Comments Add Comment

कथा- शून्य

सरु पोखरेल

समयले कोल्टो फेरेको छ, परिवर्तनको लहरले चारैतिर खुसियाली भित्र्याएका छन् । विजयका जुलुससँगै खुशीका पटकाहरू पड्किनै रहेका छन् । तर यी हर्षबढाईका पटकाका आवाजभित्र पनि तर्सनेहरूको एक जमात छ । र, त्यही जमातभित्र छु म । वर्षौदेखि तर्सिन थालेकी म आफन्तदेखि धेरै टाढा आफ्नाहरू सम्झेर पनि बिर्सन बाध्य थिएँ । दुःखैदुःखको भुमरीबाट पार लाग्न नसकेर त्यसै त्यसै जेलिएकी थिएँ र अझै पनि जेलिएकै छु । यद्यपि आज सात वर्षपछि आˆनो जन्मथलोभन्दा पनि प्यारो लाग्ने मामाघरको आँगन टेकेकी छु मैले ।

saru“नमस्ते माइजू !” मेरो आवाज सुन्नेवित्तिकै आँगनको तलपट्टी बारीमा साग टिप्दै गरेकी माइजूले मलाई पुलुक्क हेर्नुभयो ।

“ए भान्जी !” टिप्दै गरेको एक मुठी साग हातैमा लिएर माइजू मतर्फ आउनुभयो । माइजू कति दुब्लाउनु भएछ । अनुहारमा चाउरीका रेखा छपक्कै बढेछन् । असह्य पिडा बोकेका ती मलिना आँखा मेरो अनुहार माथि टोलाइरहेका छन् ।

बितेका केही वर्षअगाडि यहाँ दुःखको भयङ्कर पहाड खसेको छ । मैले थाहा पाएर र चाहेर पनि त्यो दुःखको केही हिस्सा बाँड्न यहाँ आउन सकिनँ ।

कृष्ण मभन्दा ६ महिना सानो भाइ । दिदीभाइभन्दा पनि मिल्ने साथी थियौं हामी । बाल्यकालमा कुनै पनि चाडपर्व मैले मामाघरबाहेक अन्यत्र मनाइनँ । विद्यालय बिदाको पूरा सदुपयोग मामाघरमा नै गर्थेँ । कृष्ण र म यो गाउँका प्रत्येक घरआँगन वरपरका खोल्सा, खोला, वन, जङ्गल, डाँडापाखा कहाँ पुगेनौँ र ! ती विगतका पलहरू अहिले यहाँ आउँदा फेरि ताजा भएका छन् ।

आँगनको बीचमा रहेको चौकीमा म बसेकी छु । कुनै समय गाउँभरिको जमघट हुन्थ्यो यही चौकीमा । रमाइला गफ चल्थे । कृष्ण मामासँग टाँसिएर बसेको हुन्थ्यो । म मामाको काखमा बसेर ठूलाबडाहरूका कुराहरू मस्त सुन्थेँ ।

यो आँगनमा कति खोपी खेल्यौं, कति खोबिल्टा बनायौं । माइजूले धेरैपटक आँगन लिप्दा पुर्न खोज्नुभयो होला । तर मलाई लाग्छ अझै पुरिएका छैनन् ती खोबिल्टाहरु ।

“दिदी ढोग गरेँ ।” अचानक मेरो खुट्टामा टाउको घोप्ट्याउँछिन् एक युवती । सायद कृष्णकी पत्नी होलिन् । फटिकजस्ती गोरी, पातालो जीउडाल, कम्मरसम्म नागबेली परेर लत्रेको कालो केशराशी कुनै शृङ्गारबिना पनि परीजस्ती, तर न आँखामा चमक छ न ओठमा हाँसो ।

“नानीले त चन्द्रालाई देख्नुभएको थिएन है ।” माइजूले चिनाउन खोज्नुभयो ।

“बुहारी हुन् होइन ?”

“हुन् ।” लामो श्वास तानेर बोल्नुभयो माइजू ।

म सोच्छु, श्रृंगारमा सजिने हो भने यिनी कस्ती देखिन्थिन् होला !

“नानीलाई तिर्खा लागेको होला, मोही ल्याइदेऊ न ।”

“हस्” उनी निहुरेको निहुर्‍यै भित्र पसिन् ।

“सानो बाबु कहाँ छ त माइजू ?”

“हिँडेको हिँड्यै गर्छ, पल्लोघरतिर गयो कि म लिएर आउँछु” माइजू उठेर पल्लो घरतर्फ लाग्नुभयो ।

वर्षौंपछि प्यारो मामाघरलाई नियालिरहेकी छु म । दायाँपट्टकिो भागमा गार्‍हो अलिअलि उछिट्टएिको छ, कुपोषणले ग्रस्त बालकको भुँडी निस्केजस्तो गरी । खाँबा र दलिनहरू धमिराले खान थालेछन् । बार्दलीको भित्तामा कताकता हरियो लेउ लागेजस्तो छ । सायद बर्खामा चुहिन्छ पनि होला ।

मूलढोकामाथि लहरै फोटोका प|mेमहरू झुन्ड्याइएका छन् । दुईवटा फोटोमा माला लगाइएको छ । माला लगाइएको एउटा फोटो दस वर्षअगाडि फोक्सोको क्यानसरले बित्नुभएको मेरो मामाको हो । अर्को फोटो तीन वर्षअगाडि हत्या गरिएको मेरो पि्रय भाइ कृष्णको हो ।

“दिदी किन उभिनुभएको बस्नुस् न ।” हातमा मोहीको गिलास लिएर उभिरहेकी चन्द्रा । चन्द्रमा जस्तै उज्याली यी चन्द्राको भविष्यमा अचानक अँध्यारो भित्रिएको छ । कहिल्यै नहट्ने खग्रास ग्रहण लागेको छ । मोहीको गिलास लिएर म पिँढीकै खाटमा बस्छु ।

आँगनको छेउसँगै जोडिएको बारीमा सुन्तलाका बोटहरू लहरै छन् । भरखर फूल खेल्दै गरेका यी सबैजसो बोटका फल चाखेकी छु मैले । आफू रुख चढ्न नसक्ने भएकोले कृष्णले रुख चढेर भुईमा फालेका सुन्तला पछ्यौरा फिँजाएर थाप्नु मेरो भागमा हुन्थ्यो । पछ्यौराबाट उछिट्टएिर झाडीतिर गएका सुन्तला खोज्दा कति रमाइलो हुन्थ्यो । यी बोटमा फलेका सुन्तला चाख मानेर टिप्ने र खाने मान्छे पनि अहिले खासै छैनन्जस्तो लाग्छ ।

“दिदी खै त ?” बच्चाले आँगनबाट पुलुक्क हेर्दै सोध्यो ।

“ऊ क्या त दिदी ।” मलाई देखाउदै माइजू बोल्नु भयो ।

माइजूले उसलाई लिएर आउनुभएछ । खुइलिएको भोटो र सुरुवाल लगाएको थुम्मुरे बालक मेरो अगाडि छ । चप्पलबिनाका उसका ती साना खुट्टाका औंलाका काप र नङमा माटो कटकिटएको छ । गोरो अनुहारमा लट्टेकपाल निधारसम्म झरेको छ । निमेषभरका लागि मेरा आँखाले उसलाई पि्रय भाइ कृष्ण नै देखे ।

“बाबु मसँग आऊ त, मैले तिमीलाई चकलेट, विस्कुट केके ल्याइदिएकी छु ।” बोलाउनेबित्तिकै चिनेजस्तै गरी ऊ मेरो काखमा लुसुक्क आयो । उसलाई ल्याइदिएका सबैथोक उसको हातमा राखिदिएँ ।

“कति धेरै चकलेट, यो बल पनि मलाई हो ?” तोतेबोली बोल्दै ऊ फुरुङ्ग पर्‍यो ।

“हो ।”

ऊ कुनै चिज खसिहाल्छ कि जस्तो गरेर दुई हातले सकिनसकि च्याप्दै हिँड्छ । रोक्दारोक्दै पनि मेरा आँखा रसाउन थाल्छन् । मुटुभित्र असह्यैय पिडा हुन्छ । बाबुको हत्या हुँदा ऊ आमाको गर्भमा थियो । कृष्णले कति सपना साँचेको थियो होला बच्चाको बारेमा । तर उसले छोराको मुखसमेत देख्न पाएन ।

चन्द्रा पानी लिन पँधेरातर्फ लागेकी छन् । माइजू भान्छामा खाजा बनाउँदै हुनुहुन्छ । मसँग सानो बच्चो पिँढीको खाटमा बसेर खेलिराखेको छ । यसरी नै कुनै समय कृष्ण र म गट्टा खेल्थ्यौं यहाँ ।

कृष्णको हत्या किन गरियो होला, एउटा सोझो र इमानदार शिक्षक हुनु उसको दोष थियो, सुराकी गर्‍यो भने पनि उसले कसको गर्‍यो ? राज्य पक्षको या विद्रोहीको ? ऊ न त राज्यसँग नजिक थियो न त विद्रोहीसँग ? उसले कहिल्यै कसैको चित्त दुखाएको, कसैमाथि छलकपट गरेको मैले पत्तो पाइनँ । उसको हत्याको जिम्मेवारी लिने पनि कोही भएन । न त ऊ सहिद भयो, न त उसको हत्यारालाई कारवाही भयो । मात्र यी परिवार टुहुरा भए ।

म आˆनै समस्याले जकडिएकी मान्छे । यिनै समस्याको जञ्जालले गर्दा यतिका वर्षसम्म्म मामाघर फर्किन सकिनँ । कृष्णको हत्यापछि यी कलिली बुहारी र बुढी माइजूको दुःखमा पनि साथ दिन सकिनँ । तर यो परिवार मेरो समस्यासँग परिचित छ । मैले आˆनै बेपत्ता पारिएका श्रीमान्को खोजबखर गर्न सकेकी छैन ।

“नानी खाजा खानूस् ।” थालको रोटी र अचार मेरो अगाडि राखेर माइजू मसँगै खाटमा बस्नुभयो । मैले रोटी र अचार कुनै स्वादविना सकाएँ । न त माइजूले नै स्वाद सोध्नुभयो ।

“अझै कुनै पत्तो पाइएको छैन है नानी ।”

“छैन माइजू अब त पाउने आश पनि मरिसक्यो ।”

“माइजू यहाँ यस्तो घटना घट्यो म आउन पनि सकिनँ । मैले दुःख व्यक्त गरेँ ।

“तपाईंकी आमाले बेलाबेलामा आउँदा सबै कुरा बताउनुभएको छ । नानी तपाईंको समस्या पनि सानो छ र ?” माइजूको नाक रातो भएको छ । गला अवरुद्ध बन्दै गएको छ । आँखाबाट रोक्न खोज्दाखोज्दै आँसुका धारा छुटिरहेका छन् ।

तगारोबाट भरी गाग्री बोकेकी चन्द्रा आँगनतर्फ आउँदैछिन् । पहिलोपटक यस घरमा प्रवेश गर्दा यसरी नै कैयौं मीठा सपनाको भारी बोकेर आएकी थिइन होला । माइजू हतारहतार फरियाको सप्कोले आँसु पुछेर केही नभएजस्तो गर्नुहुन्छ । खाटको छेउमा फुच्चे मस्तसँग निदाइरहेको छ । चन्द्रा गाग्री बिसाएर पिँढीको छेउमा टोलाएर बसेकी छन् ।

झमक्क साँझ परेको छ । वरपरबाट झयाउँकुरीको आवाज अनी तल जँगलबाट एकाहोरो कोइलीको कुहुकुहु सुनिइरहेको छ । घरभरी हामी चारजना छौ तर आवाजविहीन । माइजूले खाना पस्किनुभयो । भोक नभए पनि खायौ सबैले पेट भर्न । अझ भनौं बाँच्न ।

बच्चो माइजूले सुताउनु हुँदोरहेछ ।

एउटै कोठामा पल्टेकाछौ चन्द्रा र म । निद्रा दुवैको आँखामा छैन ।

“कृष्णलाई उनीहरुले लैजादा घरमा कोही थिएनन् चन्द्रा ?”

“म नै थिएँ नी दिदी ।”

“तिमीले चिनिनौ त उसलाई लग्ने मान्छेहरुलाई ?”

“मैले त चिनेका कोही थिएनन् तर उहाँले एकजनालाई नमस्कार भने गर्नुभएको थियो तर मैले को भन्न नपाउदै उहाँलाई हिंडाइहाले ।”

टुकीको उज्यालोले सायद देखाउन खोजेको थियो हाम्रो आँखाको आँशु तर झोकमा झुण्डाएका कपडाको छाँयाले तिनलाई छोपिदियो ।

“मैले त भिनाजुलाई एकपटक देख्न पनि पाइा ।” उनले भित्तामा आडेस लाग्दै भिजेको स्वरमा बोलिन् ।

“भिनाजु यी हेर ।” आडैको झोलाको कुनामा लुकाएको उनको फोटो झिकेर मैले चन्द्रालाइ दिएँ ।

चन्द्राले एकाहोरो हेरिरहिन् हर्दाहेर्दै उनका आँखा बर्षे । हिक्कहिक्क गर्न थालिन् उनको हातबाट फोटो फत्रक्क भुँइमा खस्यो ।

“के भयो चन्द्रा ? किन रोएकी तिमी ?” उनी केही नबोली भित्तातिर फर्केर सुतिन् तर उनको सुँक्कसुक्कले धेरैबेर रातको शुन्यतालाइ भने चिरेको थियो ।

मुटुको घाउ कोतरियो होला उनको । तर आफैसँग आलो घाउ भएकी मैले के सम्झाउन सक्थें र ? चुपचाप आँशु मात्र बगाइरहें आँखाबाट ।

बिहान म उठ्दा उनको ओच्छ्यान रित्तो थियो । बाहिर निस्केँ म । माइजू भैंसीलाइ कुडो पानी गर्दैहुनुहुन्थ्यो ।

“चन्द्रा कता गइन् त माइजू ?”

“खोइ बडारकुडार गर्न थालिन् कि ?”

गोठबाट घरतिर चिहाएर हेरें । देखिइनन् उनी ।

मैले नुहाएर आउँदा माइजूले भैसी दुहिसक्नुभएको थियो ।

चन्द्रा चिया लिएर आइन् । उनको अनुहार अझै अंध्यारो थियो । मसंग नबोलिकन मेरो छेउमा चियाको गिलास राखेर उनी भित्र पसिन् ।

“आमा, म घाँस काट्न जान्छु है ।” रित्तो डोको बोकेर उनी बारीतिर हिँड्न लागिन् ।

“म पनि जान्छु चन्द्रा, चिया सकिनै आट्यो ।”

चन्द्राले म बोलेको सुनिनन् वा सुनेर पनि नसुनेझै गरिन् तर एकपटक पनि पछाडी नफर्की डोको बोकेर हिंडिन् ।

हिजो राती कृष्णको बारेमा कुरा गरेदेखि नै उनीसँग बोल्न पाएकी छैन । उनी साह्रै दुःखी भएकी छिन् । कहिल्यै निको नहुने गहिरो घाउ कोट्याएर ठूलो गल्ती गरें मैले ।

पारीपट्टी आमाकी ठूली आमाको घर छ । असी वर्षकी बुढी हजुरआमा हुनुहुन्छ । यसपटक नभेटे उहाँलाई फेरि भेट्न पाइएला नपाइएला । माइजूतिर फर्केर भन्छु, “म पारी हजुरआमालाई भेट्न जान्छु है ।”

“हुन्छ नानी जानु । तर भात त मैले यतै पकाइसकेँ ।”

“खान त म यहीँ आइहाल्छु ।”

धेरैपछि भेटेको हुँदा हजुरआमासँग लामै समय कुराकानी भयो । तर भात खान भने म मामाघर नै आएँ ।

“नानी, भोक लागेन यत्रोबेरसम्म ?” माइजु आँगनको डिलमा बसिरहनु भएको थियो मैलाई पर्खेर ।

भान्छामा आयौँ दुवै । माइजुले भात पस्किन थाल्नु भयो ।

“चन्द्रा खै त माइजू ?”

“साह्रै न्यास्रो लाग्यो भनेर छोरो लिएर माइत हिँडिन् ।”

“लौ ! हिजोसम्म त माइत जाने कुरै गरेकी थिइनन् ?”

“एक्कासी बाबुआमा देख्न आत्तिएँ भनिन्, मैले पनि जाऊ न त भनिदिएँ ।”

चन्द्रा, त्यसमाथि बाबु नभएपछि घर नै शुन्य भएको थियो ।

म खाना खाइवरी चन्द्राको कोठामा आराम गर्न पसें ।

खाटमाथि मेरा श्रीमानको फोटो थियो । हिजो चन्द्राले हेरेपछि मैले राख्न नै बिर्सेकी रहिछु । यो कोठामा म एक्लै छु तर फोटो हेरिरहँदा उनी अगाडि छन् जस्तो लाग्छ । बिहे भएपछि पनि हामी कति समय नै सँगै बस्न पायौं र ! तर छोटो समय, जति बस्यौं सँगै । त्यही यादलाई जीवन कटाउने सहारा बनाउन बाध्य छु म ।

उनको फोटोसँग एक्लै बस्दा मेरा आँखा कहिल्यै ओभाना हुँदैनन् । उनको फोटो थन्क्याउदै गर्दा फोटो पछाडि नीला अक्षरहरू देखिए । लेखिएको थियो,

“मेरो श्रीमानको हत्यारा यही हो । यसैले लगेको हो उहाँलाई ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment