Comments Add Comment

गोलमेच डाक्न सरकारलाई सर्वदलीय सुझाव

२२ भदौ, काठमाडौं । सरकारले आहृवान गरेको सर्वदलीय बैठकमा सहभागी दलहरुले संविधानसभा सदस्य संख्या ६ सय १ पुर्‍याएकोमा विरोध गरेका छन् । साथै उनीहरुले चुनावमा म्यादी प्रहरी नराख्न सरकारलाई गरेका छन् । दलहरुले वैद्य समूहलाई चुनावमा ल्याउन गोलमेच सम्मेलन गर्न रेग्मी सरकारलाई सुझाव दिएका छन् ।

चुनावको तयारीबारे जानकारी दिन शनिबार राष्ट्रिय योजना आयोगको हर्क गुरुङ हलमा सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा ३० भन्दा बढी दलहरु सहभागी थिए । हलमा निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादीको नेम प्लेट र कुर्सी राखिए पनि कोही नगएकाले सो कुर्सी खाली रह्यो ।

sarbadaliya-sammelen

बैठकमा अधिकांश दलका नेताहरुले फेरि संविधानसभा सदस्य संख्या ६ सय १ कायम गरेकामा विरोध गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कसैले बन्द हडताल गर्ला र ७ सय १ पुर्‍याउने होला, पहिले नै जानकारी दिए बन्द हडताल गर्दैनन् भन्दै व्यङ्ग्य गर्नुभएको थियो । धेरै दलहरुले मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ जनाको विरोध गरेका थिए ।

‘मन्त्रिपरिषद्ले गर्ने मनोनयन सिण्डिकेटको भागबण्डा हो’ बैठकमा सहभागी नेकपा संयुक्तका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले भन्नुभयो-‘संविधानसभाको संख्या बढाएर ६ सय १ बनाइएकोमा धेरैको विरोध रह्यो ।’ जवाफमा मन्त्रपरिषद् अध्यक्ष खिलराज रेग्मीले संख्या बढाउन दलहरुले खातका खात ज्ञापनपत्र बुझाएको भन्दै आफ्नो र प्रमुख चार दलको बचाऊ गर्नुभयो ।

म्यादी प्रहरीको विरोध

कांग्रेससहितका दलहरुले चुनावमा म्यादी प्रहरी भर्नाको पनि विरोध गरेका छन् । म्यादी प्रहरी भर्ना गर्दा निर्वाचनको निश्पक्षतमा प्रश्न उठ्ने उनीहरुको भनाइ थियो । केही दलले सुरक्षाकर्मी नपुग्ने भए दुई चरणमा चुनाव गर्नुपर्ने तर, म्यादी प्रहरी राख्न नहुने बताएका छन् ।

तर, बैठकमा सहभागी गृहमन्त्री माधवप्रसाद घिमिरेले म्यादी प्रहरी राख्ने/नराख्ने सरकारको विषय भएको भन्दै म्यादी भर्ना गर्ने संकेत दिनुभएको छ । साथै उहाँले दुई चरणमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

गोलमेच गर्न सरकारलाई सुझाव 

बैठकमा अधिकांश दलले वैद्य नेतृत्वको माओवादीलाई पनि समेटेर चुनावमा जानुपर्नेमा जोड दिएका छन् । त्यसका लागि निर्शत गोलमेच सम्मेलन गर्न पनि सरकार तयार हुनुपर्ने उनीहरुको भनाइ थियो । राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले ०५२ सालमा माओवादीले बुझाएको ४० बुँदे स्वीकार नगर्दा विद्रोह सुरु भन्दै वैद्य माओवादीको १८ बुँदे मागलाई बेवास्ता नगर्न सुझाव दिनुभएको छ ।

यद्यपि अधिकांश दलले मंसिर ४ मै चुनाव गर्नुपर्ने बताएको नेता शर्माले बताउनुभयो । माले महासचिव सीपी मैनालीले भने मंसिर ४ को चुनाव सारेर भए पनि वैद्यलाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो ।

बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैद्य माओवादीलाई पनि सहमतिमा ल्याउन प्रयास भइरहेको जानकारी दिनुभएको छ । अहिले पनि विभिन्न चरणमा छलफल भइरहेको र १८ बुँदेका गोलमेच सम्मेलनसहितका कुन कुन माग सम्बोधन गर्न सकिन्छ भन्नेबारे परामर्श भइरहेको बताउनु भयो । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि बैद्य माओवादीलाई सहमतिमा ल्याउनु प्रयास भइरहेको बताउनु भएको छ ।

तर, एमाले नेता रघुजी पन्तले भने वैद्य माओवादीलाई कुर्न नसक्ने बताउनुभएको छ । मंसिर ४ को चुनाव र सरकारलाई स्वीकार गरे मात्र गोलमेच सम्मेलन गर्न सकिने भन्दै उहाँ कडा रुपमा प्रस्तुत हुनुभएको थियो । नेताहरुका अनुसार सरकार बैद्य माओवादीको माग अनुसार गोलमेच सम्मेलन गर्न सकारात्मक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment