Comments Add Comment

नेपाल जुडो संघलाई आउट स्टेन्डिङ अवार्ड

२१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले नेपाल जुडो संघलाई ‘आउट स्टेन्डिङ’ अवार्ड प्रदान गरेको छ ।

नेपालमा जुडो खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पुर्‍याएको र जुडो फर पिस कार्यक्रमअन्तर्गत विभिन्न अनाथलयलाई लक्षित गरी जुडो कार्यक्रम सञ्चालन गरेकोमा नेपालले अवार्ड पाएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । वज्राचार्य दक्षिण एसियाली जुडो संघका अध्यक्ष, एसियाली जुडो संघका उपाध्यक्ष र आईजेएफअन्तर्गत जुडो फर पिस कमिसनका सदस्य समेत हुन् ।

गत अगष्ट २३ तारिखमा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न आईजेएफको एक्स्ट्रा ओर्डिनरी कोंग्रेसका दौरान उक्त अवार्ड आईजेएफका अध्यक्ष मारियोस भिजरले अध्यक्ष वज्राचार्यलाई प्रदान गरेका थिए । कोंग्रेसमा १ सय ३५ राष्ट्र सहभागी थिए ।

अवार्ड पाउनेमा भने नेपाल एक्लो रहृयो । ‘कामको मूल्याङ्कन गरेर आईजेएफले अवार्ड प्रदान गरेकोमा खुशी छु । यसले आगामी दिनमा अझ सक्रिय भएर जुडोमा निरन्तर लागि पर्न थप हौसला प्रदान गरेको छ ।’ अवार्ड विजेता जुडो संघका अध्यक्ष वज्राचार्यले भने- ‘यो उपलब्धी जुडोका साथै सिंगो राष्ट्रका लागि गौरवको विषय हो ।’ वज्राचार्यले आगामी मार्च-अपि्रलमा सिनियरस्तरको दक्षिण एसियाली जुडो प्रतियोगिता नेपालमा हुने पनि जानकारी गराए ।

त्यसैगरी, ब्राजिलमै भएको जुडो विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषको ८१ केजीमुनि दीपककृष्ण श्रेष्ठ र महिलाको ६३ केजीमुनि सुनीता मगरले नेपालको चुनौती प्रस्तुत गरेका थिए । दुवै पहिलो चरणमै पराजित भए । दीपक पोर्चुगल र सुनीता युक्रेनका खेलाडीसंग पराजित भएको अध्यक्ष बज्राचार्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment