Comments Add Comment

यसरी खाए बन्दकर्ता एमाओवादीले पिटाइ (भिडियोसहित)

२२ भदौ, काठमाण्डौं । शुक्रबार राति सुत्ने बेलासम्म एमाओवादी कार्यकर्तालाई नै थाहा थिएन कि शनिबार एकाबिहानै काठमाडौं, गोरखा र चितवन बन्दका लागि सडकमा निस्कनुपर्ने छ । तर, कसैलाई राति ११ बजे त कसैलाई बिहानै नेताहरुले टेलिफोन गरेर भने, हाम्रा कार्यकर्ता रामप्रसाद अधिकारीलाई प्रहरीले बागबजारबाट पक्राउ गरेको विरोधमा तपाईहरु विहानैदेखि झण्डा र डण्डा लिएर सडकमा आउनुपर्‍यो । नेताको आदेश तामेली गर्दै एमाओवादी कार्यकर्ताले शनिबार सडकमा ओर्लिएर गैर कम्युनिष्ट शैलीमा निर्दोष यात्रीलाई हप्काउन थाले, किन गाडी चलाएको ? फुटाइदिऔं ?

banda-2सर्वसाधारणलाई थाहै थिएन कि एमाओवादीले मध्यरातमा बन्दको निर्णय गरेको छ । दश थोक काममा हिँडेका यात्रुले कतिबेला कसले बाटो रोक्छ, मान्नै पर्ने बाध्यता पनि थिएन । त्यही क्रममा चाडका बेलामा दादागिरी देखाएर हिँडडुल गर्न नदिएपछि कलंकीमा एमाओवादीमाथि जनआक्रोश पोखियो । केही कार्यकर्ता घाइते भए । त्यस्तै प्रदर्शनीमार्गमा एमाओवादी कार्यकर्ताका पिँडुलामा प्रहरीका कठबाँस बर्सिए ।
कुटाइ खाए पनि सही, लडाकू कार्यकर्ताहरु दिनभरि बन्द गर्न तयारै थिए । तर, दिउँसो १२ नबझ्दै माथिबाट कार्यकर्तालाई अर्को निर्देशन आयो- तिजको दरखाने दिन परेका बन्द फिर्ता लिइएको छ, तपाइहरु पनि दर खान जानु होला । पछि हामीले भनेपछि फेरि सडकमा आउनुहोला ।  यस्तो निर्देशनसँगै घाइते टाउको र सुम्ला निस्किएका पिँडुला लिएर एमाओवादीका अभागी कार्यकर्ताहरु सडकबाट पछि हटे ।

maoist3 गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार काठमाडौंको बागबजारबाट कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राऊ गरेर चितवन लगेपछि एमाओवादी नेताहरूले अकस्मात् शुक्रबार राति काठमाडौं, चितवन र गोरखा बन्दको घोषणा गरेका हुन् । तर, उनीहरूको बन्द दिनभरि टिक्न सकेन । अन्ततः चार घण्टासम्म हाहाहोहो गरेर केही कार्यकर्ताहरुको टाउको फटाइसकेपछि दिउँसो १२ बजेबाट एमाओवादी नेताहरुले तिजको दर खाने दिन परेकाले भन्दै बन्द फिर्ता लिएको घोषणा गर्न बाध्य भए ।

शुक्रबार बेलुका सुतेका उपत्यकाबासीलाई भोलिपल्ट विहानै बन्द हुँदैछ भन्ने कुनै सूचना थिएन । दर खानका लागि चेलीबेटीस् ओहोर दोहोर गर्ने दिन आयोजना गरिएको बन्दबाट उपत्यकावासीमा निकै ठूलो आक्रोश देखियो । यसैक्रममा बन्दका कारण गन्तव्यमा पुग्न नपाएपछि आक्रोशित बनेका जनताले कलंकीमा बन्दकर्ता एमाओवादी कार्यकर्तालाई भौतिक आक्रमण समेत गरे भने प्रदर्शनीमार्गमा प्रहरीले लाठी प्रहार गर्दा केही कार्यकर्तालाई चोट लाग्यो ।

तिज परेकाले बन्द फिर्ता लिइएको भनिए पनि शनिबार विहानैदेखि सामाजिक सञ्जालमा एमाओवादीको आलोचना तिब्र बनेको छ । तिजको दर खाने दिन हो भन्ने जान्दा जान्दै रातारात बन्दको घोषणा गर्नु अनि ४ घण्टा पनि आफ्नो निर्णयमा नटिकी पछाडि फर्किनुलाई एमाओवादी नेतृत्वको अदुरदर्शिताकमा रुपमा धेरैले टिप्पणी गरेका छन् ।  बन्द फिर्ताका निर्णय सकारात्मक देखिए पनि  चाडपर्वका बेलामा गरिएको बन्द घोषणाले एमाओवादीको आलोचना चर्को भएको छ ।

कार्यकर्ता पक्राऊको विरोधमा धनगढीमा रहेका बाबुराम र प्रचण्डले शनिबार उपत्यका बन्द गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सत्य निरुपण आयोगमार्फत समस्या समाधान गर्नुपर्नेमा हाम्रा कार्यकर्तालाई राज्यले गिरफ्तार गरेको हुनाले यसको विरोधमा आज उपत्यका, गोरखा र चितवन बन्द गर्ने पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेको एमाओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भन्नुभयो ।

आफ्नो छोराका हत्यारामाथि कारवाही गर्नुपर्ने माग गर्दै गोरखाका नन्दलाल अधिकारी दम्पत्ति डेढ महिनादेखि वीर अस्पतालदमा आमरण अनशनमा बसेका बेला सरकारले उनीहरुको मागबमोजिम हत्या आरोपमा रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेको हो ।  पक्राउ परेका अधिकारीलाई शुक्रबार नै चितवन लगिएको छ । कृष्णप्रसादको हत्या चितवनमा भएकाले उनलाई सोही जिल्लाबाट मुद्दा चलाउन काठमाडौंबाट चितवन लगिएको हो ।

चाडका बेलामा पूर्वसूचनासमेत नदिई गरिएको बन्दप्रति एमाओवादीकै कतिपय कार्यकर्ताले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । अझ वीचैमा बन्द फिर्ता लिइँदा नेताहरुले कच्चा निर्णय गरेको र पार्टीलाई जनतामाझ बदनाम गराएको थप आरोप एमाओवादी कार्यकर्ताले नेतृत्वमाथि लगाउन थालेका छन् ।

यो पनि हेर्नुस्

एमाओवादीको उपत्यका बन्द फिर्ता

भिडियो हेर्नुस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment