Comments Add Comment

पार्टीले भन्छ भने चुनाव लड्दिँन : गगन थापा

माधव धिताल 

२७ भदौ, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले यदि पार्टीले नलड् भन्छ भने आफूले चुनाव नलड्ने बताउनुभएको छ । आगामी संविधानसभामा आफ्नो नाम काठमाडौं क्षेत्र नं ४ बाट सिफारिस भएपछि आन्तरिक विवादमा तानिनुभएका ग्थापाले विहीबार अनलाइनखबरसँग भन्नुभयो- ‘उम्मेदवार सिफारिस कसलाई गर्ने भन्ने अधिकार गगन थापाको होइन, क्षेत्रीय समितिको हो । पार्टीले जसलाई उपयुक्त ठान्छ, त्यसलाई छान्छ ।’gagan-thapa-and-suparva-ghi

चुलियो विवाद

नेपाली कांग्रेसभित्र काठमाडौं क्षेत्र नं ४ बाट गगन थापाको नाम सिफारिस भएपछि चुलिएको आन्तरिक विवाद उजुर-बाजुरको तहसम्म पुगेको छ । केन्द्रीय कार्यसमितिको निर्देशन विपरीत युवा नेता गगन थापाको नाम एकलौटी रुपमा प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरिएको भन्दै असन्तुष्ट सुप्रभा घिमिरे पक्षधरले पार्टीका विभिन्न निकायमा उजुरी दिएपछि विवाद चुलिएको हो ।

काठमाडौं ४ नम्बर क्षेत्रीय कार्यसमितिले गगन थापालाई प्रत्यक्ष उम्मेदवार बनाउन र अन्य तीनजना सुप्रभा घिमिरे, चिरञ्जीवीनिधि तिवारी र न्हुच्छेनारायण श्रेष्ठलाई पनि वैकल्पिक उम्मेदवारका रुपमा जिल्लामा सिफारिस गरेको छ । उम्मेदवार चयनका विषयमा राय लिन बोलाइएको क्षेत्रीय भेलामा नै काठमाण्डौ क्षेत्र नम्बर ४ वाट प्रत्यक्ष उम्मेदवारमा उठ्ने इच्छा जाहेर गर्नुहुने पूर्वसभासद सुप्रभा घिमिरे आफूलाई वैकल्पिक उम्मेदवारमा सिफारिस गरिएपछि रुष्ट हुनुभएको छ ।

क्षेत्रीय कार्यसमितिले घिमिरेलाई वैकल्पिकमा सिफारिस गरेर गगनलाई पहिलो नम्बरमा गरिएको सिफारिस रोक्न काँग्रेस काठमाण्डौ जिल्ला कार्यालय, केन्द्रीय समिति र पार्टी पदाधिकारीहरुलाई असन्तुष्ट पक्षले पत्राचार गरेको छ । पार्टीले प्रत्यक्षतर्फ एकजना महिलालाई सिफारिस गर्न सबै क्षेत्रीय समितिलाई निर्देशन दिएको भए पनि क्षेत्र नम्बर ४ काठमाण्डौवाट थापालाई मात्रै प्रत्यक्ष उम्मेदवार बनाएर आफूहरुलाई बैकल्पिकमा सिफारिस गरिएको घिमिरेको गुनासो छ । घिमिरेले भन्नुभयो, ‘क्षेत्रीय भेलामा मैले भनेकी थिएँ, मैले ४ नम्बरबाटै प्रत्यक्षमा चुनाव लड्न चाहेकी छु । तर, क्षेत्रीय कार्यसमितिले षडयन्त्रमूलक हिसावले मलाई बैकल्पिकमा राख्यो ।’

तर, थापाले भने उम्मेदवार छनौटको विषयमा निर्णय गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई भएकाले क्षेत्रीय कार्यसमितिले गरेको निर्णय स्वीकार गर्नुपर्ने बताउनुभयो । ‘प्रत्यक्ष र समानुपातिक उम्मेद्वार सिफारिस मैले गर्ने होइन, ८ वटै इकाइको सिफारिसका आधारमा क्षेत्रीय समितिले गर्ने हो । थापाले अनलाइनखबरसंग भन्नुभयो,-‘क्षेत्रीय समितिले जसलाई उम्मेदवार सिफारिस गर्छ, त्यो सबैले मान्नुपर्छ ।’

यसअघि ०६४ को चुनावमा पनि थापा सोही क्षेत्रवाटै १ नम्बरमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस हुनुभएको थियो । तर, पार्टीले थापालाई प्रत्यक्षतर्फको उम्मेदवार नबनाएर घिमिरेलाई टिकट दिएको थियो । पछि थापा समानुपातिकवाट सभासद हुनुभएको थियो । उम्मेदवार सिफारिस क्षेत्रिय समिति हुँदै जिल्ला समितिवाट केन्द्रीय कार्यालयमा पुगेपछि पदाधिकारीसहित १५ जनाको संसदीय बोर्डले कसलाई टिकट दिने भन्नेवारेमा निर्णय लिने काँग्रेसको विधानमा उल्लेख छ ।

यसअघिको निर्वाचनमा पनि आफू काठमाडौं क्षेत्र नम्बर ४ को प्रत्यक्षतर्फको एक नम्बरको सूचीमा सिफारिसमा परेको थापाको गुनासो छ ।०६४ को चुनावको स्मरण गर्दै थापा भन्नुहुन्छ- ‘क्षेत्रीय समितिको सिफारिस अन्तिम होइन, पार्टीले जसलाई उपयुक्त मान्छ त्यसैलाई टिकट दिन्छ । अघिल्लोपटक मेरो नाम सफारिस हुँदाहुँदै मलाई पार्टीले प्रत्यक्षमा उठाएन, सुप्रभा जीलाई टिकट दियो ।’ युवा नेता थापाले पार्टीले गर्ने निर्णय अन्तिम हुने बताउँदै भन्नुभयो- ‘मलाई जुन जिम्मेवारी दिए पनि म तयार छु ।’

प्रत्यक्षतर्फ एक्लो उम्मेदवार बनाउन आफूले धम्की दिएको भन्ने हल्ला हावादारी भएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो,-‘मैले धम्की दिँदैमा क्षेत्रले मलाई सिफारिस गर्ने होइन । क्षेत्रीय समितिले जे निर्णय गर्छ, त्यो उसको अधिकारको कुरा हो । त्यो क्षेत्रिय समितिले गरेको निर्णय हो, गगन थापाले गरेको निर्णय होइन ।’थापाले पार्टी केन्द्र र क्षेत्रीय समितिले गर्ने निर्णय आफूले मान्ने बताउनुभयो । थापाले उम्मेदवार सिफारिसवारे उत्पन्न विवादको जिम्मेवारी क्षेत्रीय समितिले नै लिनुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवार सिफारिस कसलाई गर्ने भन्ने अधिकार गगन थापाको होइन, क्षेत्रीय समितिको हो । पार्टीले जसलाई उपयुक्त ठान्छ त्यसलाई छान्छ ।’

थापाले पार्टीले आफूलाई चुनाव नलड्न निर्देशन दिए आफूले सहर्ष स्वीकार्ने र जहाँ लड्न पठाए पनि चुनाव लड्न तयार रहेको बताउनुभयो । थापाले क्षेत्रीय समितिको सिफारिसमा त्रुटी वा गल्ती कमजोरी भएको भए त्यो भन्दा माथिल्लो निकायले आवश्यक कदम चाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्रीय समितिको सिफारिस ठीक हो कि होइन भन्ने विषय माथिल्लो निकायले हेर्ला । उम्मेदवार सिफारिस व्यक्तिगत विषय होइन । यसमै विवाद गरे यसले पार्टीलाई नै कमजोर बनाउँछ । ‘

कसरी गर्छ क्षेत्रले उम्मेदवार सिफारिस ?

काँग्रेसको क्षेत्रीय भेलामा ९० जना सदस्य रहने व्यवस्था छ भने क्षेत्रीय कार्यसमितिमा २१ जना सदस्य हुन्छन् । क्षेत्रीय भेलाबाट आएको सुझावलाई मनन गर्दै क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिस गर्ने गर्दछ । सोहीअनुसार काठमाण्डौ क्षेत्र नम्बर ४ को भेलाले दिएको सुझावका आधारमा क्षेत्रीय कार्य समितिको बैठकले प्रत्यक्षतर्फ गगन थापाको नाम पहिलो नम्बरमा सिफारिस गरेर अरुलाई बैकल्पिकमा जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नं ४ को हकमा क्षेत्रीय भेलाका ८० भन्दा बढी सदस्यले गगन थापालाई मात्रै प्रत्यक्ष उम्मेदवारमा सिफारिस गर्न सुझाएको थियो ।

उम्मेदवारमा विवाद भए निर्वाचनको व्यवस्था

क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको सिफारिसका लागि चयन गर्दा विवाद भए निर्वाचनको माध्यमबाट उमेद्वार छान्ने व्यवस्था पनि काँग्रेसको विधानमा छ । केही जिल्लाका क्षेत्रीय समितिमा यस्ता चुनावहरु भएका उदाहरण पनि छन् । उम्मेदवार छनौट गर्ने अधिकार क्षेत्रीय कार्यसमितिको हो । कार्यसमितिमा रहेका २१ जनाले मात्रै उम्मेदवार कसलाई गर्ने भन्ने मत हाल्न सक्छन् ।

काठमाण्डौ क्षेत्र नम्बर ४ मा रहेका आठवटा इकाई समितिको सिफारिस अनुसार नै क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवार चयन गर्छ । क्षेत्रीय कार्यसमितिमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि पदेन सदस्य भए पनि मत प्रक्रियामा भने भाग लिन पाउँदैनन् ।

एमाओवादी र एमालेमा खुशियाली

काठमाडौं क्षेत्र नं ४ मा नृपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किएपछि उसका प्रतिद्वन्दी एमाओवादी र एमालेभित्र खुशीयाली देखिएको छ । काठमाडौं ४ बाट एमालेले विद्या भण्डारी र एमाओवादीले नन्दकिशोर पुन पासाङलाई उमेद्वार बनाउने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment