदे मागहरुको सम्बोधन हुनुपर्छ, सर्वपक्षीय सम्मेलनमार्फत् माग सम्बोधन भए हामी मंसिर ४ को निर्वाचनमा बाधक बन्दैनौं ।’ उहाँले भन्नुभयो ।

बुधबारको वार्तामा सहमतिपत्रको ड्राफ्टको भाषा र कोणमा कुरा नमिलेको उहाँले बताउनुभयो । ‘ड्राफ्टको चार ठाउँमा मंसिरको चुनावको चर्चा गरियो, हामीलाई चुनावप्रति प्रतिवद्ध छैनजस्तो देखाउन खोजियो ।’ उहाँले भन्नुभयो- ‘हाम्रा कारणले होइन, स्वयं चारदलकै नेताहरु मंसिर ४ को चुनाव रोक्न चाहन्छन् भन्ने हामीलाई लागेको छ ।’

देशको राजनीति यतिबेला संघीय समाजवादीको कोर्टमा आइपुगेको दाबी संघीय समाजवादीका नेताको छ । ‘राजनीति अब हाम्रो पार्टीको कोर्टमा आइपुगेको छ, हामीले भनेको सर्वदलीय राजनीतिक सम्मेलनमा सहमति हुने हो भने वैद्य माओवादी पनि सहमतिमा आउँछन् ।’ राईले दाबी छ-‘ वैद्य माओवादीले भन्दै आएको पनि यस्तै सर्वदलीय सम्मेलन नै हो ।’

अशोक राई नेतृत्वको संघीय समाजवादीले भन्दै आएका पाँचबुँदे मागहरुमा चारदलीय संयन्त्र खारेज गर्नुपर्ने, २५ बुँदे बाधा अड्काऊ खारेज गर्नुपर्ने, संविधानसभा सदस्य संख्या ६०१ बनाइनुपर्ने, विगत संविधानसभाले तय गरेका विषयको स्वामित्व स्वीकार गर्नुपर्ने र असन्तुष्ट दललाई सहमतिमा ल्याएर मात्रै चुनाव गरिनुपर्ने भन्ने रहेका छन् । तर, तत्कालै यी विषयमा सहमति भैहाल्ने तत्काल छाँटकाँट देखिएको छैन ।

चार दलका नेता र संघीय समाजवादीवीच बुधबार राति भएको वार्तामा संविधानसभाको सीटसंख्या ६०१ पुर्‍याउने र सर्वदलीय सम्मेलन गर्नेमा सहमति भए पनि औपचारिकरुपमा हस्ताक्षर भएको छैन । यसअघि उच्चस्तरीय राजनीतिक समितिका नेताहरु ३३ दलीय मोर्चासँग गोलमेच सम्मेलन गर्ने सहमतिमा पुगेका थिए । गोलमेच सम्मेलनको प्रक्रियाबारे गृहकार्य गर्नेबेलामा वार्ता स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment